काइँयोमा सजिँदै प्रेमजोडी

काइँयोमा सजिँदै प्रेमजोडी

काठमाडौं : हामीले सुन्दै आएका दन्त्यकथाका पात्रजस्ता चित्र। राजकुमार र राजकुमारी फूलको आकाशमा उडेजस्ता। दुई प्रेमिल जोडी एकअर्कामा लीन भएको पोस्चर। कुनै जोडी एकअर्कामा ढल्किएका छन्। कुनै एउटै दिशामा फर्किरहेका छन्। कुनै कमलको फूलमा बसिरहेका छन्। युगल जोडीलाई लिएर चित्र कोर्न रुचाउने सवितालाई यो सिरिजमा काम गर्दा आफ्नो जीवनका अनुभव अभिव्यक्त भएझै लाग्छ।

प्रेमजोडीलाई ‘इम्ब्रासेस’ सिरिजमा चित्रमा उतारेकी हुन् सविता डंगोलले।

पाटनमा रहेको इमेज आर्क ग्यालरीमा असार ६ गतेदेखि उनको सोलो चित्रकला प्रदर्शनी भइरहेको छ। साना ठूला गरी ३८ चित्र समेटिएको प्रदर्शनी २५ गतेसम्म चल्नेछ।

काठमाडौंकी रैथाने सविताले बनाएका चित्रमा युगल जोडीलाई संकेत गर्ने बिम्बको प्रयोग गरेकी छन्। उनका अधिकांश चित्रमा जोडीहरू काइँयोको सहारामा एकअर्कामा अल्झिएका देखिन्छन्। समस्याको समाधान गर्ने साधनको रूपमा चित्रमा काइँयोलाई बिम्ब बनाइएको उनले बताइन्।

जसरी लट्टा परेर अल्झिएको कपाल काइँयोले कोरेर सुल्झाउन सकिन्छ त्यस्तै जीवनमा आउने समस्या पनि सकारात्मक सोचले समाधान गर्न सकिन्छ। यस्तै घण्टी फूल, कमलको फूल, रंगीन माछाहरू, गुलावी रङको अधिक प्रयोगले चित्र कलात्मक देखिएका छन्। नेवारी समुदायको आँखीझ्याल, अष्टमंगल, ढुंगेधारा, पानसलगायतलाई बिम्बको रूपमा प्रयोग गरेकी छन् उनले।

चित्रमा पनि बिम्ब ? उनले प्रस्ट पार्दै भनिन्, ‘चित्रकला सौन्दर्य चेतना सम्प्रेषणको माध्यम भएकाले अभिव्यक्तिलाई सशक्त बनाउन बिम्बको प्रयोग गर्ने गर्छु।’ अनुसन्धानभन्दा अनुभवको आधारमा चित्र बनाउन मन पराउने सविताले कपल सिरिजमा आफैंलाई उतारेको बताइन्। लामो समयको प्रेमपश्चात् चार वर्षअघि पोखराका कलाकार ईशान परियारसँग विवाह गरेकी डंगोलले विवाहपछि आफूले गरेको अनुभव चित्रमा देखाउन खोजेको प्रस्ट पारिन्।

प्राकृतिक रूपमा जे छ, उस्तै दुरुस्त बनाउन मन पर्दैन सवितालाई। भन्छिन्, ‘चित्रमा संवेदना, सिर्जनशीलता र क्षमता हुनुपर्छ। आर्ट भनेको नयाँ सिर्जना हो। नयाँपन देखिएन भने चित्र फोटो जस्तो देखिन्छ। म हरेक पेन्टिङमा सकभर नयाँपन दिने कोसिसमा हुन्छु।’

पाँचौं सोलो प्रदर्शनीका रूपमा कपल सिरिजमा उनले आफ्नै प्रेमको अनुभव उतारेकी छन्। भन्छिन्, ‘प्रेममा अनौठो तागत हुने रहेछ। यस्तो अनुभव न लेख्न मिल्छ न भन्न शब्द नै काफी हुन्छ। यही अनौठो शक्ति चित्रमा समेट्ने चेष्टा गरेकी हँु।’ कपल सिरिजका ३८ वटा चित्र उनले बिहेपछि सिर्जना गरेकी हुन्।

जिन्दगी चल्न एकथोक भएर मात्रै पुग्दैन। विभिन्न घटना, सुख, दुःख, रमाइलो पल र आयामहरूको संयोजनका रूपमा आफूले जिन्दगीलाई बुझेको हुँदा आफ्ना चित्रमा पनि बिम्बको मि श्रण हुने उनले जानकारी गराइन्।

कुनै पनि काम सुरु गरेपछि धेरै नै मेहनत गर्न मन पराउने सवितालाई चित्र बनाउन मुड चाहिन्छ। सानै चित्र भए पनि पूरा गर्न आफूलाई एकदेखि दुई हप्ता लाग्ने उनले सुनाइन्। कुनै उद्देश्यले सुरु गरेको ठूला चित्र बनाउन उनलाई ६ महिनाभन्दा बढी लागेको अनुभव छ। भन्छिन्, ‘मलाई जे पनि धेरै गर्नुपर्छ। चाहे खाना पकाउन होस् या अन्य कुनै काम।’

पछिल्लो समय आर्टको क्षेत्रमा युवाको आकर्षण देखेकी छन् उनले। चित्रकारिता विषयमा छलफल, वर्कसप हुने तथा ग्यालरी खुल्ने क्रम जारी छ। मेहनत गरिरहने चित्रकारलाई कलाकारितामा सुन्दर करिअर देख्छिन् उनी। आफैंसँग छ आफ्नो प्रतिस्पर्धा। उनी सानैदेखि चित्र कोर्न रुचि राख्थिन्।

पढाइमा अब्बल सविता डाक्टर बन्ने सपना देख्ने गर्थिन्। एसएलसीमा स्कुल टप गरेपछि साइन्स लिएर प्लस टु पढ्न थालिन्। तर पढाइले खुसी दिन सकेन उनलाई। रङ, क्यानभास र कुचीमा रमाउने उनको मन विज्ञानको पढाइमा खुसी भएन। अनि फाइन आर्टमा भर्ना भइन्। फाइन आर्टको पढाइपश्चात् पूरा समय आर्टमै संलग्न भएर अनेक विषयमा चित्र बनाइरहेकी छन्। अहिलेसम्म पाँच सयभन्दा बढी चित्र बनाइसकेकी डंगोल कुची र रङमै आफूलाई पोख्न चाहन्छिन्। प्रदर्शनीमा राखिएका चित्र एक हजार पाँच सयदेखि तीन लाखसम्म मूल्यका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.