स्वर्गजस्तो कैसाङ खर्क, जहाँ खम्पा बस्थे
मुस्ताङ : स्वर्गजस्तो अत्भुत गराउने ठाउँ कैसाङ खर्क। जहाँ ३० को दशकअघि तिब्बतीयन खम्पाको बसोबास थियो। कैसाङ खर्क जोमसोमदेखि पश्चिमपट्टी निलगिरीको फेदैमा पर्छ।
निकै प्राकृतिक सौन्दर्यताले भरिएको कैसाङ खर्क आकर्षक गन्तव्य भएपछि प्रचार-प्रसारको अभावमा ओझेलमा छ। खर्ककै शिरमा ठिङ्ग उभिएको निलगिरी हिमाल बिराजमान छ। चारैतिर हरिया खर्कले कस्को मनलाई लोभ्याउदैन होला र। कैसाङ खर्ककै दैलोबाट देखिने नमखुलेक वरपर याक-चौरीको बथान सलबलाउँदै गरेको र सल्ला र धुपीको सुन्दर बुट्यान देख्दा लाग्छ साँच्चै यहाँ स्वर्गको एक टुक्रा केही चिज छ।
जोमसोमदेखि १० किलोमिटर दूरी छ कैसाङ खर्क। यही प्राकृतिक बरदान पाएको यो क्षेत्रमा कस्को आँखा नलाग्ला र। कैसाङ हुँदै संसारकै अग्लो उचाईमा अवस्थित तिलिचो लेक पुग्न सकिन्छ। ठिनी हुँदै तिलिचो जाने केही पदमार्ग भएपनि यही खर्कबाट पनि पर्यटक तिलिचो उक्लन्छन्। खकै हुँदै नमखु लेकबाट मेशोकोन्दोपास पुग्न सकिन्छ। हिमचितुवा , कस्तुरी र नाउरको मुख्य बासस्थान रहेको यस खर्क एक्यापको संरक्षितक्षेत्र पनि हो।
कसरी पुगे खम्पा कैसाङ खर्क ?
स्वशासित तिब्बत राज्यमाथि चीनले जब अधिनमा लियो तब त्यहाँका केही तिब्बती चीनको उपनिवेस ग्रहण गर्न नसकी उत्तरतर्फबाट नेपाल पसे। यसरी नेपाल पसेका खम्पाले मुस्ताङलाई समय आधार इलाका बनाएको भन्ने मुस्ताङीको सम्झना छ।
तिब्बतबाट पलायन भएका उनीहरु मुस्ताङका विभिन्न स्थानमा छरिएर रहे। तर , छरिएका उनीहरुको एकिकृत राजधानी केन्द्र बनाए कैसाङ खर्कलाई। यो खर्क मुस्ताङको घरपझोङ ५ ठिनी पारी पर्छ। २०३२ साल अघि यहाँ खम्पाले अघोषित अखडा जमाएर बसे। यहाँ उनीहरुले सुरक्षित स्थानको अनुभुति गर्ने र अघोषित तथा सैन्य अभ्यास गर्दथे भन्ने पनि भनाई छ।
सरकारले खम्पा बिद्रोही विस्थापित गरेपछि यहाँ नेपाली सेनाको सैन्य तालिमकेन्द्र बनायो। जहाँ नेपाली सेनालाई निरन्तर सैन्य अभ्यासको तालिम गराइन्छ। करिब ०१७ सालको सेरोफेरोमा तिब्बती खम्पा मुस्ताङ प्रवेश गरेको भन्ने मुस्ताङी बताउँछन्। सरकारबाट विस्थापित खम्पा केही भागे भने केही मुस्ताङको छैरो , पोखराको हेमजा, पृथ्वीचोक र छोरेपाटनलगायतका स्थानमा शरणार्थीका रुपमा बसेका छन्। सुन्दर हिमाल , सन्तुलित हावापानी, सबै किसिमको पूर्वाधार रहेकाले कैसाङ खर्क उनीहरुको रोजाइमा परेको हो।