ग्लोबल आइएमई र जनता बैंकबीच मर्ज सहमति
काठमाडौं : ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल मर्जर हुने भएका छन्। बिग मर्जरको चर्चा चलिरहेका बेला यी दुई बैंकबीच शुक्रबार सहमति भएको हो। नेपाल राष्ट्र बैंकले मर्जरका लागि उपयुक्त पाट्नर खोज्न आग्रह गरिरहेको थियो। आउँदो मौद्रिक नीतिभन्दा अघि नै मर्जरमा जानलाई दिएको सुझाव अनुरुप ग्लोबल र जनताले मर्जरमा जाने सहमति गरेका हुन्।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बिग मर्जर तथा फोर्सली मर्जरको अभियान चलाउने नीति अवलम्बन गर्ने योजना अघि सारेको छ। मर्जरका लागि सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका तर्फबाट अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गरे। सहमतिअनुसार बैंकको नाम ग्लोबल आइएमई रहने छ भने प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर हुने छन्।
ग्लोबल आइएमईका कार्यबाहक सीइओ महेश ढकाल डेपुटी हुने सहमति भएको छ।जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवरले सेयर स्वामित्वको विषय निर्णय हुन बाँकी रहेको बताए। उनले दसैंअघि नै मर्जर भइसक्ने बताए।'सकेसम्म चाँडो मर्जर हुने छ, आवश्यक प्रक्रिया छिट्टै पूरा गर्ने छौं,'उनले भने।