सानदार सामुदायिक

सानदार सामुदायिक

काठमाडौं : एसईईको नतिजा आएसँगै कक्षा ११ मा कुन विद्यालय छान्ने भन्नेमा विद्यार्थीहरू अन्योलमा छन्। निजी (संस्थागत) विद्यालयले विद्यार्थी तान्न आकर्षक विज्ञापन गरिरहेका छन्, विद्यार्थी प्रलोभनमा पार्नका लागि अन्य विधि पनि अपनाइरहेका छन्। सरकारको स्वामित्वमा रहेका सामुदायिक विद्यालयले यस विषयमा खासै चासो दिएका छैनन्। एसईईको नतिजामा कमजोर देखिए पनि समग्रमा सामुदायिक विद्यालय कमजोर भने छैनन्। प्रशस्त सामुदायिक विद्यालयले निजी विद्यालयको भन्दा राम्रो शिक्षा दिइरहेका छन्। प्रचारप्रसार कम भएका कारण उनीहरूको क्षमता बाहिर आएको छैन।

उनीहरूको पठनपाठन र नतिजासम्म निजीभन्दा कम छैन। त्यसमा केही सामुदायिक विद्यालयबाट सञ्चालित कक्षा ११ र १२ को पठनपाठन प्रशंसा गर्न योग्य छन्। त्यस्ता सामुदायिक विद्यालयसमेत संघीय राजधानी काठमाडौं प्रशस्त छन्।

कुशल व्यवस्थापन, मेहेनती शिक्षक र सहयोगी अभिभावकको समन्वय भएमा सरकारी विद्यालय अब्बल छन्। विश्व निकेतन मावि त्रिपुरेश्वर, ज्ञानोदय मावि वाफल, रत्नराज्य मावि बानेश्वर, तिलिङ्गाटार मावि धापासी, जनकल्याण मावि महाकांल बौद्ध, शिवपुरी मावि महाराजगन्ज, मंगलोदय मावि थानकोट, पद्मोदय मावि रामशाहपथ, कन्या मावि डिल्लीबजार काठमाडौंले साना कक्षादेखि माथिल्लो तहसम्मै राम्रो शिक्षा दिइरहेका छन्।

शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख नन्दलाल पौडेलले काठमाडौंका सामुदायिक विद्यालयको पठनपाठन सुधारोन्मुख रहेको बताउँछन्। ‘यहाँ धेरै नै सामुदायिक विद्यालयको पठनपाठन राम्रो छ, उनी भन्छन्, ‘प्रचारप्रसार कमी भएका कारण बाहिर नआएको मात्रै हो।’ उनका अनुसार निजीमा भन्दा धेरै दक्ष शिक्षकले सामुदायिक विद्यालयमा पठनपाठन गइरहेका छन्।

राम्रो पठनपाठन गर्ने सामुदायिक विद्यालयले विद्यार्थीको चापसमेत धान्न सकिरहेका छैनन्। निजी विद्यालयभन्दा कम छैन उनीहरूको आर्कषण। निजी विद्यालयको भन्दा राम्रो, गुणस्तरीय शिक्षा दिइरहेका छन्। प्रविधिमा पनि उनीहरू कम छैनन्। आईटी प्रविधिबाट शिक्षण गराउन थालेका छन्। कम्प्युटर शिक्षा सर्वसुलभ भइसकेको छ। उनीहरूको अब्बल हुनको राज नै गुणस्तरीय शिक्षा हो।

विश्व निकेतन मावि त्रिपुरेश्वर दोस्रो पुराना कक्षा ११ र १२ सञ्चालन भएका विद्यालय हो। २०५१÷५२ सालबाट विश्व निकेतनमा प्लस टुको अध्यापनमा थालिएको हो। २४ वर्षदेखि कक्षा ११ र १२ सञ्चालन भएको विश्व निकेतनबाट धेरै विद्यार्थी बोर्ड प्रथम भइसकेका छन्। २८ सय विद्यार्थी अध्यापन गरिरहेका यस विद्यालयका कक्षा ११ र १२ मा मात्रै १३ सय विद्यार्थी अध्ययन गर्दछन्। विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन गरी पाँचवटै संकायको पठनपाठन हुँदै आएको छ।

