कर्मचारी हुन कि एजेन्ट ?
विराटनगर भन्सार कार्यालय। आइतबार बिहान ९:५० बजे। भन्सार राजस्व बुझाउन र सवारीसाधनको अस्थायी पैठारी अनुमतिपत्र लिन खचाखच सेवाग्राही। भीडमा सेवाग्राहीभन्दा बिचौलिया बढी छन्।
सबा १० मा राजस्व बुझाउने काउन्टरमा एक कर्मचारी छिर्छन्। राजस्व तिर्न फाराम भर्ने कर्मचारी नहुँदा सेवाग्राही अलमलमा पर्छन्। तर ठूला व्यापारीको राजस्व बुझाउन फाराम भरेर सलबलाइरहेका बिचौलियाको काम भने फटाफट हुन्छ।
फाराम भर्न र लेख्न नजान्ने सेवाग्राहीचाहिँ कर्मचारी नआउँदा घन्टौं पर्खिरहन्छन्। उनीहरूको काम ११ बजे फाराम फाँटमा छिरेका कर्मचारीबाट बल्ल सुरु भयो। बिचौलिया आफंैले फाराम भर्छन् र राजस्व बुझाउँछन्। कर्मचारी आङ तान्दै र मोबाइल चलाउँदै बस्छन्। उनीहरूबाट फाट्टफुट्ट पुग्ने पोके व्यापारीको फाराम भर्ने मात्रै काम हुन्छ। अन्य फाँटभन्दा फाराम भर्ने फाँटका कर्मचारी यहाँ फुर्सदिला भेटिए। एजेन्टका लागि भर्ने फाराम र विवरण टिप्ने खाताबाहिर राखेर फाराम भर्ने फाँटका कर्मचारीले आरामसँग दिन बिताए।
सँगै रहेको भन्सार महसुल बुझाउने स्थानमा पनि सर्वसाधारणभन्दा बिचौलियाको काम पहिले हुँदा राजस्व बुझाउनै मन नलाग्ने भन्सार कार्यालयअघि भेटिएका विराटनगर १५ का नारायण यादवले गुनासो गरे। उनले जोगबनीबाट ९ थान साडी किनेर ल्याएका थिए। ‘कहिले फाराम भर्न ढिला गरिदिन्छन्, राजस्व तिर्ने ठाउँमा पनि एजेन्टलाई प्राथमिकता दिन्छन्। घरायसी सामान झोलामा बोकेर हिँड्दा सडकका सशस्त्रले राजस्व शाखामा पठाउँछन्। यहाँको हालत यस्तै हो,’ उनले आफूले भोगेको पीडा प्रस्ट पार्न खोजे। राजस्व शाखा र फाराम भर्ने शाखामा दिनभर यस्तै क्रम चलिरह्यो।
गोलमोलमा सवारी अनुमति
भारततर्फको गेटछेउमै रहेको सवारीसाधनको अस्थायी पैठारी अनुमतिपत्र लिने स्थान यहाँको सबैभन्दा बढी भीड हुने शाखामा पर्छ। भारतबाट नजिकै रहेको नेपाली बजार विराटनगरसम्म पुगेर सोही दिन फर्कन यस शाखाबाट अनुमतिपत्र दिइन्छ।
भारतीय गाडी कार, जिप र मोटरसाइकलले यो सुविधा दिन अनिवार्य सक्कल आरसी पेपर बुझाउनुपर्छ।
भन्सारले दिने सवारी अनुमतिपत्र।
आरसी पेपरमा लेखेको सवारीको नाम, चेसिस नम्बर, इन्जिन नम्बरसहित मिति र समय लेखेर अनुमतिपत्र दिने नियम भए पनि कर्मचारीले एजेन्टको दबाब र प्रभावमा समय नै नलेखी अनुमतिपत्र दिने गरेको प्रत्यक्ष भेटियो। कर्मचारीले नै ‘प्रहरीले चेक गर्दा अनुमतिपत्र मात्रै देखाउनू, आरसी पेपर नदेखाउनू नि’ भन्छन्। गोलमालमा अनुमतिपत्र दिँदा राजस्वमा गिरावट आउने गरेको छ।
कर्मचारी कि एजेन्ट चिन्नै कठिन
भन्सार जाँचपास र राजस्व बुझाउने प्रत्येक कोठामा भीड हुन्छ। केही महिला कर्मचारी सरकारी पोसाक लगाएर आए पनि अधिकांश पुरुष कर्मचारी सरकारी पोसाकमा भेटिएनन्। फाँटमा फाइल, खाता र फाराम झिकेर काम गर्ने बिचौलिया हुन् कि कर्मचारी ? छुट्याउन हम्मेहम्मे प¥यो। ‘धेरैबेर कुर्सीमा को बस्छ ऊ नै कर्मचारी हो,’ कर्मचारीको विषयमा जानकारी लिँदा फाराम भर्ने स्थानमा फाइल पल्टाउँदै गएका एक एजेन्टले जबाफ दिए।
