मध्यपुर थिमीका नगरप्रमुखमाथि छानबिन गर्ने नगरसभाको निर्णय
भक्तपुर : भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको बुधबार सकिएको विशेष नगरसभाले नगर प्रमुखमाथि छानबिन गर्ने प्रस्ताव पारित गरेको छ।
नगर प्रमुख मदनसुन्दर श्रेष्ठको अनुपस्थितिमा भएको विशेष नगरसभाले श्रेष्ठले आफ्नो अधिकारभन्दा बाहिर गएर आर्थिक कारोबार तथा योजना सञ्चालन गरेको ठहर गर्दै उनीमाथि छानबिन गर्ने प्रस्ताव पारित गरेको हो।
नगरका उपप्रमुख अञ्जनादेवी मधिकर्मीको अध्यक्षतामा भएको नगरसभाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा १६ को उपदफा ‘क’ मा भएको नगर प्रमुखको काम, कर्तव्य र अधिकारभन्दा बाहिर गएर नगर प्रमुख श्रेष्ठले आर्थिक कारोबार, तोक, आदेश र टिप्पणीका आधारमा फाइल उठाई योजना सञ्चालन गरेको ठहर गरेको छ।
सोही ठहरको आधारमा प्रमुख श्रेष्ठमाथि छानबिन गर्ने नपाका प्रवक्ता एवं वडा नं. २ का वडा अध्यक्ष राम थापामगरले जानकारी दिए। उनका अनुसार प्रमुख श्रेष्ठमाथि छानबिन गर्ने प्रस्ताव पारित गरे पनि उक्त छानबिन गर्ने समिति भने गठन गरिसकेको छैन।
‘विशेष नगरसभाबाट प्रमुख श्रेष्ठले आफ्नो अधिकारभन्दा बाहिर गएर गरेका कामकारबाहीको छानबिन गर्ने प्रस्ताव पारित भएको छ’, प्रवक्ता थापामगरले भने, ‘तर नगरसभाले उक्त छानबिन समिति भने गठन गरेको छैन।’
विशेष नगरसभा अवैधानिक : प्रमुख श्रेष्ठ
यता विशेष नगरसभाबाट छानबिन गर्ने भनिएको नगर प्रमुख श्रेष्ठले भने आफूले स्थगित गरेको विशेष नगरसभा नै अवैधानिक भएको जिकिर गरेका छन्। उनले आफ्नो अनुपस्थितिमा भएको विशेष नगरसभा नै वैधानिक नहुने दावी गरेका हुन्।
‘मेरो अनुपस्थितिमा भएको विशेष नगरसभा नै अवैधानिक छ’, प्रमुख श्रेष्ठले भने, ‘त्यसैले अवैधानिक नगरसभाले के प्रस्ताव पारित गर्छ, त्यसले अर्थ राख्दैन।’
>>> यो पनि पढ्नुस्ः स्थानीय तहमा दलीय छाया : अल्पमतका प्रमुख सकसमा
नगर प्रमुख श्रेष्ठले आफ्नो अनुपस्थितमा उपप्रमुख अञ्जनादेवी मधिकर्मीको नेतृत्वमा विशेष नगरसभा बसेको जानकारी पाएपछि सूचना प्रकाशित गरी स्थगित गरेका थिए।
नगर प्रमुख श्रेष्ठले बुधबार बिहान ११ बजेको लागि विशेष नगरसभाको आह्वान गरेका थिए। तर तयारी पूरा नभएको भन्दै ११ बजे नै सूचना टाँस गरेर नगरसभा बुधबार नै दिउँसो २ बजेसम्मको लागि स्थगित गरिएको थियो।
नगरसभा स्थगित गरिएपछि नगरसभामा प्रस्तुत गर्ने प्रस्तावमा सहमति नहुँदा आफूले पुनः नगरसभा स्थगित गरेको प्रमुख श्रेष्ठले जानकारी दिए।
उनले उपप्रमुखसहित बहुमत जनप्रतिनिधिहरूले विशेष नगरसभा आह्वान गर्न माग गरेका बुधबार नगरसभा आह्वान गरेको स्पष्ट पारे। विशेष नगरसभा आह्वान गर्न माग गरिएको ज्ञापनपत्रमा उल्लेख भएका प्रस्तावहरू विशेष नगरसभाको प्रस्ताव हुनै नसक्ने उनको भनाइ थियो।
उनले व्यक्तिगत लाञ्छनाको मुद्दालाई नगरसभाको प्रस्तावको रुपमा लानै नसकिने प्रमुख श्रेष्ठको तर्क थियो। तर प्रमुख श्रेष्ठकै सूचनाअनुसार बुधबार २ बजेपछि पनि नगर प्रमुख श्रेष्ठ स्वयम् सभास्थलमा उपस्थित नभएपछि उपप्रमुख मधिकर्मीको अध्यक्षतामा विशेष नगरसभा सम्पन्न गरिएको नपाका प्रवक्ता थापामगरले दावी गरे।
