६ महिनामा ३२ हजार पर्यटकले घुमे मुस्ताङ
मुस्ताङ : आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य हिमालपारीको मुस्ताङमा वर्सेनी करिब ६० हजार विदेशी पर्यटक भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ। सन् २०१६ देखि यता सोही अनुपातमा विदेशी पर्यटक मुस्ताङ भित्रिएको कार्यालयको आँकणा छ।
एक्याप जोमसोमका अनुसार सन् २०१९ सम्म हालको ६ महिने तथ्याङ्क हेर्दा मुस्ताङ भ्रमण गर्ने विदेशी ३० प्रतिशत छन्। यसमा भारतीय पर्यटकको संख्या समावेश छैन। मुस्ताङ घुम्नेमध्ये ७० प्रतिशत भारतीय छन्।
एक्यापका कार्यालय प्रमुख तुलसी दाहालका अनुसार सन् २०१९ को जनवरी देखि जुनसम्मको कुल ३२ हजार १९९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। जसमध्ये ९ हजार १६९ विदेशी (भारत बाहेकका) छन् भने २३ हजार ३० जना भारतीय छन्।
सन् २०१८ मा ५९ हजार ८ सय ३८ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए। जसमध्ये ३३ हजार १५९ भारतीय र सार्कका अन्य मुलुकका ७३ जना छन्। सन् २०१७ मा ५२ हजार ४७५ मुस्ताङ आएकोमा २४ हजार ८८८ भारतीय पर्यटक छन्।
पर्यटन सहायक शिव पुर्जाका अनुसार मुस्ताङ घुम्ने सार्क पर्यटकको तथ्याङ्क हेर्दा भारतीय बाहेक अन्य सार्क मुलुकका पर्यटक अत्यन्तै न्यून छन्।
उपल्लो मुस्ताङलाई राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत निषेधित तथा नियन्त्रित क्षेत्र घोषणा गरिएको छ। कागबेनीदेखि तल्लोक्षेत्र संरक्षित क्षेत्र अन्तर्गत पर्दछ।
सरकारले उपल्लो मुस्ताङको नियन्त्रित क्षेत्र जान सार्क तथा तेश्रो मुलुकका विदेशी पर्यटकलाई ५०० अमेरिकी डलर प्रवेश शुल्क तोकेको छ। संरक्षित क्षेत्र तल्लो मुस्ताङका लागि भने विदेशी र सार्क राष्ट्रका पर्यटकलाई अगलअलग शुल्क तोकिएको छ।
वर्सेनी ६० हजार विदेशी पर्यटक मुस्ताङ आउँदा जम्मा १० प्रतिशतमात्र उपल्लो मुस्ताङ पुग्ने गरेको तथ्यांकबाट देखिन्छ।
२०७२ सालको भूकम्पछि सन् २०१५ मा २ हजार ६८६ जना, २०१६ मा ३ हजार १६ जना, २०१७ मा ४ हजार ११५ जना र सन् २०१८ मा ३ हजार ९१५ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका थिए।