प्रत्येक शाखामा ३ देखि ५ जनासम्म बिचौलिया भन्सार प्रज्ञापनपत्र भर्ने, कम्प्युटर इन्ट्री गराउनेदेखि हातमा कागजपत्र बोकेर सही गराउने काममा सक्रिय थिए। धेरै सेवाग्राहीले त झुक्किएर बिचौलियालाई काम लगाउने गरेको भेटियो।
‘को कर्मचारी हामी चिन्दैनैाँ। धेरै सर हुनुहुन्छ। सबै कर्मचारी जस्तो लाग्छ। कसैले लेखेको भन्दा बढी पैसा माग्छन्,’ पसलको सामान लिएर आएकी विराटनगर १५ की व्यापारी राधिका खड्काले भनिन्। अनलाइन सिस्टममा भन्सारले काम सुरु गरे पनि एजेन्टले तोकिएभन्दा बढी पैसा लिने गरेको उनले बताइन्।
जाँचपासपछि सामान थप
विराटनगर भन्सारमा लगभग एक सय संख्यामा आफूलाई आधिकारिक एजेन्ट बताउने व्यक्ति छन्। भन्सारमा १८ जना अनुमति प्राप्त एजेन्ट र सोही संख्यामा आधिकारिक प्रतिनिधि हुनुपर्ने हो। यसबाहेक बाहिरबाट आएका भन्सार एजेन्टका आधा दर्जन प्रतिनिधिसमेत गर्दा करिब ४५ जनाको संख्यामा आधिकारिक व्यक्तिहरु भन्सार जाँचपासका लागि खटिन पाउँछन्।
तर, यो संख्या सय नाघेको प्रत्यक्ष भेटियो। प्रत्येक कोठामा पुगेर तपार्इं कर्मचारी हो भनेर सोध्दा ४÷५ जना सबै व्यक्तिले आधिकारिक एजेन्ट भएको जबाफ दिए। राजस्व काउन्टरमा काम गरिरहेका भारतीय नागरिक राजीव सेखले आपूm एजेन्ट भएको बताए।
भन्सार कार्यालयको सिँढीमा राखेको कागजपत्र।
भन्सार प्रज्ञापनपत्र भर्ने, कम्प्युटर इन्ट्री गराउनेदेखि हातमा कागजपत्र बोकेर विभिन्न शाखामा सही गराउने काममा उनीहरूकै भूमिका बढी हुन्छ। यसरी भन्सारभित्र बिगबिगी रहेका बिचौलियाले मिलेमतो गराएर जाँचपास प्रभावित बनाउने मात्र नभई जाँचपास भइसकेपछि मालवस्तु थप गरेर भन्सार राजस्व छली गराएको पनि देखियो।
भन्सार जाँचपासका लागि प्रज्ञापनपत्रमा एजेन्टले नै सही गर्नुपर्ने र उनीहरूले सही गरेको प्रज्ञापनमा उल्लेखभन्दा बढी मालवस्तु फेला परेमा एजेन्ट आफैं जिम्मेवार हुनुपर्ने भन्सार ऐनमा व्यवस्था छ।
तर नाकामा यस्तो काम खुलेआम भेटियो। यहाँका बिचौलियाले फाराम भर्ने, फाइलमा इन्ट्री गर्ने देखि छाप हान्नेसम्मका सबै काम आफैंले गर्दा रहेछन्। हस्ताक्षरमात्र कर्मचारीको।
सेवा कक्ष सधैं बन्द
नेपालतर्फ जाने र भारततर्फ जाने दुईवटा पैदल मार्ग छन्। भारततर्फ फर्कंदा सडकको बायाँतर्फ भारत जाने यात्रुका लागि सडक पेटीमा बाटो छ भने दायाँतर्फ नेपाल भित्रने। भारत जाने बाटोतर्फ नै भन्सार कार्यालयले सडक किनारमा सेवाग्राही सेवा कक्षको बोर्ड झुन्ड्याएको छ। बोर्डमुनि सानो झ्याल र झ्यालबाट हेर्ने र हात छिराउन मिल्ने भाग छ। तर, सो सेवाग्राही कक्ष आइतबार दिनभर खुलेन।
