त्रिवि सेवा आयोग अध्यक्षसहित १० विरुद्ध मुद्दा दायर

त्रिवि सेवा आयोग अध्यक्षसहित १० विरुद्ध मुद्दा दायर

काठमाडौं : त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जना विरुद्ध मुद्दा दायर भएको छ।

अख्तियार दुरुयोग अनुसन्धान आयोगले परीक्षाको नतिजा फेरबदल गरेको आरोपमा सेवा आयोगका अध्यक्ष शर्मासहित १० विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका सहप्रवक्ता मदन कोइरालाले जानकारी दिए।

'सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मा, सदस्य चिन्तामणि पोखरेल, प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी ईन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह-प्राध्यापक राजेश्वर न्यौपाने, सह-प्राध्यापक तारा प्रकाश पौडेल र रामबहादुर पाण्डे क्षत्री गरी दश जनाले पदीय मर्यादा अनुरुप पूरा गर्नुपर्ने दायित्व पुरा नगरी उक्त पदहरूको लिखित परीक्षाको परिणाममा फेरबदल गरे गराएको देखिन आएको' अख्तियारले जनाएको छ। 

'निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ को कसूर अपराध हुँदा ऐनको दफा २४ बमोजिम थप सजायको समेत मागदाबी लिई विशेष अदालतमा आरोप-पत्र दायर गरिएको', अख्तियारले जनाएको छ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको २०७३ फागुन २८ गते प्रकाशित विज्ञापन नं. १८/२०७३/०७४ अन्तर्गत विभिन्न १६ किसिमका प्रशासनिक तथा प्राविधिक पदहरूका लागि विज्ञापन गरी परीक्षा सञ्चालन भएकोमा शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक गरी ६ वटा पदहरूको लिखित परीक्षा सञ्चालनको क्रममा उत्तरपुस्तिका परीक्षणमा अनियमितता भएको अख्तियारको ठहर छ।

शाखा अधिकृत पदको लागि कूल पदसंख्या २४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीहरूमध्ये ६ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको अनुसन्धानका क्रममा भेटिएको अख्तियारले जनाएको छ।

'विज्ञापन अन्तर्गतका प्राविधिक तथा प्रशासनिक तर्फका विभिन्न १६ पदहरूमध्ये शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक गरी छ पदहरूका स्थायी पदपुर्तिका लागि भएको लिखित परीक्षा सञ्चालनतर्फ ३५ थान उत्तरपुस्तिकाको कोडिङ/डिकोडिङ, परीक्षण, संपरीक्षण, रुजु लगायत नतिजा प्रकाशनमा समेत थुप्रै अनियमितताहरू भएको देखिन आएकोमा यस अनियमिततामा त्रि.वि. सेवा आयोगका पदाधिकारीहरू, सेवा आयोगका कर्मचारी, परीक्षक तथा संपरीक्षकहरू संलग्न रहेको संकलित प्रमाणहरूबाट पुष्टि हुन आयो', अख्तियारले प्रेस नोटमा भनेको छ।

कसको के मा संलग्नता ?

यी मध्ये एक परीक्षार्थीको प्रथम पत्रमा १७ र तृतीय पत्रमा १६ अङ्क थपेर पास गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ४ अङ्क थपेर पास गराएको, अर्को परीक्षार्थीको तृतीय पत्रमा १४ अङ्क थपेर मेरिटमा ल्याएको,अर्को परीक्षार्थीको द्वितीय पत्रमा ६ अङ्क थपेर मेरिटमा ल्याएको गरी ४ जनाको अङ्क थपेर उत्तीर्ण गराएको पाइयो भने १ जना परीक्षार्थी पास हुनुपर्नेमा नाम छुटाई अनुत्तीर्ण गराएको र अर्को एकजना परीक्षार्थीको प्रथम पत्रमा ९ र तृतीय पत्रमा १४ अङ्क घटाएर अनुत्तिर्ण गराएको पाइयो। यस कार्यमा उत्तरपुस्तिका परीक्षक गोविन्द ढकाल र टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता देखिन आएको।

लेखा अधिकृत पदको लागि कूल पदसंख्या २४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीहरूमध्ये एक जनाको द्वितीय पत्रमा ९ अङ्क थपी मेरिटमा पारेको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा१० अङ्क थपी मेरिटमा पारेको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा३ अङ्क थपी मेरिटमा पारेको,अर्को परीक्षार्थीको द्वितीय पत्रमा ७ अङ्क थपी मेरिटमा पारेको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा २ अङ्क थपी मेरिटमा पारेको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा परीक्षकले ३ अङ्क थपेको र संपरीक्षण गर्ने परीक्षकले ९अङ्क घटाई मेरिटमा तल पारेको र अर्को परीक्षार्थीको द्वितीय पत्रमा २ अङ्क थपी मेरिटमा पारेको गरी ७ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको पाइयो।यी मध्ये सबै जनाको दोश्रो पत्रको उत्तरपुस्तिकामा २ देखि १० अङ्क सम्म थप गरी उत्तीर्ण गराइएको। यस कार्यमा उत्तरपुस्तिका परीक्षक राजेश्वर न्यौपाने र संपरीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको देखिन आयो।

