स्थानीय तहमा लगाएको ताला प्रहरीले तोड्यो
जाजरकोट : नेत्र विक्रम चन्द्र 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले जाजरकोटका स्थानीय तहका कार्यालयमा लगाएको ताला प्रहरीले खुलाएको छ। प्रहरीका अनुसार विप्लवका कार्यकर्ताले जिल्लाका ५ वटा स्थानीय तह र तीनवटा वडा कार्यालयमा समेत तालाबन्दी गरेका थिए।
सरकारद्वारा प्रतिबन्धित विप्लवका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी भेरी व्युरोको अपील छोड्दै विप्लवका कार्यकर्ताले लगाएका तालालाई प्रहरीले बिहानै फोरेर कार्यालय नियमितरुपमा सन्चालन गराएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक केशव कार्कीले बताए।
उनका अनुसार विप्लवका कार्यकर्ताले भेरी नगरपालिका, छेडागाड नगरपालिका, वारेकोट गाउँपालिका, नलगाड नगरपालिकाका कार्यालय र कुशेका तीनवटा वडा कार्यालयमा तालाबन्दी गरेका थिए। भेरीको सदरमुकामस्थित तल्लो थाप्लेमा रहेको कार्यालय र वारेकोटको सदरमुकामस्थित थाप्लेमा रहेको सम्पर्क कार्यालयमा बिहानै विप्लवका कार्यकर्ताले तालाबन्दी गरिदिएका हुन्।
स्थानीय तहका कार्यालयमा तालाबन्दी गरेको थाहा पाउने वित्तिकै प्रहरीले ताला तोडेर कार्यालय सुचारु गरेको प्रहरी निरीक्षक कार्कीले बताए। उनले कुशे, जुनीचाँदे र शिवालय गाउँपालिकामा तालाबन्दी नगरेको र कुसे गाउँपालिकाको वडा नम्बर ७, ८ र ९ वडाका वडा कार्यालयमा गरेको तालाबन्दी गरेका थिए।
सरकार र वर्तमान सत्ताका संचालकलाई तर्साउन र भ्रष्टाचारका विरुद्ध खबरदारी गर्न आफूहरुले तालाबन्दी गरेको विप्लव नेकपाका जिल्ला इन्चार्ज धमिलले बताए।