प्रदेश नं १ का युवा वैज्ञानिक पुरस्कृत
विराटनगर : प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रदेश नं १ का उत्कृष्ट युवा वैज्ञानिकहरुलाई पुरस्कृत गरेको छ। कृषि, विज्ञान र इन्जिन्यरिङ विधाका उत्कृष्ट युवा वैज्ञानिकहरुलाई सामाजिक विकास मन्त्रालयले पहिलो पटक शुक्रबार नगद पुरस्कारसहित पुरस्कृत गरेको हो।
तीनै विधामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार, तेस्रो हुनेलाई २० हजार र सान्त्वनालाई १० हजारसहित पुरस्कृत गरिएको हो। विराटनगरको आर्दश विद्यालयमा शुक्रबार भएको प्रर्दशनीमा उत्कृष्टहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले पुरस्कार र प्रमाणपत्र वितरण गरेको थियो।
युवा वैज्ञानिकहरुको प्रर्दशनीको अवलोकनपछि पुरस्कार वितरण गर्दै मन्त्री घिमिरेले युवाहरुमा प्रतिभा, सिर्जना र जोस, जाँगरको खानी पाएको बताउँदै यी प्रतिभाको प्रयोग गर्न सके मानिसको जनजीवन सहज हुने धारणा राखे। तीन विधामा विभिन्न २१ वटा समुहले प्रस्तुति दिएका थिए। ती प्रस्तुतिमा कृषितर्फ कविन्द्र भट्टराई प्रथम, आशिष फुयाल दोस्रो, अरुण कटुवाल तेस्रो र कृष्ण पोखरेल सान्त्वना भए।
विज्ञान विधामा डाक्टर सुजितकुमार साह प्रथम, पवन साह दोस्रो, विश्वास गुरागाईँ तेस्रो र रोहितकुमार देव चौथो भए। इन्जिन्यरिङ विधामा सुमन खनाल, असोक आङ्देम्बे र एलिसा प्रधानको समुह प्रथम, सरोज दाहाल, बरुणकुमार मुल्मी र क्षितिज गौतमको समुह दोस्रो, शसांक पोखरेल तेस्रो र राजेन्द्रकुमार लिम्बू चौथो भए। प्रर्दशनीमा १८ देखि ४० वर्षसम्मका युवाहरुले बनाएका वैज्ञानिक खोजमुलक सामग्री प्रस्तुत गरिएको थियो।