गुठी संरक्षण गर्दै स्थानीय तह
भोजपुर : शिक्षाका अग्रज्योति बालागुरु षडानन्द अधिकारीले स्थापना गरेको षडानन्द सीताराम गुठी संरक्षणमा षडानन्द नगरपालिका जुटेको छ। वर्षौंदेखि बेवारिसे अवस्थामा रहेको गुठीभित्रका पुरातात्विक, मौलिक, सांस्कृतिक सम्पदाको विकास निर्माणमा नगरपालिका जुटेको हो।
षडानन्द सीताराम गुठीलाई सामाजिक रूपले आकर्षक बनाउन नगरपालिकाले नयाँ योजनामार्फत काम अगाडि बढाएको नगर प्रमुख वीरबल राईले बताए। ‘देशविदेशमा प्रख्यात बालागुरु षडानन्दको विरासत मजबुत बनाउन उहाँले स्थापना गर्नुभएको गुठीको संरक्षण गर्न नगरपालिका लागेको छ’, उनले भने, ‘गुठीभित्रका महŒवपूर्ण सम्पदा संरक्षण र सम्बद्र्धन गरेर बाह्य पर्यटन भिœयाउने नगरपालिकाको लक्ष्य छ।’
वर्षौंपछि गुठीको संरक्षणमा हात बढाएको नगरपालिकाको कामप्रति स्थानीय दंग परेका छन्। परम्परा, सांस्कृतिक सम्पदाको संरक्षण गर्न चुनौती हुँदाहुँदै पनि नगरपालिकाको पहलमा थालिएको काम उदाहरणीय भएको स्थानीय टेकबहादुर जीसीले बताए। उनले भने, ‘चुनौतीका बाबजुत पनि नगरपालिकाले गुठी संरक्षणमा हात बढाएको छ। गुठीको संरक्षण र सम्बद्र्धनले बालागुरु षडानन्दको ऐतिहासिक पवित्र स्थलको सुन्दरता बढाउनेछ। जसले यहाँको आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा मिल्नेछ।’
गुठीभित्र रहेको रामचन्द्र मन्दिरपरिसरमा भौतिक संरचना निर्माण तथा सम्बद्र्धन गर्न नगरपालिकाको पहलमा प्रदेश १ सरकारले ४० लाख बजेट छुट्याएको थियो। सोही मन्दिरवरपर पक्की बाटो बनाउन नगरपालिकाले ०७५÷७६ को नगरसभाबाट ८ लाख बजेट विनियोजित गरेको थियो। गुठीभित्रको उक्त मन्दिर तथा वरपरका बाटोघाटो ढुंगा छाप्ने, सिमेन्ट ढलाइ गर्ने काम भइरहेको छ।
यस्तै, गुठीभित्र पर्ने नर्बदेश्वर शिवालय, सीताकुण्ड, हनुमान पोखरी, १०८ प्रजातिका वनस्पति रहेको बगैंचालगायत पुरातात्विक महत्व बोक्ने सम्पदा संरक्षण तथा विकास निर्माण अगाडि बढेको नगरपालिकाले जनाएको छ। गुठी क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि चालु वर्षभित्रै रुद्राक्ष, योगमाया, यलम्बर र बुद्धको प्रतिमासहितको पार्क, बाल उद्यान पार्क निर्माण गर्र्ने लक्ष्य लिएको छ।
गुठीको जग्गा व्यवस्थापनमा कडाइ
नगरपालिकाले अतिक्रमित गुठीको सयौँ रोपनी जग्गा व्यवस्थापन गर्ने काममा मापदण्ड बनाएर कडाइसाथ अगाडि बढेको जनाएको छ। बालागुरु षडानन्द अधिकारीले एक सय ४४ वर्षअघि स्थापना गरेको षडानन्द सीताराम गुठीको करिब १८ सय रोपनी जग्गामा जबर्जस्ती भोगचलन गर्दै आएका घरधुरीलाई करको दायरामा ल्याउने, सार्वजनिक स्थलमा प्रभावित भौतिक संरचना हटाउने, भत्काउनेजस्ता काममा नगरपालिकाले मापदण्ड बनाएर अगाडि बढेको मेयर राईले बताए। उनले गुठीको जग्गाभित्र पर्ने नेपालेडाँडाको बालुवानी र आसपास केही क्षेत्रका जग्गाबाहेक भोगचलन गरिँदै आएका अन्य जग्गामा आ िश्रत स्थानीयबाट नापी कित्ता, राजस्व र भौतिक संरचना व्यवस्थापन भइरहेको बताए।
नगरपालिकाले गठन गरेको सञ्चालक समितिलाई तत्काल गुठीको सम्पूर्ण सम्पत्ति व्यवस्थित गर्ने जिम्मा दिएको छ। दुरुपयोग भएको सम्पूर्ण गुठीको जग्गाको नापी, कित्ता गर्ने काम तत्कालै अगाडि बढाइएको मेयर राईले बताए। यता, सञ्चालक समितिले गुठीको जग्गा व्यक्तिगत प्रयोजनमा दुरुपयोग नभएको बताएको छ। ‘दिङ्ला बजारका प्रायः बस्ती व्यक्तिगत जग्गामा बनेका छन्, केही घर गुठीको जग्गामा बनाइए पनि भाडामा लगाइएको छ’, समिति अध्यक्ष कृष्णप्रसाद पौडेलले भने। करिब १८ सय रोपनी जग्गाको ११ सय ७५ रोपनी मात्र रेकर्डमा रहेको पौडेलले दाबी गरे।
तर, समितिका पूर्वाध्यक्ष एवं सोही वडाका वडाध्यक्ष किशोर किराँतका अनुसार गुठीको जग्गामा पर्ने दिङ्ला बजार क्षेत्रभित्र २३ वटा घडेरीमा स्थानीयले भोगचलन गर्दै आएका छन्। पाँच वर्षदेखि धानखेती र रुद्राक्षबाट ४ लाख र २३ वटा घरघडेरीबाट २ लाख गरी ६ लाख वार्षिक भाडा उठाउने गरिएको समितिले जनाएको छ। १९३२ सालमा षडानन्दले खोलेको संस्कृत पाठशाला चलाउन गुठीको नाममा स्थापित करिब १८ सय रोपनी जग्गामा स्थानीयले अतिक्रमण गरेर घरबस्ती र खेती गर्दै आएका छन्। त्यस्तै, १० वर्षे सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादीले कब्जा गरेपछि गुठीको जग्गा अस्तव्यस्त बनेको थियो।