फाइन आर्टमा फाइदैफाइदा

फाइन आर्टमा फाइदैफाइदा

एसईईको रिजल्टसँगै विद्यार्थी तथा अभिभावकहरू निकै अन्योलमा देखिन्छन्। कुन कलेज पढ्ने ? कुन विषय रोज्ने ?  के पढेमा सजिलै जागिर पाउन सकिन्छ ?  यस्तै अनेक प्रश्नका दोधारमा परेका छन् विद्यार्थी। पछिल्लो समय विद्यार्थीले पढ्ने विषय पनि धेरै छन्। काठमाडौंमा टोलैपिच्छे प्ल टु पढाउने कलेज भेटिन्छन्।

स्कुल लेभल पछाडिको पढाइ हाम्रो करियरसँग जोडिने हुनाले यसमा अत्यन्तै ध्यान दिनुपर्ने हुन्छ। विषय छान्दा पछि के कस्तो अवसर छ ?  कुन पेसामा जान सकिन्छ ?  पढाइ पूरा गर्न कति पैसा लाग्छ ?   आफ्नो घरको आर्थिक स्थितिले धान्न सक्छ कि सक्दैन ?  यस्तै अनेक कुरामा विचार गर्नुपर्ने देखिन्छ।

फाइन आर्ट विषय पनि धेरैको रोजाइमा पर्ने गरेको छ। सैद्धान्तिक विषय पढ्दै स्वतन्त्र रूपमा नयाँ सिर्जना गर्न सकिने हुँदा यो विषयमा विद्यार्थीको नजर परेको हो। चित्र बनाउन उमेरले छेक्दैन। सानै उमेरदेखि चित्र बनाएरै पैसा कमाउन सकिन्छ। पढ्दापढ्दै अधिकांश काममा लागिसकेका हुन्छन्। प्लस टु फाइन आर्टमा विशेषत पेन्टिङ, स्कप्चर, अप्लाइड आर्ट, हिस्टोरी अफ आर्टलगायतका विषय अध्ययन गर्नुपर्ने हुन्छ।

नेपालमा काठमाडांै, पोखरा, नेपालगन्ज र धरानलगायतका ठाउँमा एसईई पछि फाइन आर्ट पढाउने कलेजको स्थापना भइसकेको छ। काठमाडौंमा सिर्जना कलेज अफ फाइन आर्ट उत्तरढोका, विजेश्वरी मावि विजेश्वरी, न्यु समिट कलेज मैतीदेवी, एम्स कलेज लगनखेल, बागेश्वरी मावि भक्तपुर, र कुमारीपाटीको एक कलेजमा पनि फाइन आर्टको पढाइ हुन्छ। प्ल टु सकाउन एक विद्यार्थी बराबर कम्तीमा पनि ८० हजारदेखि डेढ लाख खर्च हुने सिर्जना कलेजका भाइस प्रिन्सिपल नवीन्द्रमान राजभण्डारी बताउँछन्। विद्यार्थीको क्षमताको कदर गर्दे केही कलेजले छात्रवृत्तिको व्यवस्था पनि गरेको छ।

बुटवलका सिर्जन श्रेष्ठ फाइन आर्ट विषय लिएर सिर्जना कलेज अफ फाइन आर्टमा कक्षा १२ मा अध्ययन गर्दैछन्। उनी सानैदेखि चित्र कोर्थे। वाल पेन्टिङमा त बुटवल हुँदै चर्चित थिए। चित्र कोर्न नपाएको दिन उनलाई छटपटी हुन्छ। विशेषतः प्रोटेट बनाउनमा आनन्द मान्ने सिर्जन रङ र कुचीमा घण्टौं घोत्लिने गर्छन्। पढाइमा सैद्धान्तिक ज्ञानभन्दा व्यावहारिक सीप धेरै सिक्न पाइने हँदा उनले फाइनआर्ट रोजेका हुन्।

भित्तामा टाँसिएका तस्बिर, विभिन्न चाडपर्व तथा जात्रामा देखाउने कलात्मक चित्रहरू हेरेर हुर्किएकी हुन् भक्तपुरकी सुविस्था कायस्थ। कुची र रङमा बच्चा बेलादेखि नै हात बसाएकी कायस्थ पढाइमा पनि अब्बल थिइन्। एसईईको नतिजापछि आफन्तहरूले उनलाई फाइन आर्ट नपढ्ने सुझाए। रङ र कुचीसँग संगत गर्दा रमाउने कायस्थको मनमा भने फाइन आर्टले डेरा जमाएको थियो। उनले परिवारलाई कन्भिन्स गरिन् र फाइन आर्टमा भर्ना भइन्।

चित्र कोर्ने तरिका सिक्दै पढ्न पाउँदा उनलाई खुब रमाइलो लागेको छ। भन्छिन्, आर्टमा अत्यन्तै राम्रो करियर छ। नामसँगै दाम पनि कमाउन सकिनेमा उनी ढुक्क छन्। पढ्दापढ्दैे उनीहरूलाई कामको प्रस्ताव पनि आउन थालिसकेको छ। पढाइने विषयभन्दा आफ्नो लगाव र मेहेनतमा बढी भर पर्ने पेसा आर्ट भएकाले पनि सिर्जन र कायस्थले यो विषय रोजेका हुन्।

