शिक्षाको मर्यादा

शिक्षाको मर्यादा

हरेक वर्ष एसईईको नतिजा सार्वजनिक हुनासाथ विद्यार्थीहरू कुन विषय लिएर उच्च शिक्षा हासिल गर्ने भन्दै चर्चा, परिचर्चा गर्न थाल्छन्। कतिपयले नतिजा आउनु अगावै भविष्यमा पढ्ने विषय तय गरिसकेका हुन्छन्। धेरैजसो विद्यार्थी नतिजा पर्खिएर अभिभावक र गुरुहरूको सल्लाह, सुझावअनुसार विषय छान्छन्। सल्लाह दिनेले ‘राम्रा र विदेश जानलाई सहयोगी विषय’ भन्दै विज्ञान, व्यवस्थापन, कानुन संकाय रोज्न लगाउँछन्।

शिक्षा संकाय धेरैजसो विद्यार्थी र अभिभावकको रोजाइमा पर्दैन। कतिपयले भने चाहेर पनि पढ्न पाउँदैनन्। विद्यालय तहमा पढ्दादेखि नै शिक्षण पेसा गर्ने सपना बोकेका सिरहाका रमेशकुमार यादवले पनि शिक्षा संकाय पढ्न पाएनन्। आठ वर्ष अघि एसएलसी सक्नासाथ उनलाई अभिभावकले प्राविधिक विषय पढ्न दबाब दिए। ‘मेरो शिक्षक बन्ने सपना तत्काललाई तुहियो। अभिभावकले भर्ना गरिदिएपछि अनमी पढ्न थालेँ। बीचैमा चित्त नबुझेपछि आफैं विज्ञान विषय पनि पढ्न थालेँ।’ उनी भन्छन्, ‘बीएस्सी उत्तीर्ण भएपछि एकवर्षे बीएड पनि गरेको छु। हाल अध्यापन अनुमतिपत्र अर्थात् लाइसेन्स परीक्षाको तयारी गर्दैछु। निजी विद्यालयमा पढाउँछु। जसरी भए पनि असल शिक्षक बन्ने र समाजमा प्रतिष्ठा कमाउने धोको छ।’

शिक्षा विषय लिएर पढ्ने विद्यार्थीले नै समग्र शिक्षाको नेतृत्व गर्न सक्ने बताउँछन् महेन्द्ररत्न क्याम्पस ताहाचलमा प्राध्यापनरत सहप्राध्यापक कमलकुमार पौडेल। निजामतीतर्फको विद्यालय निरीक्षक हुँदै मन्त्रालयसम्म जाने र असल शिक्षक भएर समाजमा योगदान गर्ने दुईखाले बाटो भएकाले र शिक्षकको सरुवा पनि भइनहाल्ने घर पायक जागिर खान पाइने भएकाले धेरैको नजरमा शिक्षा विषय परेको उनको ठम्याइँ छ।

अर्कातिर दक्ष जनशक्तिका पनि गुरु उत्पादन गर्ने शिक्षा विषयप्रतिको आकर्षण दिनानुदिन घट्दै गएको पाइन्छ। शिक्षा पढ्नका लागि राम्रो ग्रेड ल्याउन नपर्ने र शिक्षालयमा बढ्दो राजनीतीकरणले यस्तो प्रभाव पारेको र अभिभावकमा वितृष्णा जागेको उनको बुझाइ छ। फिनल्यान्डमा शिक्षण पेसाको लागि डाक्टर, नर्स, इन्जिनियर, पाइलटलगायतको आवेदन दिन भीड लाग्ने, त्यसमध्ये १० प्रतिशतले मात्र तालिममा सहभागी हुन पाउने साथै सबैभन्दा इज्जतिलो पेसा नै शिक्षण भएको उदाहरण दिँदै पौडेल भन्छन् ‘पछिल्लो समय नेपालमा शिक्षा क्षेत्रमा बढ्दो भ्रष्टाचार र राजनीतिक बेथितिले स्तर र विश्वास खस्किँदै गएको छ। यसलाई सुधारेर चाँडै सबैको आकर्षणको केन्द्र बनाउन सकिन्छ।’ पछिल्लो समय शिक्षकको परीक्षा समयमा हुने गरेकाले केही आशाका किरण रहेको उनी बताउँछन्।

शिक्षा विषय र शिक्षण पेसालाई अझ व्यवस्थित र विश्वसनीय बनाउन शिक्षक स्वयम् जिम्मेवार हुनुपर्ने बताउँछन् शिक्षाविद् डा. विद्यानाथ कोइराला। ‘शिक्षकले पठनपाठनको सीप विकास गर्ने, आफूलाई अध्यावधिक गर्दै लैजाने, हरेक विषयवस्तुलाई समाजसँग जोडेर पढाउने र आफूलाई केही कुरामा अब्बल सावित गर्दै लेजाने गर्नुपर्छ’ कोइरालाले भने, ‘यी गुणहरूले शिक्षकलाई सामाजिक र प्राज्ञिक सम्मान दिन्छ। शिक्षकले विद्यार्थीबाट उचित सम्मान पाउँछ। यसले पेसाप्रतिको विश्वास बढाउँछ।’ शिक्षकहरू पेसागत उन्नयनभन्दा पनि ट्रेड युनियनमा लागेर सबै खाले जिम्मेवारी भुलेको उनको आरोप छ। यस्ता कुरालाई सुधार्न सके शिक्षा विषय कमजोरहरूले पढ्ने नभई सिट नपाउने विषय बनाउन सकिने उनी सुझाउँछन्।