यस स्कुलमा विज्ञानमा ६, व्यवस्थापनमा सात, मानविकी दुई र शिक्षामा एक सेक्सन सञ्चालन हँदै आएको छ। गत वर्ष सम्बन्धन पाएको यस वर्षदेखि कानुन संकायको पठनपाठन सुरुआत हुँदैछ। आफंै भूकम्प प्रतिरोधी कम्पाउन्ड भएको विद्यालयमा आधुनिक र सुविधासम्पन्न प्रयोगशाला, हाइजेनिक क्यान्टिनको व्यवस्था छ। विद्यालयका प्रधानाध्यापक हेरम्भ कँडेलका अनुसार शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सबैले सोही विद्यालय आफ्ना छोराछोरी पढाइरहेका छन्। ‘शिक्षक र व्यवस्था समितिका छोराछोरी यहीँ पठाउनु हुन्छ,’ उनी भन्छन्, ‘यसले गर्दा शिक्षक र व्यवस्थापन समितिका पदाधिकारी ध्यान विद्यालयमा केन्द्रित गरेको छ र हामीले राम्रो, गुणस्तीय शिक्षा दिन सकेका छौं,’

 

यस वर्ष एसईईमा विश्व निकेतनका एक सय ८५ विद्यार्थी सहभागी भएकोमा एक जनाले ४ जीपीए ल्याएका छन्। ३.६ जीपीएभन्दा माथि २१ विद्यार्थीले ल्याएका छन्। २ जीपीएभन्दा बढी सबै विद्यार्थी प्राप्तांक छ। २०७४ र २०७५ मा राष्ट्रिय शिक्षा पुरस्कार पाएको विश्व निकेतन सरकारद्वारा घोषित नमुना विद्यालय हो। योग्य अनुभवी एक सय १५ शिक्षकद्वारा अध्यापन हुँदै आएको छ। प्रअ कँडेलले अतिरिक्त क्रियाकलापमा पनि विद्यालय अगाडि रहेका दाबी गरे। फुटबल, भलिबल, बास्केटबल, चेकलगायतका खेलमा अगाडि छ। चित्रकला, हाजिरीजवाफ, निबन्धलगायतमा उत्कृष्ट रहेको छ। आईसीटी प्रणालीबाट व्यावहारिक शिक्षा दिने गरेको प्रअ कँडेल बताउँछन्।

काठमाडौंको वाफलमा रहेको ज्ञानोदय माविमा प्लस २ को अध्यापन सुरु भएको पाँच वर्ष भयो। २०७१ सालदेखि कक्षा ११ को पठनपाठन थालिएको हो। सिभिल इन्जिनियरिङ, विज्ञान र व्यवस्थापन विषयमा यहाँ कक्षा ११ र १२ मा पाठपाठन हँुदै आएको छ। विज्ञानमा भौतिकशास्त्र, रसायनशास्त्र, जीवशास्त्र र गणितको पठनपाठन हुन्छ भने व्यवस्थापन संकायतर्फ होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र बिजनेस स्टडिजको पढाइ हुँदै आएको छ। विद्यालयको परीक्षाको नतिजासमेत राम्रो छ।

विद्यालयले विज्ञानमा शतप्रतिशत नतिजा ल्याउँदै आएको छ भने व्यवस्थापन पनि ७५ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण हुँदै आएका छन्। प्रधानाध्यापक नातिकाजी महर्जन सामुदायिक विद्यालयमा पनि आधुनिक प्रविधिबाट पढाइ हुने बताउँछन्। ‘हामी आईसीटी पद्धतिबाट पठनपाठन गरिरहेका छौं, उनी भन्छन्। गुणस्तरीय शिक्षा दिनको लागि विद्यार्थीको चाप भए पनि सीमित सेक्सन मात्रै सञ्चालन गरेको छ। उनका अनुसार विज्ञान र सिभिल इन्जिनियरिङको एक÷एक वटा मात्रै सेक्सन छन् भने व्यवस्थापनमा दुई वटा सेक्सन छ। विज्ञान र इन्जिनियरिङको पढाइ बिहान साढे ८ बजेदेखि हुँदै आएको छ भने व्यवस्थापनको बिहान ६ बजेबाट अध्यापन हुन्छ।

विद्यार्थीको आकर्षण बढ्दै गएको र नयाँ भवनको पनि निर्माण भइसकेकोले यस शैक्षिक सत्रबाट विज्ञानमा दुई र व्यवस्थापनमा तीन सेक्सन चलाउने योजना बनाएको उनले जानकारी दिए। ‘धेरै सेक्सन छैन, भौतिक पूर्वाधार पनि पर्याप्त छैन,’ उनले भने,‘ अहिले नयाँ भवन बनेको छ, अब कक्षा ११ र १२ त्यही पठनपाठन गराउँछौ।’ नयाँ भवनका साथै नयाँ प्रयोगशाला, शौचालय र क्यान्टिनको व्यवस्था पनि रहेको छ। विद्यालयका कक्षा ११ र १२ मा चार सय विद्यार्थी छन्। कक्षा १२ का विद्यार्थीले भने परीक्षा दिइसकेका छन्।