उनका अनुसार विशेष नगरसभाले अघिल्लो नगरसभाले बढाएको केही करहरू घटाउने निर्णयसँगै केही ऐनहरूसमेत पारित गरेको छ। उनले विशेष नगरसभा वैधानिक भएको र त्यसले पारित गरेका प्रस्ताजहरूलाई कार्यान्वयन गर्न आफूहरू लागिपर्ने सुनाए।
उपप्रमुख मधिकर्मीको अध्यक्षतामा नगरसभा चलिरहँदा नपाका प्रमुख श्रेष्ठले अर्को सूचना प्रकाशित नभएसम्मको लागि विशेष नगरसभा स्थगित गरिएको अर्को सूचना निकालेका थिए। नपाका प्रमुख प्रशासकीय अधिकृत उमेश बरालले हस्ताक्षर गरेको सूचना यस्तो छः
आज मिति २०७६ असार १८ गते बुधबार दिनको २ः०० बजे, कृषि विकास तालिम केन्द्र, बोडेको सभाहलमा बस्ने गरी निर्धारण गरिएको मध्यपुर थिमी नगरपालिकाको विशेष नगरसभाको बैठक प्रदेश नं. ३ प्रदेशसभाद्वारा जारी भएको नगरसभा सञ्चालन (कार्यविधि) सम्बन्धी ऐन, २०७५ को दफा १९ बमोजिमको परिस्थिति उत्पन्न भई नियमित रुपले सञ्चालन गर्न बाधा पर्ने भनी नगरसभाका अध्यक्ष एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुखज्यूले सोही दफाले दिएको अधिकार प्रयोग गरी अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्नुभएको व्यहोरा सम्पूर्ण नगरसभा सदस्यज्यूहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’
नगर प्रमुख श्रेष्ठले जोड गरेको दफा १९ मा नगरसभाको क्रममा भद्रगोल हुनसक्ने सम्भावना भए नगरसभा स्थगित गर्न सक्ने अधिकार सभा अध्यक्ष एवं नगर प्रमुखलाई दिइएको छ। उक्त प्रावधानअनुसार सभा अध्यक्षले स्थगित गरेको तथा सभा अध्यक्ष अनुपस्थित भएको नगर सभा वैधानिक नहुने तर्क अघि सारिएको छ।
स्थगितको सूचना प्रकाशित गर्ने प्रमुख कार्यकारी अधिकृत बराल पनि विशेष नगरसभामा उपस्थित भएनन्। प्रमुख कार्यकारी अधिकृत नगरसभाको सचिव हुने प्रावधान रहेको छ।
मध्यपुर थिमीको समीकरण
उपप्रमुख मधिकर्मीसहित दुईतिहाइभन्दा बढी कार्यपालिका सदस्यहरूले एक महिनाअघि नै विशेष नगरसभा बोलाउन माग गर्दै नगर प्रमुख श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका थिए। मध्यपुर थिमी नगरपालिकामा नगर प्रमुख, तीनजना वडा अध्यक्षबाहेक उपप्रमुखलगायत सम्पूर्ण कार्यपालिका सदस्य नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका छन्।
प्रमुख श्रेष्ठ तत्कालीन एमाले र नेपाल मजदुर किसान पार्टीको गठबन्धनबाट निर्वाचित भएका थिए। जुन गठबन्धनले वडा नं ५ मा एमालेको तर्फबाट र वडा नं. ८ मा नेमकिपाको तर्फबाट उम्मेदवारी दिएका वडा अध्यक्ष निर्वाचित भएका थिए। वडा नं. ७ मा भने स्वतन्त्र उम्मेदवार वडा अध्यक्ष निर्वाचित भएका थिए।
बुधबार भएको विशेष नगरसभामा प्रमुख श्रेष्ठ र वडा नं. ५ का वडा अध्यक्ष अमृतमान श्रेष्ठबाहेक सबै वडा अध्यक्ष उपस्थित भएका छन्। त्यसैले पनि विशेष नगरसभा वैधानिक हुने प्रवक्ता थापामगरको जिकिर रहेको छ।