खत्याड गाउँपालिका गेटमा तार जोडिएको शंकास्पद बस्तु
मुगु : सदरमुकाम गमगढीबाट एक दिन टाढा पर्ने खत्याड गाउँपालिकाको कार्यालयको मूल गेटमा शंकास्पद बस्तु फेला परेको छ। सदरमुकाम गमगढीदेखि एक दिन टाढाको खत्याड गाउँपालिकाको माथिचौरमा रहेको कार्यालयको मूलगेटमा रातो पलास्टिले बेरेको शंकास्पद बस्तु मंगलबार बिहान फेला परेको हो।
गाउँपालिकाको मुख्य गेट अगाडि रातो प्लास्टिकले बेरेको उक्त बस्तुमा रातो-कालो तार जोडिएको छ। शंकास्पद बस्तु गाउँपालिकाको गेटमा राखेको जानकारी आएपछि उक्त स्थानलाई प्रहरीले आफनो नियन्त्रणमा लिएको छ। सर्वसाधरणलाई उक्त स्थानमा आवतजावतमा रोक लगाइएको र डिस्पोजलका लागि जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइएको अस्थाई प्रहरी चौकी माथिचौरका इन्चार्ज असई गगन जिसीले जानकारी दिए।
सोमबार नै बाजुरा जिल्लाको हिमा गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लवनिकट नेकपा मुगुका खत्याड ८ का दुईजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई अनुसन्धानका लागि बाजुराबाट मुगु लगिएको छ। आफना कार्यकता पक्राउ परेकोले उक्त शंकास्पद बस्तु नेकपाले नै राखेको हुन सक्ने प्रहरीले बताएको छ।
जिल्लाका चार स्थानीय तहमध्ये मुगुम कार्मारोङ गाउँपालिका बाहेक छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका र सोरु गाउँपालिकामा आइतबार राति विप्लवका कार्यकर्ताले १५ बुँदे सूचना टासगरी तालाबन्दी गरेका थिए।
शंकास्पद बस्तु फेला परेको जानकारी पाएलगत्तै प्रहरीले नेपाली सेनालाई जानकारी गराएको बताएको छ। उक्त स्थानमा फेला परेको बस्तु डिस्पोजका लागि नेपाली सेनाको प्राविधिक टोली उक्त स्थानमा जान लागेको श्री दल गुल्म राराका सेनानी रवि केसीले जानकारी दिए।