फलामे डाँडामा पाहुना घर
बेनी : करबाकेली पदमार्गअन्तर्गत जलजला गाउँपालिका-५ मा रहेको फलामे डाँडामा सामुदायिक पाहुनाघर सञ्चालनमा आएको छ।भ्रमणमा आउने पाहुनालाई खान र बस्न सहजका लागि स्थानीयवासिन्दाले सामुदायिक पाहुनाघर बनाएका हुन्।
समुन्द्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित फलामे डाँडालगायत म्याग्दी र उत्तरी पर्वतका पर्यटकीय स्थललाई समेटेर गत वर्ष करबाकेली पदमार्ग सञ्चालनमा ल्याइएको थियो।
पाहुनाघरमा एक दिनमा बीस जनालाई खानेबस्ने सुबिधा उपलब्ध गराइने लोप्रेका पुर्ख पुनले जानकारी दिए। आठ कोठे पाहुना घर र सभाहलसहितको डाइनिङ हलका लागि दुईवटा भवन बनाइएका छन्।
प्रदेश सरकारको दश लाख र जलजला गाउँपालिकाको एक लाख रुपैयाँ अनुदानमा पाहुनाघरको भवन बनाइएको हो। यसैगरी स्थानीय तुलबहादुर पुनले श्रीमती बहुमती पुनको पुण्य स्मृतिमा १९ लाख रुपैयाँ खर्चेर डाइनिङ हल र खोप केन्द्रका लागि अर्को भवन बनाइदिएका छन्।
'फलामे डाँडाको पर्यटन विकासका लागि पूर्वाधार निर्माणलाई तीब्रता दिएका छौं,' पुनले भने, 'पाहुनाघर र डाइनिङ हल बनेपछि गाउँमा आउने पाहुनालाई खान र बस्न समस्या नहुने र आम्दानीको स्रोत बढ्ने अपेक्षा गरेका छौं।'
पहाडको टुप्पोमा समथर फाँट रहेको फलामे डाँडाबाट सूर्योदय, म्याग्दी, पर्वत र बागलुङका बस्ती, धौलागिरि, अन्नपूर्ण, गुर्जा, निलगिरि हिमाल र पहाडी भुगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ।
डाइनिङ हल र खोप केन्द्रको भवन निर्माणका लागि तुलबहादुर पुनले १९ लाख २५ हजार, स्वास्थ्य कार्यालयले दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराएका थिए भने स्थानीयबासीले दुई लाख रुपैयाँ बराबरको श्रमदान गरेका निर्माण समितिका चक्र पुनले बताए ।
फलामे डाँडामा प्रस्तावित भ्यु टावरसम्म जाने ३६० मिटर ढुङ्गे सिढीसहितको पदमार्ग समेत बनेको छ। प्रदेश सरकारको चार लाख पचास हजार, गाउँपालिकाको एक लाख पच्चिस हजार अनुदान र समुदायको एक लाख पन्ध्र हजार चन्दा सहयोगमा पदमार्ग निर्माण भएको हो। पदमार्गको मध्य भागमा प्रेमबहादुर फगामीको स्मृतिमा उनका परिवारले विश्राम गर्ने चौतारी बनाएका छन्।