आत्मनिर्भर अर्थतन्त्रमा जोड दिऔं : राष्ट्रपति
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा अघि बढ्नुपर्ने बताएकी छन्। नेपाल राष्ट्र बैंकको भवन शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बैंक तथा वित्तीय संस्था आत्मनिर्भर अर्थतन्त्रमा अघि बढ्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकले त्यसतर्फ भूमिका खेल्नुपर्ने बताइन्। कृषि, उद्योग, पर्यटन, जलविद्युत क्षेत्रमा प्रयाप्त लगानी बढाएमा मात्र संमृद्वि हाँसिल हुने उनको भनाइ छ।
बैंक तथा वित्तीय संस्थाको बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गरी व्यापारघाटा कम गर्नुपर्नेमा उनले जोड दिइन्। 'उत्पादन र व्यवसायिक क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्न आवश्यक छ,' उनले भनिन्।
वित्तीय प्रणाली चुस्तदुरुस्त बनाउन राष्ट्र बैंकले भूमिका खेल्नुपर्ने उनको भनाइ छ। 'वित्तीय प्रणालीलाई नियमनका माध्यमबाट अनुशासित बनाउनुपर्छ,' उनले भनिन्।
उनले आर्थिक संमृद्विको यात्रा सार्थक बनाउने गरी मौद्रिक नीति जारी हुनुपर्ने बताइन्। आधारभूत बैंकिङ सेवा पाउने सुनिश्चिता गर्न केन्द्रीय बैंकले थप भूमिका खेल्नुपर्ने उनको भनाइ छ। आधुनिक बैंकिङ प्रणालीबाट सबै जनतालाई आधारभूत बैंकिङ सेवा पाउने सुनिश्चितता गरिनुपर्नेमा उनले जोड दिइन्।
अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ प्रणाली सही नभए बिमा, धितो र सहकारी क्षेत्रसमेत सफल हुन नसक्ने बताए। मुलुक वित्तीय स्थायित्व युगमा प्रवेश गरेको भन्दै अर्थमन्त्री खतिवडाले उच्च आर्थिक वृद्धि हाँसिल गर्न, आर्थिक स्थायित्व कायम गर्न र आर्थिक सम्बन्ध बलियो बनाउन राष्ट्र बैंकले भूमिका खेल्नुपर्ने बताए।
लगानीका वातावरण सुधार गर्दै वैदेशिक लगानीसमेत ल्याउन आवश्यक भएको उनको भनाइ छ।केन्द्रीय बैंकले उत्पादन बढाउने क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने बताए। अर्थमन्त्री खतिवडाले बढ्दो व्यापारघाटा, सेवाको उत्पादन पनि कम हुँदा वित्तीय क्षेत्रको स्थायित्व र भुक्तानी सन्तुलनमा समस्या पर्ने बताए।
वित्तीय कारोबार पारदर्शी र अनुशासित हुनुपर्ने उनको भनाइ छ। 'स्वायत्तताले अराजकता निम्तिने खतरा हुन्छ,' उनले भने,' जग बलियो भए मात्र संरचना बलियो हुन्छ, आर्थिक स्थायित्व कायम गर्न पूर्वाधार विकास अत्यावश्यक हुन्छ।'
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले नीतिगत पहलले कृषि, उर्जा तथा पर्यटन क्षेत्रमा लगानी बढेको बताए। बैंक तथा वित्तीय संस्था मर्जर हुने क्रम बढेको भनदै यसले वित्तीय स्थायित्व बढ्ने उनको भनाइ छ। उनले छिट्टै मौद्रिक नीति जारी गरी भुक्तानी प्रणाली असन्तुलन हुन नदिने बताए ।