रुचाइएका रेफ्री
नेपाली फुटबल क्षेत्रमा रुचाइएका रेफ्री हुन्, लव खत्री। अन्तर्राष्ट्रिय र घरेलु मैदानमा ‘जज’का रूपमा अनवरत १८ वर्ष खटिरहे, लव। नेपालमा हुने पछिल्ला गोल्डकपमा उनी नपुगेको ठाउँ सायदै होला। रेफ्री अपजसे पेसा हो। राम्रो खेल खेलाए पनि हार्नेले असन्तुष्टि त जनाइहाल्छ। तर लव भने फरक थिए। रेफ्री भईकन पनि विवादरहित खेल खेलाउन सफल थिए, लव। ‘धेरै खेल खेलाएँ। कति त झगडा गर्ने टिम पनि थिए। तर रेफ्री करिअरमा विवाद भएको थाहा छैन’, उनी भन्छन्, ‘त्यसैले त म पनि विवादरहित भएँ। विवादित खेलाएको भए कहाँ मलाई फुटबलले सम्झने थियो होला र !’
मैदानसँग लवको ‘लभ’ सानै उमेरबाट पर्यो। तर २०४६ पछि मात्रै उनी व्यावसायिक फुटबलरका रूपमा मैदान छिरे। कहिले खेलाडी त कहिले रेफ्रीको भूमिकामा उनले २८ वर्ष मैदान र बलसँग बिताए। तर त्यही मैदानसँग पौंठेजोरी खेल्ने नाता भने १६ पुस २०७४ बाट टुटाए, अर्थात् पाँचथर गोल्डकपमा रेफ्रीको रूपमा अन्तिम सिट्ठी फुके।
मैदानबाट बिदा लिए पनि फुटबलप्रतिको झन्नै तीन दशकको प्रेमलाई भने चटक्कै कहाँ बिर्सन सक्थे र ! रेफ्रीबाट सन्न्यासपछिको रिटायर्ड लाइफ पनि फुटबलबाट टाढा हुन सकेनन्, उनी। आफूजस्तै रेफ्री उत्पादनमा आफ्नो रिटायर्ड लाइफ खर्चिरहेका छन्, उनी।
‘फुटबलप्रतिको प्रेम नै यस्तै रहेछ’, उनी भन्छन्, ‘चटक्कै छाड्न नसकिने। अहिले रेफ्री ट्रेनिङ गराइरहेको छु।’
१८ वर्षे रेफ्री जीवनमा आफूले सँगालेका अनुभव उनी रेफ्री बन्न चाहने प्रशिक्षार्थीलाई सिकाइरहेका छन्। ‘रेफ्रीले सधैं धेरै विचार गरेर खेल खेलाउन सक्नुपर्छ। मैदान छिरेपछि दिमाग पनि उत्तिकै चलाउनुपर्छ’, उनी भन्छिन्, ‘हाम्रो एउटा गल्तीले खेलाडीको जीवन डुब्छ। क्लबको पनि करोडौं खर्च डुब्छ। यसमा हामी सचेत रहनुपर्छ।’
०० अनि सुरु भयो रेफ्रीको यात्रा
सानै उमेरदेखि फुटबलप्रतिको मोह। विद्यालयमा खेल्दाखेल्दै कति बेला फुटबलमा लत बस्यो, लवलाई राम्रोसँग याद छैन।
हेल्गर ओभरम्यान यू–१६ बाट उनी फुटबलसँग व्यावसायिक नाता जोड्न पुगे। त्यसपछि लवले आफूलाई निखार्दै अघि बढे। कक्षा ९ मा अध्ययन गर्दागर्दै क्लबमा आबद्ध भएर खेल्न थाले लवले। ‘ए’ डिभिजन क्लबबाट खेले, उनले। जावलाखेल युथ क्लब, थ्रीस्टार, देशबन्धुलगायत क्लबको जर्सी लगाउँदै उनले एक दशक खेलाडीको रूपमा मैदानमा बिताए।
तर खेलाडीका रूपमा त्यति चर्चा भने पाएनन्। ‘सायद सिनियर खेलाडी धेरै भएर होला’, उनी यसै भन्छन्। चर्चा खासै नभए पनि फुटबल खेलबाहेक अरू केही सोचेनन्, लवले।
