छुसाङ–चले पुल १ महिनाभित्र सक्ने सहमति
जोमसोम : मुस्ताङको वारागुङ मुक्ति क्षेत्र छुसाङ–चैले जोड्ने पक्की पुलको काम १ महिनाभित्रै सक्ने सहमति भएको छ। बिहीबार निरीक्षणका क्रममा स्थानीय र जनप्रतिनिधिबीच पुलको काम सुरु गर्न २ बुँदे सहमति भएको हो। छिटो पुल सञ्चालनमा ल्याउन अधुरा कामलाई पूर्णता दिने सहमति भएको संघीय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए।
नदी कटानले अवरुद्ध छुसाङ–चैले पुल एक महिनाभित्रै सञ्चालन गर्न मुस्ताङका संघीय सासद तुलाचनसहितको जनप्रतिनिधि टोली कस्सिएका हुन्। बिहीबार उनीहरूले पुल निरीक्षणका क्रममा छुसाङबासीलाई सहमतिमा ल्याएपछि समस्या समाधान भएको हो। वर्षायामको समय कालिगण्डकी नदीको सतह ठूलो हुनाले यातायातका साधन गन्तब्यमा पुग्ने अवस्था थिएन। यसलाई ध्यानमा राख्दै पुलको बाकी कामलाई एक महिनाभित्रै सकेर दोहोर आवगमन सूचारु गरिने सांसद तुलाचनले बताए।
सरोकारवालाबीच भएको सम्झौतामा कालिगण्डकी नदीलाई पुल भित्रैबाट लैजानै गरी च्यानलाइज गरी नदी ट्र्याक खोल्ने र पुलको बायातर्फको एप्रोज सडक विस्तार गर्ने सहमति जुटेको हो। हिउँदयाममा उपल्लो मुस्ताङ जाने सवारीसाधनलाई बर्खायाममा कालिगण्डकी नदी बाधक बन्दै आएको छ। मुस्ताङ गेटमा पुल नहुँदा लामो दुरीका सवारीसाधन ४ महिनासम्म आउजाउ गर्नसक्ने अवस्था छैन।
पुलको काम १ महिनामै पूरा गर्ने सहमति भएको अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं स्थानीय उक्तम गुरुङले बताए। निर्माणाधीन छुसाङ पुल छोटो भएकाले १ सय २० मिटरको बनाउनुपर्ने गाउँलेको माग रहेको उनले सुनाए। करिडोरले ११ मिटरको सडक भएकाले भावी दिनमा ११ मिटरकै पुलको आवश्यकता पर्ने जनाएको छ। उक्त पुल उत्तरी कोरला नाका र उपल्लो मुस्ताङ जोड्ने महत्वपूर्ण पुल मानिएको छ।
चैले–छुसाङ मोटरेबल पुल २०७१ साल असारमा सुरु भएको हो। स्थानीयको अवरोध र विविधीकरणले यो पुल सम्पन्न हुन ढिलाइ भएको हो। पुलको काम लोकल रोड ब्रिज प्रोग्राम–एलआरबीपीले सुरु गरेको हो। छुसाङ–चैले पक्की पुल बनाउने जिम्मा लुम्बिनी बिल्डर्सले लिएको थियो। पुलको लागत ४ करोड ७३ लाख छ। यसको लम्बाइ ७६ मिटर र चौडाइ ५.५ मिटरको छ। सिंगललेन पुलको सम्झौता दुई वर्ष भए पनि अवधि सकिएको ३ वर्ष बितिसक्दा समेत पुलको काम अन्तिममा रोकिएको हो।
पक्की पुलको काम सुरु भएको १ वर्षमै पुलका लागि ठडिएका पिलरलगायत संरचनाले कालिगण्डकी थुनिएपछि छुसाङ बस्ती र त्यहाँको खेतीयोग्य जमिन कटान गरेको थियो। स्थानीयले त्यसपछि पुल निर्माणमा अवरोध पुर्याएका थिए। निर्माण कम्पनीले पुलको दायाँ र बायाँतर्फ एप्रोज रोड विस्तार गरेको थिएन। बायाँतर्फ भने कोरला सडक आयोजनाले नै एप्रोज रोड बनाइदिएको इन्जिनियर अश्विनीकुमार यादवले जानकारी दिए।