पूर्जा नेपाली, जमिन भारतमा

पूर्जा नेपाली, जमिन भारतमा

भद्रपुर : हातमा नेपाली नागरिकता र जग्गा धनीपूर्जा रहेका करिब ६ दर्जनभन्दा बढी स्थानीय नेपालीको जमिन भने भारतीय नक्शामा परेको छ। बिजुलीलगायत आधारभूत सेवा पनि नेपालबाटै उपभोग गरिरहेका छन्। झापाको भद्रपुर नगरपालिकाअन्र्तगत पर्ने मेचीपारीको डुलु गाउँका २५ घर, कचनकवल गाउँपालिकाको पाठामारी क्षेत्रका २० र मेचीनगरस्थित भान्सा खोलाका ११ घर परिवारको एउटै माग छ, ‘कि हामीलाई भारततिर पठाउ कि नेपालकै जमिनमा लगेर राख।’

पहिले आफ्नो जमिन भनेर बसोबास खनजोत गरे। अहिले भारतीय भूमिमा परेकोमा उनीहरू आफै अचम्मित छन्। सुरुमा उनीहरुले भोगचलन गरेको जमिन नेपालमै थियो। २०४३ सालतिर सीमामा पिलर गाडेपछि भारततिर परेको जग्गाधनि बताउँछन्।

भान्सा खोलाका धनप्रसाद उप्रेती भन्छन्, ‘सुरुमा यो जग्गा नेपाली भू–भागमै पथ्र्याे, नेपालीले नै भोग चलन गरेका थिए। २०४३ सालतिर पिलर गाडियो। २०५२ सालमा आइपुग्दा पुरै भूमि भारततर्फ परेको थाहा पाएँ।’ जग्गा छुट्याउने क्रममा नेपाली नागरिक बसोबास गरिरहेको भूमि भारततर्फ र भारतीय बसोबास गरिराखेको स्थान नेपालतर्फ परेको थियो। त्यसपछि भारतीय पक्षले आफ्नो जमिनको सुरक्षाका लागि पिलर गाडेको उप्रेतीको भनाइ छ।

भारतीय पक्षले हप्तैपच्छिे आफ्नो साँध सीमा आएर हेर्ने गरेको छ। तर, नेपाली पक्षले अहिलेसम्म त्यहाँ बसोबास गर्नेका बारेमा कुनै चासो र सोधखोजसमेत नगरेको स्थानीयको भनाइ छ।

घरछेउमै नेपाल–भारत छुट्टयाउने पिलर गाडिएको छ। त्यही पिलर हो उनीहरूलाई भारतीय बनाउने। आफूसँग नेपालको नागरिकता धनिपूर्जा भए पनि भारतीय भूमिमा नेपाली नागरिक भएर बस्नु परेकोमा दुःख लागेको भद्रपुर नगरपालिका–३ मेचीपारीको गाउँमा बस्दै आएका सब्रिम टुडु भन्छन्।

‘नेपालको नागरिकता साथमा छ, बसोबास भारतको माटोमा छ’ टुडुले भने, ‘यसमा नेपाल सरकारले पहल गरी हामी कता पर्छौं निर्णय गरिदिए हुन्थ्यो।’ कचनकवल गाउँपालिकाअन्र्तगत पर्ने पाठामारीकी ५८ वर्षीया इन्द्रवती चौधरीको पनि पीडा उस्तै छ। सुरुमा सबै जग्गा जमिन नेपालमै थियो। आफ्ना सबै सन्तान नेपाली नागरिक थिए। अहिले उनलाई पनि घर नजिकै बनेको नयाँ पिलरले भारतीय बनाएको छ।

चार जनाको परिवार अहिले भारतीय भूमिमा बस्न बाध्य छ। उनले भनिन्, ‘हामीलाई धेरै कुरा त थाहा छैन् पढेलेखेका छैनौं, तर यो जग्गा नेपालतर्फ नै थियो। सबै प्रमाणपुूर्जा बाबु बाजेका नाममा थियो। खरिद बिक्री गर्नुपर्‍यो भने चन्द्रगढी मालपोत कार्यालय नै जानुपथ्र्यो।’

नेपाल र भारततर्फका सुरक्षाकर्मी बेला–बेला आउने गर्छन्। त्यो देख्दा सीमामा भूमि साटिएर बस्ने सबैलाई उठाउन आएका हुन् कि भन्ने शंका पैदा हुने गरेको स्थानीय बताउँछन्। ‘भारतीय प्रहरी आउँदा पनि डरै लाग्छ घर भत्काउन आए कि भनेर नेपाली आउँदा पनि डरै लाग्छ’ उनी भन्छिन्।

‘अन्तर्राष्ट्रिय सीमाना कस्तो छ ? भनेर नबुझी झापाका पाठामारी, मेचीपारी र भान्सा खोलाबासीलाई केका आधारमा नागरिकता दिइयो ? ’ सीमाविद् चिन्तामणी दाहाल भन्छन् ‘सुगौली सन्धिमा दुवै देशबीच जुन सम्झौता भएको थियो, त्यति बेला नेपाली सर्भे इञ्जिनियर थिएनन्। सबै भारतीय थिए।’

मेचीदेखि महाकालीसम्मको नेपाल–भारत सिमानामा खोला जता बग्यो त्यतै सीमाना बनाउँने हुँदा त्यो समयमा भान्साखोला, मेची पारी गाउँको केही बस्ती, कचनकवलको पाठामारी को बस्ती, झापा गाउँपालिकाका केही बस्ती बसेको ठाउँमा खोला थियो। यो भनेको ब्रिटिसको पालामा नक्सांकन भएको हो।

पछिल्लो समय दुबै देशको प्राविधिक टोलीले तयार गरेको डिजिटल नक्शाले मापन गर्ने क्रममा सीमा क्षेत्रका जनतालाई यो समस्या आएको हो। केहि समयमा दुवै देशको बैठकबाट सीमामा दुविधामा परेका जनताको समस्यालाई सुल्झाइने गरी निर्णय हुने झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.