पहिरोले टिपर पुरियो, त्रिशूली-छहरे-टोखा सडक अवरुद्ध
नुवाकोट : पहिरोले हुँदा त्रिशूली-छहरे-टोखा सडक अवरुद्ध भएको छ। पहिरोले गुडिरहेको एउटा टिपर पुरेको छ। शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण नुवाकोटको पूर्वी भेगमा रहेको शिवपुरी गाउँपालिका- ६ र ७ स्थित त्रिशूली- छहरे-टोखा सडक खण्डको ६ भन्दा बढी स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
पर्यटकीय मार्गको रुपमा रहेको सो सडकखण्डको गुर्जेभन्ज्याङमा ६ ठाउँमा पहरो खसेर बाटो पूर्णरुपमा अवरोध भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए। उनका अनुसार उक्त पहिरोको कारण काठमाडौबाट नुवाकोटको छहरेतर्फ आइरहेको बा२ख १६७० नम्बरको टिपर पहिरोले पुरिएको छ। साथै एउटा टाटासुमो गाडी बीच बाटोमा फसेको छ।
पहिरोले बाटो अवरुद्ध हुनुका साथै गाडी पुरेपनि मानवीय क्षती नभएको पल्लिमगरले बताए।स्थानीयवासी, सुरक्षाकर्मी तथा सडक कार्यालयका प्राविधिक पहिरो पन्छाउने कार्यमा क्रियाशील रहेका छन्। पहिरोले काठमाडौ जाने सयौं यातायातका साधन तथा हजारौं यात्रुलाई गुरुङ गाउँमा राखिएको छ।काठमाडौबाट नुवाकोट जाने सवारीसाधन र यात्रुहरु गुर्जेभन्याङ चेक पोष्टमा रोकिएका छन्।