तर जीवन कहाँ सोचेजस्तो हुन्छ र ! कहिलेकाहीँ जीवनमा नसोचेको घटना भइदिन्छ। साना दुर्घटनाले पनि जीवनको गति रोकिदिन्छ। तर यस्ता घटनाले नयाँ अवसरको बाटो पनि त खुला गरिदिन्छ। त्यस्तै भयो, लवको जीवनमा पनि। खेलमा संघर्ष गरिरहेकालाई एकपटक राष्ट्रिय टोलीबाट खेलौं भन्ने इच्छा हुन्छ। लवमा पनि थियो।
तर राष्ट्रिय टोलीको जर्सी नलगाई २०५५ सालतिर उनले खेलाडीका रूपमा सदाका लागि मैदान छाड्नु पर्यो। सन् १९९७ मा ‘सिलिगुडी लिग’ खेल्न उत्साहसाथ सिलिगुडी पुगेका थिए, उनी। त्यहाँ देशबन्धु क्लबको जर्सीमा खेलेको खेल नै उनका लागि अन्तिम भयो। अर्थात् खेलाडीको उनको परिचयमा पूर्णविराम लाग्यो। ‘सेकेन्ड लास्ट म्याचमा होला, मेरो देब्रे खुट्टामा चोट लाग्यो’, उनी भन्छन्, ‘त्यसपछि खेलाडीका रूपमा ग्राउन्ड कहिल्यै फर्किइनँ।’
क्लबले उनलाई उपचार गरिदिन्छु भन्दै थियो। तर उनले काठमाडौं नै गएर एकपटक देखाउने अड्डी कसे। ‘क्लबले राम्रै डाक्टरकहाँ देखाउँछु, यहीँ बस भन्दै थियो’, लव थप्छन्, ‘तर म मानिनँ। काठमाडौं आएँ।’ डाक्टरले उनलाई फुटबल नखेल्न सुझाव दिए। एउटा खेलाडीलाई फुटबलबाट टाढा बस्न भन्दा कस्तो लाग्यो होला ? हामी अनुमान मात्रै गर्न सक्छौं। ‘डाक्टरले क्विक टर्न गर्न समस्या हुन्छ, कुद्न केही हुँदैन भने’, उनी भन्छन्, ‘त्यसपछि मेरो जीवन नयाँ मोडमा पुग्यो।’
एउटा खेलाडीले खेलबाहेक जीवनमा अरू पेसा सायदै सोच्छ होला। उनले पनि फुटबलबाहेक केही सोचेका थिएनन् रे ! त्यसैले त फुटबलबाट टाढा रहन सकेनन्, लव।
‘उमेरका कारण फुटबल जीवनबाट सन्न्यास लिने–लिने समयमा आइपुगेको थिएँ। त्यही बेला घाइते भएँ’, उनी भन्छन्, ‘रेफ्री हुन पनि मलाई सानैबाट इच्छा थियो। त्यसैले रेफ्री बन्ने निर्णयमा पुगेँ।’ त्यसपछि लवले रेफ्री कोर्स गरे। घाइते भएको दुई वर्षमा नयाँ उत्साहका साथ मैदानमा उत्रिए। तर खेलाडी भएर हैन, रेफ्री भएर। लवको परिचय फेरियो। परिचयसँगै जिम्मेवारी पनि।
उनले रेफ्री जीवन ‘सी’ डिभिजनको खेलबाट थाले। ‘त्यो बेला मभन्दा सिनियर रेफ्रीलाई लाइन दिँदा मलाई सेन्टर दिइयो’, उनी सम्झन्छन्, ‘पहिला त क्लबस्तरीय खेलहरूमा धेरै झगडा हुन्थ्यो। तर मैले ९० मिनेट सहजै खेलाएँ। सबैले स्यावास् ! भन्नुभयो। त्यसपछि त झन् मलाई जोश आयो।’ त्यसपछि करिअरमा कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन, लवले।
पछि ‘ए’ डिभिजनको खेल खेलाउने प्रस्ताव आयो। यो जिम्मेवारी पनि सहजै पूरा गरे। त्यसपछि लवले धेरै घरेलु प्रतियोगिता खेलाए। ‘त्यसपछि त मैले सी डिभिजन खेलाउनै परेन’, उनी भन्छन्, ‘त्यसपछि मैले काठमाडौंमा राम्रै जमाएँ। सिनियर दाइहरू नहुँदा पनि मैले मौका पाएँ।’
