जाजरकोटका सुन्तला किसानलाई अनुदान
जाजरकोट : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई प्रोत्साहन अनुदान रकम तथा कृषि उपकरण वितरण गरेको छ। परियोजनाले सुन्तला उत्पादनका लागि कुशे गाउँपालिका, भेरी नगरपालिका–२ र नलगाड नगरपालिका–३का ५१२ किसानलाई ५० भन्दा बढी सुन्तलाका बोट लगाए प्रोत्साहन अनुदान र कृषि उपकरण वितरण गरेको हो।
परियोजनाले कुशेका ३ सय २०, भेरीका ९६ र नलगाडका १ सय २६ सुन्तला उत्पादक किसानलाई अनुदान अन्र्तगत ७ लाख रुपैयाँ समेत वितरण गरेको छ। ५० भन्दा धेरै सुन्तलाका बिरुवा लगाएका किसानलाई ५ सय देखि ९ हजारसम्म प्रोत्साहन रकम वितरण गरेको सुन्तला जात जाजरकोट जोनका प्रमुख टंकप्रसाद रिजालले बताए।
त्यस्तै परियोजनाले सुन्तला खेती गरिरहेका किसानलाई २० लाख रुपैयाँमा कृषि औजार वितरण गरेको छ। कृषकलाई पावर, सिकेचर, स्प्रेयर, ट्र्याक्टर, खाल्डा खन्ने मेसिन, फुट स्प्रेयर, भर्याङ, आरी, कैंची, जुसर मेसिन, तौल मेसिन, स्प्रिंकलर लगायत कृषि औजार वितरण गरिएको कृषि प्राविधिक विश्वा मित्र शर्माले बताए।
उनका अनुसार कस्टम हाइरिङ सेन्टर र पोस्ट हारभेस्ट सेन्टर कार्यक्रमको रकमबाट किसानलाई कृषि औजार वितरण गरिएको हो। कृषि औजार ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ।