फेवा किनारमा चरा उत्सव (फोटो फिचर)
पोखरा : चरा संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले पोखराको फेवाताल किनारमा चरा उत्सव भइरहेको छ। फेवाताल किनारमा ६६ प्रजातिका चराका तस्बिर पनि राखिएको छ।
३६ जना फोटो ग्राफरले खिचेका १२० चरा र सिमसार क्षेत्रका फोटा उत्सवमा राखिएको हो। उत्सवमा वन विज्ञान अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीहरूले संरक्षण नृत्य प्रस्तुत गरेका छन् भने विद्यार्थीले पत्थरमा कुदेका चराका चित्र पनि उत्सव घुम्न आउनेहरूका लागि आकर्षण बनेका छन्।
पछिल्लो समयमा प्राकृतिक बासस्थान सिमसार, पानीका स्रोतहरू, अग्ला रुख सिमलको विनास, ग्लोबल वार्मिङ लगायतका कारण पंक्षी संकटमा पर्दै गएका छन्। नेपालमा हिमाली क्षेत्रको पदयात्रा, पहाड र तराईका वन्यजन्तु अवलोकन गर्न आउने पर्यटकमा ५० प्रतिशत पर्यटकले चरा पनि अवलोकन गर्ने गर्दछन्।
चरामात्र हेर्न आउने पर्यटकको संख्या एक प्रतिशत पनि अली नपुग्ने चरा विद हेमसागर बराल बताउँछन्। पर्यावरण संरक्षण गर्दै पर्यापर्यटनको विकास गर्न सके पर्यटन क्षेत्रबाट धेरै लाभ लिन सकिने उनले बताए। प्राकृतिक स्रोतको संरक्षणकालागि पनि त्यस आसपासका नागरिकले पर्यटनबाट लाभ लिन सक्नु पर्ने संरक्षणकर्मी राजु आचार्य बताउँछन्।
चरा उत्सवमा संरक्षणकर्मी, चराविद, चरा अनुसन्धानकर्मी सहभागी छन्। चराविद्, विज्ञ र चराप्रेमीको छलफलबाट चरा, चराको बासस्थान संरक्षण र पर्यटन विकासका लागि पोखरा घोषणा समेत गरिने समाजका अध्यक्ष घिमिरेले बताए।
नेपालमा पर्यटकको बसाई अवधि घट्दै गएको अवस्थामा चरा मन पराउने पर्यटक आकर्षित गरी पर्यटकको बसाई लम्ब्याउन सकिने पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन्। पर्यटकको आगमन बढाउन र चरा संरक्षणमा सरोकारवालालाई ध्यानाकर्षण गर्न पोखरामा चरा महोत्सवको आयोजना गरिएको उनले बताए। चरा हेर्न आउने पर्यटक आफूले हेर्न खोजेको चरा अवलोकन गर्न एक महिनासम्म पनि बस्ने र उनीहरूले खर्च पनि धेरै गर्ने भएकाले चरा संरक्षण गर्दै चरा पर्यटनको विकास गर्नुपर्ने उनले सुनाए। पोखरा पंक्षी समाजको आयोजनामा बिहीबादेखि दोस्रो नेपाल चरा उत्सव भएको हो।
९ तालको सहर पोखरा र वरपर ४६७ प्रजातिका चरा रेकर्ड भएका छन्। कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित माछापुच्छ्रे हिमालको फेदक्षेत्रमा पाइने कालिज प्रजातिका चरा डाँफे, मुनाल हेर्न सन् १९८० देखि सन् २००३ सम्म पर्यटक आउने गर्दथे। तर अहिले यस्ता पर्यटकको नयाँ गन्तव्य बनेको छ भुटान। सन् २००३ पछि भने यहाँ विदेशी पर्यटक आउन छाडेकोले त्यस्ता पर्यटक ल्याउन समते पहल गर्नुपर्ने पोखरा पंक्षी समाजका अध्यक्ष घिमिरे बताउँछन्।