इलामका योगनिधि भट्टराई सानैदेखि शिक्षण पेसामा रुचि राख्थे। शिक्षा संकाय पढेका उनले २०७१ सालमा माध्यमिक तहको आयोग पास गरे। त्यसपछि २०७४ सालमा उनले विद्यालय निरीक्षक पास गरी हाल शाखा अधिकृत सातौं तहमा कार्यरत छन्। भट्टराई शिक्षा संकायमा भविष्य रहेको दाबी गर्छन्। शिक्षकका लागि लिइने परीक्षाहरू विश्वसनीय बन्दै गएकाले यसमा भविष्य उज्ज्वल रहेको उनको दाबी छ। साथै हरेक स्थानीय निकायमा समेत शिक्षा सम्बद्ध कर्मचारी आवश्यक पर्ने भएकाले यसको क्षेत्र फराकिलो रहेको उनी बताउँछन्। ‘सशस्त्र युद्धका बेला मनपरी शिक्षक नियुक्ति गरियो। परीक्षामा चलखेल हुन्छ भन्ने सरोकारवालामा पर्न गयो। यसले यो पेसामा जान मन हुनेलाई पनि विचलित बनायो। तर अहिले त्यस्तो अवस्था छैन।’ उनले भने। आफूसँग भएको ज्ञान बाँड्ने पेसा भएकाले यसमा आत्मसन्तुष्टि पनि हुने उनी बताउँछन्।

काठमाडौंको एक निजी विद्यालयमा अध्यापनरत चितवनकी मनीषा पौडेल शिक्षण पेसाबाट आत्मसम्मान मिल्ने र त्यो सम्मान अन्य पेसा व्यवसायमा नपाइने बताउँछिन्। उनका बाबुले लामो समयसम्म शिक्षण गर्दा गाउँ र जिल्लामा कमाएको मान सम्मानले उनलाई यो पेसामा तानेको उनको भनाइ छ। ‘शिक्षण पेसा अँगालेदेखि नै ममा आत्मविश्वास बढेको छ। सबैभन्दा ठूलो कुरा समाज बुझ्न पाएकी छु। र सम्मान पनि पाएकी छु।’ उनले भनिन् ‘अरू पेसामा पैसा कमाइएला तर यति सम्मान पाइने पेसा सायद छैन।’

शिक्षा संकाय सुरुमा शिक्षक बनाउनकै लागि सुरु गरिएको बताउँछन् शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्साल। तर अहिले आएर कम ग्रेड ल्याएका र अरू विषय पढ्न नपाएका विद्यार्थीले पढ्ने विषय जस्तो देखिएको उनी बताउँछन्। भर्खरै मात्र भुटानमा डाक्टर र शिक्षकलाई समान तहको उच्च सेवासुविधा दिन सुरु गरिएको बताउँदै उनी भन्छन्, ‘अन्य मुलुकमा जस्तो हामी कहाँ शिक्षण पेसालाई मर्यादित र आकर्षित बनाउन सकिएको छैन। यसले गर्दा जहाँ सम्मान पाइन्छ जनशक्ति उतैतर्फ आकर्षित भयो।’ उनले भने ‘शिक्षण पेसामा सेवासुविधा विस्तार, योग्यता सुधार र काम गर्ने उपयुक्त वातावरणको तयारी गर्न सके यसको भविष्य उज्ज्वल छ। तर हामीले चाहँदैमा ए ग्रेड ल्याउने विद्यार्थी शिक्षा विषयमा तान्न सकिने वातावरण बनिसकेको छैन।’

हाम्रो परिवेशमा रुचि र चाहनाअनुसारका विषय छनोट गर्न अभिभावक बाधक बनिदिने गरेकाले कतिपय विद्यार्थीले शिक्षालगायत रोजाइका विषय पढ्न नपाएको उनी बताउँछन्। यसका लागि अभिभावकलाई काउन्सिलिङको आवश्यकता रहेको उनको ठम्याइँ छ। ‘अभिभावकले आफ्ना नानीहरूले पढ्ने विषयप्रति चिन्ता र चासो गर्नु स्वाभाविक हो। तर विद्यार्थीको मनोविज्ञान नै नबुझी यो विषय पढ्नै पर्छ भनेर दबाब दिनु राम्रो होइन। यसले सही नतिजा आउँदैन साथै गुणस्तरीय जनशक्ति पनि उत्पादन हुँदैन।’ उनले भने। रुचि भए बुझेर शिक्षा विषय पढ्न र यसमा भविष्य खोज्न उनी सुझाउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.