९ करोड मुल्य बराबरको सेतक चिनी गोदाममै थन्कियो
जाजरकोट : समयमा निकासी पूर्जी नपाउँदा जाजरकोटमा करीब ९ करोडको सेतक चिनी गोदाममै थन्किएको छ। प्रति क्वीन्टल ६० हजारमा बिक्री हुने करीब एक हजार पाँच सय क्वीन्टल सेतक चिनीले छुट पूर्जी नपाउँदा गोदाममै थन्किएको हो।
हालसम्म संकलन तथा छुट पूर्जी पाउने आसमा रहेका व्यापारीले यस आर्थिक वर्षमा नपाउने निश्चित भएको छ। वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नबनाएको र सामुदायिक वनको कार्य योजना हालसम्म स्वीकृत नभएका कारण जिल्ला बाहिर निकासीका लागि व्यापारीले छुट पूर्जी पाउन नसकेका हुन्।
छुट पूर्जी नपाउँदा लाखौं लगानी गरेर सेतक चिनी खरीद गरेका व्यापारी चिन्तामा परेका छन्। वर्षात्को समयमा संकलित सेतक चिनी कुहिने डर उनीहरुलाई छ। डिभिजन वन कार्यालयले भदौअघि छुट पूर्जी दिन सकिने अवस्था नभएको बताएपछि व्यापारी निराश भएर फर्केका छन्।
जिल्लाका विभिन्न जंगलमा पाइने सेतक चिनी संकलन तथा निकासी पूर्जीका लागि डिभिजन वन कार्यालय जाजरकोटमा गत कार्तिकमै व्यापारीले करीब ६ हजार क्वीन्टलको अनुमति मागेका थिए। सेतक चिनी पाइने सामुदायिक तथा राष्ट्रिय वनको कार्ययोजना र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नभएपछि डिभिजन वन कार्यालयले संकलन तथा निकासी पूर्जी दिन सकेन।
तर, बारेकोट गाउँपालिकाले वन ऐनविपरीत ६५ जना व्यापारीबाट दुई लाख रुपैयाँ धरौटी लिएर संकलन पूर्जी दियो। गाउँपालिकाकै अनुमतिका आधारमा व्यापारीले स्थानीय बासिन्दालाई सेतकचिनी (खिरौलो) संकलन गर्न लगाए। करीब ६ हजार क्वीन्टल सेतक चिनी संकलन भएको व्यापारीले भनाई छ।
उक्त सेतक चिनी निकासीका लागि करीब दुई सय व्यापारीले डिभिजन वन कार्यालयमा निवेदन दिए। प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन(आईईए) गरेका कारण पाँच सय क्वीन्टलसम्मको संकलन तथा निकासी पूर्जी दिने अधिकार डिभिजन वन कार्यालयले पायो।
पाँच सयभन्दा बढीको अनुमति दिन ईआईए गर्नुपर्ने प्रावधान छ। तर, कार्यालयले हालसम्म ईआईए गर्न सकेको छैन। एक्सन फर इन्जिनियरिङ्ग सोलुसनले जाजरकोटका वनको वातावरणीय प्रभाव मुल्याकंनको जिम्मा लिएको थियो तर समयमा उक्त कार्य नगर्दा समस्या देखिएको हो।
ईआईए नगर्दा व्यापारीले हालसम्म संकलन तथा छुट पूर्जी पाउन नसकेका हुन् । यद्यपी, व्यापारीले अवैध तरीकाले संकलित सेतक चिनी नै निकासी गरेका छन्। केही व्यापारीले जाजरकोटबाट छुट पूर्जी नपाउँदा रुकुम र डोल्पाबाट अनुमति लिएर निकासी गरेका छन् भने कतिपयले अवैध तरीकाले नै निकासी गरेको पाईएको छ।
संकलित सेतक चिनीले निकासी पूर्जी नपाउँदा गोदाममा कुहिन थालेको छ। छुटपूर्जी नपाउँदा जिल्लाका रिम्ना, कालीमाटी र घाटमा सेतकचिनी अलपत्र अवस्थामा छ। व्यापारीले डिभिजन वन कार्यालय, जाजरकोटवाट समयमा संकलन तथा छुट पूर्जी दिन नसक्दा सरकारलाई करोडौको राजश्व घाटा लागेको छ। व्यापारीले पनि अवैध तरीकाले लुकिचोरी संकलन र निकासी गर्न बाध्य भएका छन्।
असोजको अन्तिम सातादेखि मंसिरको पहिलो सातासम्म जिल्लाको बारेकोट गाँउपालिकाका विभिन्न पाटनमा बहुमुल्य सेतक चिनी (खिरौलो) खन्ने गरिन्छ। सेतक चिनी संकलन तथा निकासी पूर्जी लिनलाई कार्यालय धाउन थालेको नौ महिना वितिसक्दा पनि पाउन नसकेको व्यापारी गोरखबहादुर शाहीले बताए।
कार्यालयले छुट पूर्जी नदिएपछि सेतक चिनी संकलनमा गरेको लाखौ रुपैयाँ लगानी गरिसकेका डुब्न थालेको उनको भनाई छ । सामुदायिक वनको कार्ययोजना स्वीकृति नभएको र वातावरणीय प्रभाव मूल्याकंन नभएका कारण सेतक चिनी लगायतका जडिबुटीको संकलन तथा निकासी पूर्जी दिन नसकिएको डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख महेश कुमाईले जानकारी दिए।
विभागबाट कार्ययोजना स्वीकृती नहुँदासम्म कुनै प्रकारको पूर्जी दिन नमिल्ने भएकाले व्यापारीले उक्त पूर्जी पाउन नसकेको उनको भनाई रहेको छ। यतिबेला संकलन पूर्जी दिने समय नभएकाले अब भदौमा मात्र दिन सकिने उनले बताए। व्यापारीले सुरुमा धेरै सेतक चिनी भएको बताए पनि हाल करीब एक हजार पाँच सय क्वीन्टल जति स्टक रहेको बताए।