बढ्यो भिसा शुल्क

बढ्यो भिसा शुल्क

काठमाडौं   : सरकारले झन्डै १० वर्षपछि प्रवेशाज्ञा (भिसा) शुल्क बढाएको छ । बढेको शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ । मन्त्रिपरिषद्ले पर्यटक, अध्ययन, गैरपर्यटकीय, व्यावसायिक र आवासीय भिसा दस्तुर बढाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार गृह मन्त्रालयले परिवर्तित भिसा शुल्क लागू गर्न लागेको हो । अध्यागमन विभागले नयाँ भिसा शुल्क कार्यान्वयन गर्ने तयारी गरेको छ ।

गृहले पछिल्लोपटक २०६५ साउन १ गतेदेखि नयाँ भिसा शुल्क कार्यान्वयनमा ल्याएको थियो । झन्डै १० वर्षपछि नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले भिसा शुल्क बढाउने निर्णय गरेको हो ।

विभागका महानिर्देशक ईश्वरराज पौडेलले परिवर्तित भिसा शुल्क साउन १ देखि कार्यान्वयनमा आउने बताए । महानिर्देशक पौडेलले अन्नपूर्णसँग भने, ‘भिसा शुल्क समयसापेक्ष पारिएको छ । अन्तर्राष्ट्रिय अभ्यासको समेत अध्ययन गरेर भिसा शुल्क बढाउने निर्णयमा पुगेका हौं ।’

गृह मन्त्रालयले पर्यटकीय भिसाअन्तर्गत १५ दिनको बहुप्रवेशी भिसा दस्तुर ३० डलर पुर्‍याएको छ । यसअघि १५ दिनको बहुप्रवेशी भिसा शुल्क २५ डलर तिर्नुपथ्र्यो । त्यस्तै ३० दिनको बहुप्रवेशी भिसा शुल्कमा १० डलर बढाएर ५० अमेरिकी डलर पुर्‍याएको छ । पर्यटकले यसअघि ३० दिनको बहुप्रवेशी भिसाको ४० डलर तिर्दै आएका थिए । गृह मन्त्रालयले ९० दिनको बहुप्रवेशी भिसा शुल्क ९० बाट बढाएर १ सय २५ डलर पुर्‍याएको छ ।

गृहले ९० दिनको बहुप्रवेशी भिसामा ३५ अमेरिकी डलर बढाएको छ । यसअघि ९० डलर तिर्दा ९० दिनको बहुप्रवेशी भिसा पाइन्थ्यो । पर्यटक भिसाको म्याद थप गर्दा भिसा अवधिभित्र प्रतिदिन ३ अमेरिकी डलर तिर्नुपर्नेछ । म्याद गुज्रिएपछि भिसा थप गर्दा बेग्लै जरिबाना तिर्नुपर्छ । पर्यटकले बहुप्रवेशी भिसा थप्दा अब २५ अमेरिकी डलर तिर्नुपर्नेछ । यसअघि सोही प्रयोजनमा २० डलर मात्र तिर्नुपथ्र्यो ।

शैक्षिक उपाधि प्राप्त हुने गरी अध्ययनरत विद्यार्थी र आश्रित परिवारले प्रतिमहिना ३० डलर तिर्नुपर्नेछ । यसअघि उनीहरूले २० डलर तिर्नुपथ्र्यो । शैक्षिक उपाधि नपाउनेका लागि २५ अमेरिकी डलरबाट बढाएर प्रतिमहिना ७५ डलर पुर्‍याएको छ ।

यसअघि उनीहरूले ५० डलर तिर्दै आएका थिए । तर भुटानका विद्यार्थीका लागि भने उक्त शुल्क लागू हुँदैन । भुटानी विद्यार्थी र उनीहरूका आश्रित परिवारका लागि ५ डलर बढाएर प्रतिमहिना १५ डलर पुर्‍याएको छ । अध्ययनअनुसन्धान गर्न आउने अन्य विदेशी र आश्रित परिवारका लागि १० डलर भिसा शुल्क बढाएर ५० डलर पुर्‍याइएको छ । उनीहरूले यसअघि प्रतिमहिना ४० डलर तिर्दै आएका थिए ।