सहायक कानुनी सल्लाहकार पदको लागि पदसंख्या १ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीहरूमध्ये एक परीक्षार्थीको द्वितीयपत्रमा १५ अङ्क थपी पाँचौलाई पहिलो मेरिटमा पारेको, अर्को परीक्षार्थीको द्वितीयपत्रमा २ अङ्क घटाई दोश्रोलाई चौथो मेरिटमा पारेको र अर्को परीक्षार्थीको द्वितीयपत्रमा ८ अङ्क घटाई पहिलोलाई दोश्रो मेरिटमा पारेको गरी ३ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको। यी मध्ये सबै जनाको दोश्रो पत्रको उत्तरपुस्तिकामा अङ्क सम्म थपघट गरी नतिजामा फेरबदल गरी यी तीनजना मध्ये एकजना ३७ अङ्क आएकोलाई १५ अङ्क थपिदिएर ५२ पुर्या एको र अन्य दूईजनाको प्राप्ताङ्क घटाई ५० मा झारेको देखिन आयो। यस कार्यमा संपरीक्षक तारा प्रकाश पौडेलको प्रत्यक्ष संलग्नता रहेको देखिन आयो।

मुख्य लेखा सहायक पदको लागि कूल पद संख्या २४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीहरूमध्ये एक जना परिक्षार्थीको प्रथम पत्रमा १५ र द्वितीय पत्रमा १३ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १३ अङ्क थपी उत्तीर्ण गराएको,अर्को परीक्षार्थीको द्वितीय पत्रमा १० अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ६ अङ्क घटाएर अनुत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १४ अङ्क घटाएर अनुत्तिर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १४ अङ्क घटाएर अनुत्तिर्ण गराएको गरी ६ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको। यी मध्ये एक जनाको प्रथम र दोश्रो दुवै पत्रमा अङ्क थपेको पाईयो भने अन्य ५ जनाको दोश्रो पत्रको उत्तरपुस्तिकामा ६ देखि १५ अङ्क सम्म थपघट गरी नतिजा फेरबदल गराएको पाईयो। यस कार्यमा उत्तरपुस्तिका परीक्षक राजेश्वर न्यौपाने र संपरीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको देखिन आयो।

मुख्य कार्यालय सहायक पदको लागि कूल पदसंख्या १२ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीहरूमध्ये एक परीक्षार्थीको द्वितीय पत्रमा ४ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ४ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ५ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ३ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा २ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा परीक्षकले ५ र सं. प. ले ११ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ५ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ८ अङ्क थपी उत्तीर्ण गराएको, अर्को परीक्षार्थीको द्वितीयपत्रमा सं.प.ले २२ अङ्क थपी उत्तीर्ण गराएको,अर्को परीक्षार्थीको परीक्षकले ५ पटकसम्म अङ्क सच्याई फेललाई उत्तीर्ण गराएको र अर्को परीक्षार्थीको सं.प. ले १० अङ्क घटाई मेरिटमा नपारेको गरी ११ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको। यी मध्ये २ जनाको प्रथम र दोश्रो दुवै पत्रमा अङ्क थपेको पाइयो भने अन्य ८ जनाको दोश्रो पत्रको उत्तरपुस्तिकामा २ देखि ३० अङ्क सम्म थप गरी नतिजा फेरबदल गराएको पाइयो। एकजनालाई १० अङ्क घटाई नियतवस मेरिटबाट हटाई अनुत्तीर्ण गराएको देखिन आयो। यस कार्यमा उत्तरपुस्तिका परीक्षक रामबहादुर पाण्डे र संपरीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको देखिन आएको।

कार्यालय सहायक पदको लागि कूल पदसंख्या १४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये दुई जना परीक्षार्थीको खुलामा नआउनेलाई अङ्क थपी मेरिटमा ल्याइ २ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अङ्क थप गरी परीक्षाको परिणाम फेरबदल गरी दुवै जनाको दोश्रो पत्रको उत्तरपुस्तिकामा ४ देखि ५ अङ्क सम्म थप गरी नतिजा फेरबदल गराएको पाईयो। यस कार्यमा उत्तरपुस्तिका परीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको देखिन आएको।

रुजु गर्ने काममा समेत त्रुटि

उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले कुल प्राप्ताङ्क केरमेट नगरी लेख्नुपर्ने, केरमेट गर्नुपर्ने नै भएमा सुरु अङ्क बुझिने गरी एकपटक मात्र काटेर अक्षरमा समेत लेखी दस्तखत गर्नुपर्ने, भित्रबाट बाहिर अङ्क सार्दा केरमेट नगरी फरक नपारी उतार्नुपर्ने भन्ने कुरा उत्तरपुस्तिका परीक्षकलाई दिईएको नियुक्तिपत्रमा स्पष्ट उल्लेख हुँदा हुँदै त्यस विपरीत परीक्षकले जथाभावी अङ्क केरमेट गरेको देखिनु र त्यस्तो केरमेट गरी सच्याउने काम सबैजसो उत्तीर्ण भएका परीक्षार्थीहरूका उत्तरपुस्तिकामा भएको देखिनुले परीक्षकले एकपटक उत्तरपुस्तिका परीक्षण गरेर बुझाईसकेपछि डिकोडिङ पश्चात पास गराउनुपर्ने ब्यक्तिलाई तिनीहरूका उत्तरपुस्तिकामा अङ्क थपघट गरी नतिजा फेरबदल गराएको भन्ने पुष्टि हुन आयो।