शिक्षकले जिम्मेवार भएर शिक्षण गराएमा गुणस्तरीय कायम हुनेको अनुभव सुनाउँछन्। ‘कक्षा कोठाका शिक्षकले राम्रो शिक्षण गराइदिएमा स्कुल यतिकै राम्रा हुन्छन्,’ उनी भन्छन्।

यस वर्षको एसईईमा एक विद्यार्थी ४ जीपीए ल्याएका छन् भने धेरै १०३ ले ३.६ भन्दा बढी, ५४ जनाले ३.२ देखि ३.६, ६० जनाले २.८ देखि ३.२, ३१ जनाले २.४देखि २.८, १२ जनाले २.० देखि २.४, ३ जनाले १.६ देखि २ जीपीए ल्याएका छन्। गत वर्षको २०६ सहभागी एसईईमा ७४ जनाले ३.६ जीपीए ल्याएका थिए। तीन विद्यार्थीले ३.९५ जीपीए ल्याए।

मंगलोदय मावि थानकोटमा मानविकी र व्यवस्थापनमा कक्षा ११ र १२ को पठनपाठन हुँदै आएको छ। २०७४ सालबाट सञ्चालनको भएको मंगलोदयले सुरुआतमा राम्रो नतिजा ल्याएको छ। पहिलो ब्याचमा नै २८ जनाले परीक्षा दिएका पूरकसमेत गर्दा सबै विद्यार्थी उतीर्ण भएका छन्। २५ जना त नियमित पास भएका छन्।

प्रधानाध्यापक कविन्द्र गोपाली सुरुआतमा राम्रो नतिजा आएको बताउँछन्। नियमित विद्यार्थीको परीक्षा लिने गरेकोसमेत जानकारी गराए। ‘तीन वटा आन्तरिक परीक्षा लिन्छौं,’ उनी भन्छन्, ‘अतिरिक्त क्रियाकलापमा विद्यार्थी यतिकै सहभागी बनाउँछौं।’ यो विद्यालयमा पहिलो वर्ष कक्षा ११ मा ३२ जना विद्यार्थी भर्ना भएका थिए भने दोस्रो वर्ष ४९ जना विद्यार्थी भर्ना भए। यो विद्यालयमा विहान ६:१५ बाट कक्षा ११ र १२ को पठनपाठन हुन्छ।

तल्लो तहमा प्रत्येक शनिबार परीक्षा सञ्चालन हुने गरेको छ। बाल विकासदेखि कक्षा १२ सम्म विद्यालयमा एक हजारभन्दा बढी विद्यार्थी अध्यायरत छन्। विद्यालयमा ४६ दरबन्दी र दुई बाल विकाससहित ४८ जना शिक्षक छन्।

प्रभात माविका प्रधानाध्यापक गोविन्दप्रसाद रूपाखेती विद्यालय गुणस्तरीय शिक्षाको लागि परेको बताउँछन्। २०७४ सालबाट कक्षा ११ र १२ को अध्यापन हुँदै आएको प्रभातमा नयाँ विषय होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स पठनपाठन सुरुआत हुँदैछ। यहाँ मानविकी, व्यवस्थापन र शिक्षा संकायको पठनपाठन हुन्छ।

स्मार्ट र आईसीटी प्रविधिबाट शिक्षण व्यवस्था रहेको प्रअ रूपाखेती दाबी गर्दछन्। कक्षा १ देखि १२ सम्म सञ्चालनमा रहेको प्रभातमा आठ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। उनले भौतिक पूर्वाधार विकासमा पनि लागिपरेको बताए।

शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख नन्दलाल पौडेलले निष्पक्ष व्यवस्थापन र कुशल प्रशासक नै विद्यालय अब्बल बनाउने कडी रहेको बताउँछन्। उनका अनुसार भौतिक पूर्वाधार, विद्यालय प्रांगण शिक्षकको तहगत र विषयगत समायोजनले गुणस्तरीय शिक्षा प्राप्त हुन्छ। सरकारी निकाय, स्थानीय तह, गैरसरकारी क्षेत्रको असल समन्वय भएमा विद्यालयका गुणस्तरमा सुधार हुने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.