बर्खामासमा खडेरी : मकैका बोट सुक्न थालेपछि किसान चिन्तित
फिदिम/भोजपुर : पानी नपर्दा पाँचथरका किसान चिन्तित बनेका छन्। उनीहरूले अझै असारे गीत घन्काउन पाएका छैनन्। खेत बाँझै छन्। बारीमा लगाइएका बाली घामले सुक्न थालेका छन्। डाँडापाखा उराठलाग्दा बनेका छन्।
‘खडेरीले सखाप पारिसक्यो’, तुम्बेवा–३ मौवाका रविन थापाले भने, ‘धान रोपाइँको त कल्पनै नगरौं। बारीमा लगाएको बाली पनि सुकेर सोत्तर भएको छ।’ वैशाखयता पानी नपरेपछि किसानले खेती गर्न पाएका छैनन्। अलैंची बगान सुकेर सोत्तर भएको छ। मकैका बोट मर्न थालेका छन्। कोदो र धानको बीउ सुकेर कामै नलाग्ने भएको छ। मुहान सुकेर पानीको हाहाकार भएको छ। सुक्खाग्रस्त क्षेत्रमा पिउने पानीको हाहाकार भएको छ।
‘चौपाया बचाउनै गाह्रो भएको छ’, तुम्बेवा गाउँपालिका अध्यक्ष होमनाथ थापाले भने, ‘बारीका कान्लामा हरियो देखिँदैन। घाँसका रूख सुकेर गइसके।’ तुम्बेवा र कुम्मायक गाउँपालिका सुक्खाग्रत क्षेत्रमा पर्छन्।
फिदिम नगरपालिका, मिक्लाजुङ, फाल्गुनन्द, हिलीहाङ, फालेलुङ र याङवरक गाउँपालिकाका तल्लो क्षेत्रमा खडेरीले बाली सुकाएको छ। ‘यस्तो ठूलो खडेरीको मलाइ याद छैन’, तुम्बेवाकी ९१ वर्षीया तिलरुपा थापाले भनिन्, ‘असारमा पनि चैत–वैशाखमा जस्तो टन्टलापुर घाम लागेको थाहा छैन।’
सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसका लागि छुट्टै कार्यक्रम नल्याएको स्थानीयको आरोप छ। ‘सुक्खा क्षेत्रका लागि सरकारले तत्कालीन र दीर्घकालीन कुनै योजना ल्याएन’, थापाले भने, ‘खडेरीको सामना गर्न सक्ने योजना नहुँदा यस क्षेत्रका बासिन्दा काकाकुलजस्तै भएका छन्।’
बाली खडेरीले खाएको र थप बाली लगाउन नपाएपछि स्थानीय भोकमरीको सामना गर्नुपर्ने चिन्तामा छन्। विगतमा पाँचथरमा यो समयमा ५० प्रतिशत रोपाइँ सकिन्थ्यो। तर, यसपटक १२ प्रतिशत मात्र रोपाइँ भएको छ। रोपाइँ गरिएका खेत सुकेर धाँजा फाटेका छन्। धानका गाभा सुक्न थालेका छन्।
‘जिल्लाको माथिल्लो क्षेत्रका केही खेतमा धान रोपिएको छ’, कृषि ज्ञान केन्द्र पाँचथरका सूचना अधिकारी नरहरि निरौलाले भने, ‘धान खेत पनि खडेरीले टाँट पल्टेको छ। पानी नपरेकाले जिल्लाका अधिकांश क्षेत्रमा धान रोपिने सम्भावना छैन।’
खडेरीका कारण तुम्बेवा र कुम्मायकमा खानेपानीकै चरम अभाव हुन थालेको छ। अन्य क्षेत्रमा खोलाखोल्सा सुकेका छन्। पानी नभएर किसानले खेती गर्न नपाएका हुन्।
भोजपुुरमा पनि पानी नपर्दा जिल्लाका अधिकांश भेगमा मकैका बोट सुक्न थालेका छन्। घोगा लाग्ने बेला खडेरीका कारण मकै काम नलाग्ने अवस्थामा पुगेको किसान बताउँछन्। १६ रोपनीमा रोपेको मकै फल दिने बेला मर्न थालेको अरुण गाउँपालिका– ६ जरायोटारका इन्द्रबहादुर राईले सुनाए। ‘यसरी खडेरी लाग्छ भनेर सोचेको थिइनँ। मकैको बोट सुकेर परालजस्तो हुन लाग्यो। पानी पर्ला भन्ने छाँटकाँट छैन’, उनले भने, ‘यसपालि बर्खा कसरी धान्ने ? मुस्किल भयो।’
पूर्वी जरायोटार, च्यांग्रे, बास्तिम, याकु, याङपाङ, सिक्रेटार, सानोदुम्मा, ठूलोदुम्मा, टक्सार, आम्तेक, दलगाउँ, सिन्द्राङ, होम्ताङ, मानेभञ्ज्याङलगायत क्षेत्रलाई मकैको पकेट क्षेत्र मानिन्छ। तर, यो वर्ष यी ठाउँमा पनि खडेरीले मकैको बोट सुक्न थालेपछि किसान निराश बनेका छन्। जिल्लाको ३६ हजार ३ सय ६० हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको कृषि ज्ञान केन्द्र भोजपुरको तथ्यांक छ। यहाँका किसानले मनकामना, अरुण देउती, शीतलालगायत स्थानीय जातका मकै बाली लगाउने गरेका छन्। यसबाहेक बजारमा पाइने उन्नत किसिमका मकैको पनि खेती गर्ने गरिएको छ।
यो वर्ष लामो खडेरीका कारण विगतको तुलनामा मकै उत्पादनमा ह्रास आउने प्रारम्भिक अनुमान गरिएको कृषि ज्ञान केन्द्र भोेजपुरका सूचना अधिकारी युकमणि भट्टराईले बताए। उनका अनुसार गवारो, खुम्रे, किब्रो किराको प्रकोपले गर्दा पनि मकै उत्पादनमा कमी आएको छ।