केरमेट गरिएकोमा पनि अधिकांश उत्तरपुस्तिकाहरूको सुरुमा दिएको अङ्क नबुझिने गरी केरिएको, केरमेट भएकोमा परीक्षकको दस्तखत नभएको, उत्तरपुस्तिकाको भित्र दिएको अङ्क र बाहिर उतारिएको अङ्क फरक परेको, अङ्क फेरबदल भएकोमा सबै ठाउँमा अक्षरमा नलेखिएको जस्ता तथ्यहरूले परीक्षकले आफ्नो कर्तब्य र दायित्व पूरा गर्न नसकी अनियमिततामा संलग्न भएको स्पष्ट हुन आयो।

परीक्षकबाट परीक्षण भई प्राप्त भएका उत्तर पुस्तिकाहरू रुजु गर्दा कुनै त्रुटी देखिएमा वा शंकास्पद लागेमा त्यस्ता उत्तर पुस्तिकाहरू मध्ये सबै वा त्रुटी देखिएका उत्तरपुस्तिकाहरूको संपरीक्षण गराउने र सामान्यत: कम्तिमा ३३ प्रतिशत उत्तर पुस्तिकाहरू संपरीक्षण गराउनुपर्ने भन्ने त्रिभुवन विश्वविद्यालय सेवा आयोग, सेवा आयोगको आन्तरिक कार्यविधिको दफा १९ मा भएको ब्यवस्था विपरित शंकास्पद सबै वा रुजु गर्दा त्रुटी देखिएका उत्तरपुस्तिकाहरूको संपरीक्षण नगराएको र ३३ प्रतिशत उत्तर पुस्तिकाहरू संपरीक्षण गराउनुपर्नेमा केही मात्र उत्तरपुस्तिकाहरूको संपरीक्षण गराएको देखियो।

आयोगको आन्तरिक कार्यविधिको दफा १८ मा भएको ब्यवस्था बमोजिम परीक्षकबाट परीक्षण भई प्राप्त भएका उत्तरपुस्तिकाहरू निश्चित आधारमा रुजु गराउने र रुजु गर्दा केही छुट देखिएमा सम्बन्धित परीक्षकलाई नै बोलाई सच्याउन लगाउनु पर्ने, कथंकदाचित सम्बन्धित परीक्षक उपलब्ध नभएमा संपरीक्षण समितिलाई जानकारी गराई सच्याउन लगाउनु पर्नेछ भन्ने स्पष्ट ब्यवस्था हँदाहुँदै यसका बावजुद आयोगद्वारा उत्तरपुस्तिका रुजु गराइएको कुनै आधिकारिक निर्णय नदेखिएको, रुजु गरिएको अङ्क पेन्सिलले लेखिएको पाइएको र रुजु गर्दा छुट देखिएको अङ्क सम्बन्धित परीक्षक वा सम्परीक्षण समितिलाई जानकारी गराई सच्याउन लगाउनु पर्नेमा सो नगरी आयोगको कुनै आधिकारिक निर्णयबिना सोझै लेजरमा सारी नतिजा प्रकाशन गरिएको देखिंदा रुजु गर्ने काममा समेत त्रुटि भएको देखिन आयो।

परीक्षाको विश्वसनियता र गोपनियता

आयोगको आन्तरिक कार्यविधिको दफा ३६ मा भएको ब्यवस्था बमोजिम आयोगमा कार्यरत कुनै शिक्षक/कर्मचारीको कुनै नातेदार वा आफु स्वयं आयोगद्वारा संचालन हुने कुनै विज्ञापनमा उम्मेदवार भएमा सो को लिखित जानकारी सम्बन्धित शिक्षक/कर्मचारीले अध्यक्ष समक्ष अनिवार्य रुपमा दिनु पर्नेछ र यस बमोजिम सूचना प्राप्त भएमा त्यस्तो कर्मचारीलाई त्यस्तो परीक्षा संचालन सम्बन्धी कामबाट अलग राख्ने ब्यवस्था गर्नुपर्नेछ भन्ने ब्यहोरा उल्लेख भएकोमा सो को पालना भएको नपाइएको। यस विज्ञापनमा डबल कोडिङ्ग गरेको देखिए ता पनि उनै ब्यक्तिहरू दुवै कोडिङ्गमा संलग्न भएको देखिन आएकोले डबल कोडिङ्ग गर्नुको कुनै औचित्य नरहेको लिखित परीक्षाको विश्वसनियता र गोपनियता कायम रहेको देखिएन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.