सन् २००८ मा उनीमाथि जिम्मेवारी थपियो। लवले फिफा रेफ्रीको परिचय बनाए। फिफाको ब्याच पाएपछि पहिलो खेल प्रतिष्ठित आहा रारा गोल्डकपको उद्घाटन खेलमा सिट्ठी फुक्ने मौका पाए। त्यसपछि लगातार ८÷१० पटक यो प्रतियोगिता खेलाइसकेका छन्, लवले।
त्यसपछि उनले दर्जनौं अन्तर्राष्ट्रिय खेलमा ह्विसिल फुकिसकेका छन्। धेरै अन्तर्राष्ट्रिय मैदानमा बल, कार्ड, सिट्ठी, घडी बोकेर मैदान छिरेका छन्, लव। फिफाको ब्याच पाएपछि पहिलोपटक उनले अन्तर्राष्ट्रिय स्तरको प्रधानमन्त्री कप फुटबल प्रतियोगितामा पाकिस्तान र श्रीलंकालाई खेलाए।
१८ वर्षे रेफ्री जीवनबाट उनले पाँचथरमा भएको गोल्डकपबाट १६ पुस २०७४ मा बिदा लिए। ‘संयोग भनौं या भाग्य, फिफा रेफ्री भएपछि पहिलो खेल पोखरामा उद्घाटन खेल खेलाएँ। र अन्तिम खेल पाँचथरमा फाइनल खेलाएँ’, उनी भन्छन्, ‘रेफ्रीहरूको जीवनमा यस्तो कमै हुन्छ।’
रेफ्री भएपछि सबै प्रकारका क्लब र खेलाडीको सामना गर्नुपर्छ। कोही गल्ती सहजै स्वीकार गर्ने हुन्छन् त कोही रिसाहा। रेफ्री भएपछि खेलाडी हेरेर व्यवहार गर्न सक्नुपर्ने उनको बुझाइ छ। ‘रेफ्रीले खेलाडीअनुसारको व्यवहार गर्नुपर्छ। कसैसँग कठोर रूपमा प्रस्तुत हुनुपर्छ त कसैलाई सामान्य रूपमै सम्झाए हुन्छ’, उनी भन्छन्, ‘मैले रेफ्री करिअरमा राम्रै खेलाएर होला, अहिले कार्यक्रमतिर मन पराएका रेफ्री भनेर सम्बोधन गर्छन्। त्यो बेला गर्वले छाती फुल्छ।’
तर घरेलु प्रतियोगितामा ‘दाइ’ भनेर पेल्न पनि खोज्थे। मैदानमा लव कठोर रूपमा प्रस्तुत भइदिन्थे। ‘कोहीले त दाइ भनेर पेल्थे। म बाहिर सबै खेलाडीलाई साथीको व्यवहार गर्थें तर मैदानमा म जज हुँ। काकाको छोरा भए पनि मैले न्युट्रल डिसिजन दिनुपर्छ भन्ने प्र्रण गर्थें’, उनी भन्छन्, ‘त्यसैले लव खत्री मैदानमा जाँदा अब दुई टिमको झगडा हुन्छ भनेर नसोच्दा हुन्छ भन्ने धेरै हुनुहुन्थ्यो।’ कसैलाई विभेद नगरेका कारण त उनले रेफ्री करिअरमा खेलाडीलाई अनगन्ती रातो, नीलो कार्ड दिएका छन्। ‘मैले रातो कार्ड दिएको खेलाडीले पनि भोलिपल्ट सरी भन्थ्यो’, लव भन्छन्, ‘फेयर डिसिजन भएर होला, हामीले को खेलाडीभन्दा पनि उनीहरूको खुट्टा हेर्नुपर्छ। जर्सी हेर्नुपर्छ।’ त्यसैले त रेफ्रीलाई ‘थ्याङ्स लेस जब’को संज्ञा दिन्छन् उनी।
रेफ्रीबाट सन्न्यास लिएपछि पनि उनी फुटबलको प्रेमबाट टाढा रहन सकेका छैनन्। अहिले उनी आफूजस्तै कुशल रेफ्री उत्पादनमा लागेका छन्। उनी एन्फासँग आबद्ध भएर अहिले सातै प्रदेशमा रेफ्री प्रशिक्षण गराउँदै छन्। एन्फाको वार्षिक क्यालेन्डरअनुसार हालसम्म सात प्रदेशमध्ये अब प्रदेश ३ र ४ मात्रै बाँकी छ। ‘रेफ्रीले खेलभरि आफ्नो परिवार, घरव्यवहार बिर्सनुपर्छ। खेलप्रति केन्द्रित हुनुपर्छ’, उनी भन्छन्, ‘यस्तै अब्बल रेफ्री उत्पादन गर्ने इच्छा छ अब।’