फेरि आमाको हत्या ! मर्नुअघि आमाले छाेरालाई खुवाएकी थिइन् भालेको मासु र साग
राजविराज : भक्तपुरमा एक महिलाले पैसा दिएर आमाको हत्या गरेको साता दिन नपुग्दै सप्तरीमा पनि यस्तै घटना दोहोरिएको छ । बिहीबार साँझ एक महिलाको हत्या आफ्नै छोराले गरेको घटना सार्वजनिक भएको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका–१ चहकास्थित ६४ वर्षीया धनमाया पुलामी मगरको आफ्नै छोराले हत्या गरेको भन्दै सप्तरी प्रहरीले शुक्रबार अभियुक्तलाई सार्वजनिक गरेको छ ।
हत्या गरेको अभियोगमा पक्राउ परेका मृतककै छोरा ३४ वर्षीय रिठ्ठे भनिने जंगबहादुर पुलामी मगरलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले हत्या आरोपमा बिहीबार साँझ खुकुरीसहित उनकै छोरा जंगबहादुरलाई पक्राउ गरिएको जानकारी दिए ।
दुबै हातमा खुकुरी लिएर धम्क्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भेडियाको टोलीले उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक प्रकाश बस्नेतले जानकारी दिए । प्रहरी निरीक्षक बस्नेतका अनुसार छोराले इच्छा गरेपछि बिहान घरमा पालेको कुखुराको भाले काटेर आमाले नै पकाएर खुवाएकी थिइन् ।
छोराले साग पनि खाने भनेपछि आमाले सकि–नसकी साग टिपेर ल्याइ पकाएर खुवाएको मृतकका श्रीमान ६५ वर्षीय लोकबहादुर पुलामीले बताए । धनमायाले घरमा खैनी र मोबाइलमा रिचार्ज सकिएको भनेपछि लोकबहादुर बजार निक्लिएका बेला हत्याको घटना भएको उनी बताउँछन् ।
आरोपितलाई शुक्रबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय कडरबोनाको थुनमा हिरासतमा राखिएको छ । खुकुरी प्रहारले गर्धनसहित टाउको पछाडी तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा काटिएको रक्ताम्य अवस्थामा धनमायाको शव घरमै फेला परेको थियो ।
शवको पोष्टमार्टम रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पताल लहानमा भएको छ । जंगबहादुर मनोरोगी भएको र नियमित मादक पदार्थ सेवनको अम्मली रहेको बताएका गाउँलेहरुले घटनाका बेला पनि उनले मादक पदार्थ सेवन गरेको बताए ।
मनोरोगी भएकै कारण आठ वर्ष अघि जंगबहादुरकी श्रीमति १३ वर्षीय एक छोरा र १० वर्षीय छोरासहित घर छाडेर उदयपुरको बतासेस्थित माइत बसेको छिमेकीहरु बताउँछन् ।