तर फाइन आर्ट पढ्नेलाई स्कोप नै छैन भन्नहरूप्रति कायस्थको चित्त दुखाइ छ। उनी भन्छिन् ‘आम मान्छेले अरू विषय पढ्न नसकेर यो पढेको होला भन्ने सोच्छन् तर यो गलत हो। पढ्दापढ्दै काम पाइने विषय हो आर्ट। आफ्नै मनमोजी पाराले काम गर्न सकिने विषय हो आर्ट।’

नारायणहिटी दरबारको उत्तरढोकाको छेउमै सिर्जना कलेज अफ फाइन आर्टको बोर्ड देखिन्छ। ढुंगा छापिएको बाटो हुँदै कलेज भित्र छिर्न सकिन्छ। कलेजको बाहिरी संरचना सुन्दर देखिन्छ। कतैे माटोका स्क्रप्चर ठड्याइएको छ त कतै पेन्टिङ गरेका चित्रहरू सजाइएको छ। कलेज भित्र कोही नृत्य सिकिरहेका छन् त कोही गीत प्राक्टिस गरिरहेका छन्। कलेज कलामय देखिन्थ्यो।

सिर्जना कलेजका भाइस चेयरम्यान नवीन्द्र राजभण्डारीका अनुसार फाइन आर्ट अन्य विषयजस्तै महŒवपूर्ण विषय हो। जसरी देशका लागि डाक्टर, पाइलट, इन्जिनियर, वकिलहरू आवश्यक हुन्छ त्यसैगरी कलाकार पनि चाहिन्छ। कलाको क्षेत्र व्यापक छ। आर्टलाई व्यक्तिगत एक्सप्रेसन भनिने भए पनि यो समाजको आवाज भएको उनले बताए। चित्रकारका हरेक चित्रमा समाजका दृश्य आउने गर्छ।

फाइन आर्टमा उनले हिस्टी अफ आर्टको अध्यापन गराउने राजभण्डारी आफैं पनि चित्रकार हुन्। फाइन आर्ट विषयको महत्व दर्शाउँदै उनले भने ‘कम्पनीको डिजाइन होस् या व्यापारिक प्रोडक्टको विज्ञापन, ट्याटुमा बनाउने चित्रहरू, इन्टेरियर डिजायन, फेसन डिजाइन, टेक्टाइल डिजाइन हरेक क्षेत्रको डिजाइनको लागि फाइन आर्ट जरुरी छ।

अन्य विषय पढ्नेहरू काम नपाएर बेरोजगार बस्नुपर्ने गरेको सुनाउँदै उनले फाइन आर्ट पढ्नेहरूलाई कहिल्यै पनि कामको अभाव नहुने जानकारी दिए। स्कुलहरूमा आर्ट टिचर, डान्स टिचरहरूको अत्यन्तै माग छ। विज्ञापन एजेन्सी, पब्लिकेसन, कार्टुनको क्षेत्रमा पनि फाइन आर्ट पढ्नेहरूले काम पाउने गरेको उनले जानकारी दिए। नेपालमा बनाइने स्कप्चर, मूर्तिहरूको विदेशमा अत्यन्तै माग भएको बताउँदै नेपाली कलाकारको सिर्जना संसारभर पुगेको जानकारी दिए।

गरेरै सिक्ने हुँदा फाइन आर्ट पढ्न केही खर्चिलो हुने गर्छ। ढुंगाको मूर्ति हुन् या काठका स्कप्चर या चित्रका रङहरू नै किन नहुन् सबै प्रायजसो बाहिरबाटै मगाउनु पर्छ। कच्चा पदार्थ किन्न नै महँगो हुने हुन्छ। चित्र बनाउने तरिका धेरै हुने हँदा कुनै एउटाको आइडिया मात्र ठीक हुँदैन। आर्ट अत्यन्तै व्यापक कुरा भएको हुँदा यसका प्रकार र प्रक्रिया यही नै हो भनेर भन्न सकिन्न। सैद्धान्तिक कुरामा मात्र्रै एकरूपता हुन्छ। अन्य प्रक्रिया विद्यार्थी स्वयम्ले सिर्जना गर्छ। हरेकको फरकफरक आयाम र दृष्टिकोण हुन सक्छ।

चित्रकारितामा सैद्धान्तिक तथा व्यावहारिक रूपमा दक्ष बन्न पनि फाइन आर्टको पढाइ जरुरी हुन्छ। प्लस टु पढ्नेले आर्टको बेसिक ज्ञान सिक्न सक्छ। आर्ट गहिराइमा पढ्नको लागि थप अध्ययन चाहिन्छ। विशेषत आर्टमा रुचि हुनेहरूले यो विषय रोज्छन्। फाइन आर्ट पढ्दा पढ्दै काम पाउछन्। सिर्जनशील र मेहनती विद्यार्थीले प्रशस्तै पैसा कमाउन सक्छ। सिर्जना कलेजमा फाइन आर्टको अलावा म्युजिक र डान्समा पनि स्नातकसम्म अध्ययन हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.