भिसा शुल्क समयसापेक्ष पारिएको छ । अन्तर्राष्ट्रिय अभ्याससमेत अध्ययन गरेर शुल्क बढाउने निर्णयमा पुगेका हौं ।– ईश्वरराज पौडेल, महानिर्देशक, अध्यागमन विभाग

गैरपर्यटकीय भिसाअन्तर्गत पत्रकार र आश्रित परिवारको भिसा शुल्क ५ डलर बढाएर १५ डलर पुर्‍याइएको छ । यसअघि उनीहरूले प्रतिमहिना १० डलर तिर्नुपथ्र्यो । दातृराष्ट्रको लगानीमा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत विदेशी र आश्रित परिवारले प्रतिमहिना ५० डलर तिर्नुपर्ने भएको छ । यसअघि उनीहरूले प्रतिमहिना ३० डलर तिर्दै आएका थिए । गृह मन्त्रालयले उनीहरूको भिसा शुल्कमा २० अमेरिकी डलर बढाएको हो । व्यावसायिक भिसाअन्तर्गत एक करोड रुपयाँभन्दा वढी व्यक्तिगत लगानी गर्ने विदेशी र आश्रित परिवार वा संस्थाका अधिकृत प्रतिनिधिले वार्षिक बहुप्रवेशी भिसाका लागि दुई सय अमेरिकी डलर भिसा शुल्क तिर्नुपर्ने भएको छ । उनीहरूले यसअघि वार्षिक एक सय अमेरिकी डलर तिर्दै आएका थिए ।

एक करोड रुपैयाँभन्दा बढी व्यक्तिगत लगानी गर्ने विदेशी र आश्रित परिवार वा संस्थाका अधिकृत प्रतिनिधिलाई एक वर्षभन्दा कम अवधिको बहुप्रवेशी भिसाबापत २० डलर तिर्नुपर्नेछ । गृह मन्त्रालयले उनीहरूका लागि १० डलर बढाएको हो । यसअघि उनीहरूले १० डलर तिर्दै आएका थिए ।

एक करोडभन्दा कम लगानी गर्ने र एक वर्षभन्दा कम अवधिको बहुप्रवेशी भिसाका लागि ३५ डलर तिर्नुपर्नेछ । गृह मन्त्रालयले उनीहरूका लागि ५ डलर बढाएर ३५ डलर पुर्‍याएको हो । एक करोड रुपैयाँभन्दा बढी व्यक्तिगत लगानी गर्ने विदेशी र आश्रित परिवार वा संस्थाका अधिकृत प्रतिनिधिले ५ वर्षको बहुप्रवेशी भिसा शुल्कबापत ५ सय अमेरिकी डलर तिर्नुपर्ने भएको छ । यसअघि उनीहरुले २०० अमेरिकी डलर तिर्दै आएका थिए । गृह मन्त्रालयले उनीहरूका लागि एकैपटक २ सय अमेरिकी डलर बढाएको हो ।

एक करोड रुपैयाँ र सोभन्दा कम व्यक्तिगत लगानी गर्ने विदेशी वा तिनका आश्रित परिवार वा संस्थाका अधिकृत प्रतिनिधिले वार्षिक रूपमा बहुप्रवेशी भिसाबापत चार सय अमेरिकी डलर तिर्नुपर्ने भएको छ । उनीहरूका लागि सरकारले एक सय डलर बढाएको हो । यसअघि उनीहरूले तीन सय अमेरिकी डलर तिर्दै आएका थिए । आवासीय भिसाअन्तर्गत बहुप्रवेशी भिसा सुविधासहित पहिलोपटक पाँच सय अमेरिकी डलर तिर्नुपर्ने भएको छ । गृहले उनीहरूका लागि तीन सय अमेरिकी डलर बढाएको छ । यसअघि उनीहरूले २ सय अमेरिकी डलर तिर्दै आएका थिए ।

आवासीय भिसा नवीकरण गर्दा बहुप्रवेशी सुविधासहितको भिसा शुल्कसमेत बढेको छ । नवीकरण गर्दा अब वार्षिक रूपमा दुई सय अमेरिकी डलर तिर्नुपर्ने भएको छ । यसअघि उनीहरूले एक सय डलर तिर्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.