युवाका लागि ‘ग्लोकल टिन हिरो’
काठमाडौं : किशोरकिशोरीमा भएका क्षमता प्रस्फुटन गरी समाजमा परिचित गराउन ‘वाइवाइ ग्लोकल टिन हिरो’ कार्यक्रम आयोजना हुँदैछ। ग्लोकल प्रालिको आयोजनामा सन् २०१५ देखि सुरु भएको यो कार्यक्रमको पाँचौं शृंखलाको अहिले आवेदन खुला गरिएको छ। यो कार्यक्रममा सहभागी हुन चाहनेले यही जुलाई ३१ सम्म आवेदन दिन सक्नेछन्। सहभागिताका लागि धधध।लभउब।िनयिअबतिभभलजभचय।अयm मा आवेदन दिने व्यवस्था गरिएको छ। आवेदन दिन शुल्क लाग्दैन। १३ वर्षदेखि १९ वर्षका युवायुवतीले आफूले गरेको कामसहित सहभागिता जनाउन सक्ने आयोजकको भनाइ छ।
किशोरकिशोरीमा निहित उत्साह, रचनात्मक काम गर्ने चाहना पहिचान गरी उनीहरूमा उद्यमी सोचाइको विकास गर्न कार्यक्रम सुरु गरिएको ग्लोकल प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक आशिष ठाकुरले बताए। १३ वर्षदेखि १९ वर्ष उमेरसमूहका किशोरकिशोरीले पढाइका अलावा समाजमा प्रभाव पार्ने कुनै काम गरेका छन् भने उनीहरूले कामको जानकारीसहित यो कार्यक्रममा भाग लिन सक्नेछन्। उनीहरूको काममा थप प्रोत्साहन दिन यो कार्यक्रमले सहयोग गर्ने ठाकुरले बताए।
ग्लोकल टिन हिरोकी संयोजक काजोल झा ठाकुरका अनुसार १३ वर्षदेखि १९ वर्षका युवायुवतीले गरेको कामको मूल्यांकन गरिन्छ। ‘आगामी दिनमा उक्त व्यक्तिले समाजमा अझ बढी सेवा प्रदान होस् भन्ने उद्देश्यका साथ उसलाई सबैमाझ चिनाउन कार्यक्रमले प्लेटफर्म दिनेछ’, काजोलले भनिन्।
२०१५ मा ग्लोकल टिन हिरो कार्यक्रम सुरु भएपछि आयोजक टिम विभिन्न जिल्लामा गएर टिनएजरका काम नियाल्दै आएको छ। काजोलका अनुसार उनीहरूले फिल्ड भिजिटको क्रममा धेरै युवा सामाजिक काममा सहभागी भएको पाए। उनीहरूले युवाहरू सामाजिक विकृतिविरुद्ध काम गरिरहेको भेट्टाए।
समर्पित र रचनात्मक किशोरकिशोरीको पहिचान उनीहरूलाई हौसला प्रदान गर्ने देशकै पहिलो कार्यक्रम रहेको आयोजकको दाबी छ। पहिलो कार्यक्रममा नवलपरासीकी १७ वर्षीया बालअधिकार अभियन्ता विपना शर्माले ग्लोकल टिन हिरोको टाइटल जितेकी थिइन्। उनी अहिले पनि बालअधिकारकै क्षेत्रमा काम गरिरहेकी छन्। यस्तै मकै छोडाउने मेसिन निर्माण गर्ने सन्तोष लामिछाने र दाङका १८ वर्षीय सामाजिक कार्यकर्ता सचिन डाँगी क्रमशः २०१६ र २०१७ मा पुरस्कृत भए। रुकुमकी १७ वर्षीया सामाजिक कार्यकर्ता प्रशंसा केसी २०१८ को ग्लोकल टिन हिरोकी विजेता हुन्। उनले वैवाहिक बलात्कार, बालविवाह र जबर्जस्ती विवाहविरुद्ध रुकुममा बसेर काम गर्दै आएकी थिइन्।
यस वर्ष देशका विभिन्न ठाउँबाट किशोरकिशोरीलाई कार्यक्रममा सहभागी गराउने उद्देश्यले ३८ सहर, विभिन्न स्कुल कलेजका ८ देखि १२ कक्षासम्म पढ्ने ८० हजार विद्यार्थीसँग भेटेर छलफल गरिएको छ। पहिलो चरणमा प्राप्त आवेदनबाट अन्तर्वार्ता र दस्तावेजको आधारमा उत्कृष्ट २० छनोट गरिनेछ। त्यसपछि उनीहरूको कामको सुरुआत र प्रभावका आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ। टप ६ मा परेका सहभागीलाई आयोजकले काठमाडौं बोलाउनेछ। एक हप्तासम्म खाने, बस्नेलगायत सुविधा उपलब्ध गराएर वर्कसप र तालिममा सहभागी गराइने छ।
अन्तिम चरणमा पुगेका ६ जनाको व्यक्तित्व, विषयगत ज्ञान र दूरदर्शन मापनका लागि अन्तर्वार्ता हुनेछ। जुरी मेम्बरले छनोट गरेका उत्कृष्टलाई २०१९ को विजेता घोषणा गरिनेछ। यस वर्षको ग्लोकल टिन हिरोको निर्णयकमा अम्बुज सिंह, अनिल चित्रकार, राहुल चौधरी, रीतु वैद्य, उज्ज्वल श्रेष्ठ र अदुब्लाह टन्सर केसीसी रहने छन्।
आशिषले ग्लोकल टिन हिरोको विगत चार वर्षमा राम्रो सोच र क्षमता भएका युवा सहभागी भएको बताए। उनले भने, ‘किशोरकिशोरीसँग विभिन्न क्षमता छ, उनीहरू समाज र राष्ट्रको विकासका लागि प्रभाव पार्ने कार्यक्रम गर्दै आएका छन्, तर उनीहरूको क्षमता सार्वजनिक गर्ने मञ्च छैन।’ किशोरकिशोरीलाई आफ्नो र देशको विकास गर्न मञ्च प्रदान गर्ने उद्देश्यका साथ ग्लोकल टिन हिरो सुरु गरिको उनले बताए।
ग्लोकल टिन हिरो २०१९ को पुरस्कार वितरण समारोह आउँदो सेप्टेम्बर १ मा राजनीतिज्ञ, कलाकार, उद्योगी, युवा नेतालगायत दुई सय ५० ख्यातिप्राप्त व्यक्तित्वको उपस्थितिमा हुने पनि उनले बताए।
कलेज पढ्दादेखि नै युवा अधिकारको क्षेत्रमा रुचि राख्ने आशिष ग्लोकल टिन हिरोका कल्पनाकार हुन्। युवालाई साथ लिएर उनीहरूकै क्षेत्रमा धेरै काम गर्न सकिन्छ भन्ने उनलाई लाग्थ्यो। कलेज पढ्ने नजिकका साथीसर्कल मिलेर यो कार्यक्रम गर्ने निर्णय गरेका थिए उनले।
यो कार्यक्रमसँगै ग्लोकल अन्तर्राष्ट्रिय टिन सम्मेलनको तेस्रो संस्करण पनि आयोजना हुँदैछ। सम्मेलनमा जापान, अर्जेन्टिना, भियतनाम, बंगलादेश, अमेरिका, भारत, नेपाललगायत देशका किशोरकिशोरीले आफ्ना विचार, अनुभव तथा भोगाइमाथि छलफल हुनेछ। सहभागीले सम्मेलनबाट विभिन्न देशका साथीसँग ज्ञान र अनुभव बाँड्ने मौका पाउनेछन्।