‘विकास भर्सेस निकास’ मा बिरामी देश

‘विकास भर्सेस निकास’ मा बिरामी देश

काठमाडौं : दुई तिहाइ सरकारलाई असारे विकास गर्न भ्याइ नभ्याइ छ। वर्षभरि खर्च नभएको बजेट असारमा जबरजस्ती खर्च गर्ने परम्परा पुरानै हो। के यो झारा टार्ने प्रवृत्तिले देशको वास्तविक विकासलाई निकास देला ?

सर्वनाम नाटकघरमा मञ्चन भइरहेको ‘विकास भर्सेस निकास’ नाटकले राष्ट्रले अवलम्बन गरेको यस्तै कामचलाउ नीतिले नेपाल कहीँ पुग्न नसकेको बताइरहेछ। नाटकले देशको शिक्षा प्रणालीदेखि स्वास्थ्य, धर्मसंस्कृति, राजनीति हुँदै सरकारी कर्मचारी र नेताको रवैयासम्मको व्यथितिलाई छर्लंग पारेको छ।

डाक्टर एसएस (दीपक आचार्य) नामक पात्रमार्फत राज्यको विकास नीति सुधारिनुपर्ने आग्रह गरिएको छ। डा. एसएस नेपालबाटै छात्रवृत्ति पाएर डाक्टर पढ्न अमेरिका गएका छन्। उनले अमेरिकामा हजारौं अमेरिकी बिरामीको सेवा गरे। तर नेपालकै लागि केही गरेनन्। यसको ठूलो पश्चात्ताप छ उनलाई। अमेरिकामै हराएर लामो बसाइपश्चात् नेपाल फर्केका उनी आफ्नो ‘रिटायर्ड लाइफ’ नेपालमा नै बिताउन चाहन्छन्। उनलाई बाँचुन्जेल अब देशको सेवा गर्नु छ।

अमेरिकाबाट कमाएर ल्याएको केही रकम नेपालमै समाजसेवा गरेर खर्चन चाहन्छन्। यसै सिलसिलामा उनी विभिन्न ठाउँ जान्छन् र धेरै व्यक्तिसँग ठोक्किन पुग्छन्। नेपाली समाज पढ्न खोज्छन्। यो सिकाइको दौरानमा उनले देशको विकासले निकास किन पाउन सकिरहेको छैन भन्ने तथ्य फेला पार्छन्।

सामुदायिक विद्यालयको अवस्था नाजुक छ। स्वास्थ्य संस्था आफैं अचेत भई पल्टिएको छ। दक्ष जनशक्ति विदेश पलाएन भएका छन्। अदक्ष जनशक्ति आफ्नो देशको खेत बाँझै राखी खाडीतिर भासिएका छन्। मन्दिर भत्किएको छ। चर्चको ‘इमारत’ अग्लिँदै गएको छ।

देशमा धेरै योजना बिनाआधार बनिरहेका छन्। समस्याको समाधान भन्दा वितरणमुखी व्यवस्थाले प्राथमिकता पाएको छ। यसको पछिल्लो उदाहरण बजेट भाषणमा पनि देखियो।

राजनीतिक दबाब र प्रभावमा लोकप्रिय योजना ल्याइयो, जुन दीर्घकालीन देश विकासका लागि थिएन। राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिने योजनाभन्दा ती सेवा दिने योजना थिए। यो विषय नाटकको एक अंशमा देख्न सकिन्छ।

देशमा पेसागत क्षेत्रको सम्मान हुन नसक्नु अर्को समस्या भएको नाटकले उजागर गरेको छ। देश बनाउनेहरूको अपमान र बिदेसिनेको सम्मान भइरहेको छ। अहिलेको प्रणालीमा इमानदार व्यक्ति माथि जानै सक्दैन। सरकारी होस् या निजी क्षेत्र; चाकडी, चाप्लुसी र कमिसनको भरमा अगाडि बढेको छ।

राज्यको सही नीति र प्रणाली मानिसको शरीरको मिर्गौलाजस्तै हो जसले रगतमा भएको विकार छानेर शरीर स्वस्थ बनाउँछ। जब मिर्गौला नै सहिसलामत छैन भने विकारलाई शरीरबाट बाहिर विसर्जन कसरी गराउने ? जब विकार विसर्जन हुन पाउँदैन, तब शरीर स्वस्थ रहने कुरै भएन। हाम्रो राज्य प्रणालीले त्यो विकार छान्ने नीति बनाउन सकेको छैन। त्यसैले देश बिरामी छ। विकास भर्सेस निकासले बिरामी देशलाई अब स्वस्थ बनाउनुपर्ने सन्देश दिन्छ।

निर्देशक तथा लेखक रामबाबु रेग्मीले रत्नपार्कमा दिनहु हिँड्दा देखिने दृश्य र गोरखाका गाउँमा सडक नाटक गर्न घुमिरहँदा आफ्नो मनमा गडेका विषयवस्तुलाई काल्पनिक कथामा रूपान्तरण गरेका हुन्। नाटकको विषयवस्तु प्रभावशाली भए पनि प्रस्तुति फितलो हुँदा नाटकसँग अन्तरंग हुन दर्शकलाई गाह्रो पर्छ। रंगमञ्चमा मञ्चन भएको नाटक सडकमा गरिएको नाटकभन्दा भिन्न छैन। तर कलाकारको लवज र व्यंग्यशैलीले दर्शकलाई मज्जाले हँसाउछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.