सो झ्याल कहिले पनि खुला नदेखेको भन्सार परिसरमा भेटिएका सेवाग्राही शम्भु गौतमले बताए। ‘मेरो घर विराटनगर, घरायसी सामान किन्न जोगबनी आइरहन्छु तर कहिले यो खुलेको देखेको छैन,’ उनले भने। सोही सेवाकक्षको लहरमा पैसा सटही काउन्टर भने सधैं खुला हुन्छन्।
कर्मचारी समयमा नआउँदा पर्खेर बसेका सेवाग्राही।
सेवाग्राहीलाई केही समस्या परे सेवा दिने उदेश्यले निर्माण गरेको सो कक्ष बन्द भएको देख्दा ठगिने र समस्यामा परेका सेवाग्राही त्यसै फर्कने गरेका छन्। भन्सार कार्यालयले भने त्यसको ठिक पछाडि भित्रबाट आउने स्थानलाई सेवाग्राही सेवा कक्ष बनाएकाले बाहिर बन्द गरेको जनाएको छ।
भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले यो कक्ष भन्सार कार्यालयमा काम लिएर आउनेका लागि राखेकाले भित्रैबाट सेवा दिएको बताए।
हिलाम्मे सडक, भद्रगोल पार्किङ
नाकाबाट दैनिक हजारौं कन्टेनर, ट्रक र साना सवारी आवतजावत गर्छन्। भन्सार क्षेत्रको सडक हिलाम्मे छ, पार्किङ भद्रगोल। भन्सार गेटको सडकमा नो पार्किङ लेखिएको छ। तर ठूला ट्रक त्यहीं रोकिन्छ।
सडक भत्किएर सामान्य वर्षामै जलमग्न हुँदा पैदल यात्रीलाई आवतजावतमै समस्या हुने गरेको छ। सशस्त्र प्रहरीले बारम्बार हटाउन आग्रह गर्दा पनि भारतीय नम्बर प्लेटको ट्रकका चालकले अटेर गरिरहेका थिए।
भन्सारका सूचना अधिकारी मनिराम पौडेलले पुरानो संरचना भएकाले समस्या देखिएको बताए। उनले अब जोगबनी नाकामा रहेको भारतीय भन्सार कार्यालय नयाँ बनेकोे एकीकृत जाँच चौकी (आईसीपी) मा सरेपछि मात्रै व्यवस्थित हुने बताए।
धुलोले ढाक्यो एक्स–रे मेसिन
सवारीसाधनको अस्थायी पैठारी अनुमतिपत्र दिने सानो कोठाको एउटा कुनामा करोडांै मूल्यको एक्स–रे मेसिन धुलोले पुरिएको अवस्थामा थन्किएको छ। यो मेसिन थन्किएको वर्षांै भयो तर, कहिले पनि प्रयोगमा आएन।
प्रवेशद्वारमा यात्रुलाई सहज तरिकाबाट चेकजाँच गर्न र शंकास्पद सामानलाई मेसिनद्वारा स्क्यान गरिने यो मेसिन भन्सार नाकाका लागि उपयुक्त हुने भन्दै विराटनगर भन्सारलाई विभागले २०७४ सालमै उपलब्ध गराएको थियो। सो समयमा मेसिन ल्याएर परीक्षण गरिएको पनि थियो तर, त्यसपछि यो हालसम्म सञ्चालनमा आएको छैन।
करोडौं मूल्य पर्ने एक्स–रे मेसिनको सुरक्षाका लागि सामान्य छोप्ने कामसमेत भन्सारले गरेको छैन। उपयुक्त ठाउँ अभावमा सञ्चालन गर्न नसकेको सूचना अधिकारी मनिराम पौडेलले बताए। भन्सारले यो मेसिनको सदुपयोग नगरेकाले भन्सार विभागले नै उक्त मेसिन फिर्ता लैजाने तयारी गरेको छ।
भन्सारमा एक्स–रे मेसिन ल्याउनसाथ बिचौलिया र व्यापारीको दबाबमा सञ्चालनमा आउन नदिएको आरोप भन्सारमाथि छ। सूचना अधिकारी पौडेलले भने यो मेसिन सञ्चालन गर्न दक्ष प्राविधिक नभएकाले सञ्चालन गर्न नसकेको बताए। अब नयाँ संरचना बनेको आईसीपीमा व्यवस्थित रुपमा अर्को मेसिन राख्ने उनले बताए।