सिमेन्टमा छलाङ
करिब डेढ दशकअघि निजी क्षेत्रको लगानीमा खुलेका उद्योगका कारण देश सिमेन्टमा आत्मनिर्भर भएको हो।
पछिल्लो एक दशकमै मुलुकले सिमेन्टमा छलाङ मारेको छ। सिमेन्टमा आत्मनिर्भर हुनुका साथै निर्यात गर्न सक्ने क्षमतामा पुगेको छ।
करिब डेढ दशकअघि निजी क्षेत्रको लगानीमा खुलेका उद्योगका कारण देश सिमेन्टमा आत्मनिर्भर भएको हो। पछिल्लो समय उद्योगीले सिमेन्ट उत्पादनको क्षमता बढाउँदै गएका छन्। नेपालमा ४ दशक पहिला सिमेन्ट उत्पादन सुरु भएको थियो। पहिलो हिमाल सिमेन्ट हो। यसले नेपालमा पहिलोपटक सिमेन्ट उत्पादन सुरु गरेको थियो। पछिल्लो समय सरकारी स्तरमा सिमेन्ट उद्योग स्थापना गर्न प्रयत्न गरिए पनि सरकारी उद्योग भने अघि बढ्न सकेनन्। अहिले पनि सरकारीस्तरबाट सुरु भएका उद्योगी धरासयी अवस्थामा छन्।
सरकारी लगानीबाट सुरु भएको सिमेन्ट उद्योगले सुरुका सयममा विभिन्न समस्या समस्या भोग्दै आएको थियो। त्यतिबेला सरकारी प्रयासले सिमेन्टको प्रयोग बढे पनि उत्पादन भने बढ्न सकेन। सुरुका समयमा सरकारी उद्योग स्थापित हुन नसकेपछि निजी क्षेत्र पनि तत्कालीन समयमा स्थापित हुन सकेनन्। त्यसपछि साना साना पूर्वाधार निर्माण गर्दा पनि आयातित सिमेन्टको प्रयोग बढ्दै गयो।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले सिमेन्टमा निजी क्षेत्रमा लगानी बढेसँगै सिमेन्टमा आत्मनिर्भर भएको बताउँछन्। १५ वर्ष अघि निजी क्षेत्रले उद्योगमा लगानी गरे पनि १० वर्षपछि मात्रै उद्योगले गति लिएको उनले बताए। थापा भन्छन्, ‘जब सिमेन्ट उद्योगमा निजी क्षेत्रको लगानी बढ्यो तब आत्मनिर्भरतातर्फ अघि बढेको हो।’ कुनै समयमा ८५ प्रतिशत आयात गर्नुपरेको अवस्थामा दशकमै आत्मनिर्भर हुन सफल भएको उनको भनाइ छ।
देशमा निर्माण र पूर्वाधार हुन धेरै नै बाँकी छ। सडक, पुल, भवनलगायत पूर्वाधार निर्माणको चरणमा छ। दु्रर्तगतिमा विकास हुने क्रम सुरु भएसँगै सिमेन्टको माग बढ्दै गएको हो। पछिल्लो समयमा सिमेन्ट उद्योग बढ्न थालेका छन्। सिमेन्ट उद्योगमा स्वदेशी मात्र नभई विदेशी लगानीसमेत आकर्षित हुँदै आएको छ। पछिल्लो समयमा पूर्वाधार निर्माणले तीव्रता पाउन थालेको छ। ठूल्ठूला भवन बन्ने क्रम बढ्दै गएको छ। विकास निर्माणले तीव्रता पाउँदा सिमेन्टको माग बढ्दै स्वाभाविकै हो।
अध्यक्ष थापाले केही ठूला आयोजनामा आयातित सिमेन्ट प्रयोग भए पनि सिमेन्टमा आत्मनिर्भर भइसकेको बताए। उनले सरकारले सहुलियत दिए निर्यात गर्न सकिने बताए। ‘सरकारले पैसा धुत्ने काम गर्नुभएन’,उनले भने,‘उत्पादन उद्योगलाई सरकारले सहुलियत दिनै पर्छ।’ खानीसम्म सडक निर्माण, करमा छुट, बिजुली पहुँच तथा निर्यातमा सुविधा दिनुपर्ने उनको भनाइ छ।
पछिल्ला केही वर्षयता सिमेन्टमा लगानीसमेत बढ्दै गएको छ। सिमेन्ट उद्योगमा ठूला तथा विदेशी लगानी भित्रिएसँगै देशले धान्न सक्नेजति सिमेन्ट उत्पादन हुने अवस्थामा पुगेको उद्योगीको भनाइ छ। उत्पादनमा आत्मनिर्भर भइसके पनि क्लिंकरमा आत्मनिर्भर बन्न अझै समय लाग्ने अध्यक्ष थापाले बताए। आउँदो आर्थिक वर्षदेखि क्लिंकरमा समेत आत्मनिर्भर बन्ने उनको भनाइ छ।
उत्पादनको लागतका हिसाबले निर्यात गर्दा मूल्य बढी पर्ने भएकाले स्वदेशमै उपभोग बढाउँदा फाइदा हुने उनको भनाइ थियो। ‘स्थायी सरकार बनेको छ, अब विकास निर्माणले गति लिन सक्ने आशामा छौं’, उनले भने। करिब ४ प्रतिशत ठूला आयोजनामा सिमेन्ट आयात हुने गरेपनि सिमेन्टमा आत्मनिर्भर भएको बताए।
उद्योग विभागका महानिर्देशक विनोदकुमार सिंहले नेपाली सिमेन्टको गुणस्तर बढेको बताए। ‘उत्पादन क्षमता चाहिनेभन्दा बढी नै छ’, उनले भने,‘तर क्षमताअनुसार सिमेन्ट उत्पादन हुन सकेको छैन।’ ग्रेडको व्यवस्था गरिएकाले नेपाली सिमेन्ट प्रयोगमा आकर्षण बढ्दै गएको उनको भनाइ छ। तर, वास्तविकरूपमा क्षमताभन्दा कम उत्पादन कम भइरहेको छ। ठूला प्रोजेक्ट तथा हाइड्रोपावर लगायत केही क्षेत्रमा आयातित सिमेन्ट प्रयोग भइरहेको छ। खासगरी दातृ निकायले बनाउने त्यस्ता पूर्वाधार क्षेत्रमा आयातित सिमेन्ट प्रयोग हुने गरेको हो।
सिमेन्ट उद्योगलाई सरकारले उच्च प्राथमिकता दिँदै आएको छ। सरकारले सिमेन्ट उद्योगका लागि खानी पहुँचमार्ग बनाएर उद्योगलाई प्रोत्साहन गर्दै आएको छ। यस्तै सिमेन्ट उद्योगका लागि सरकारले विद्युत् प्रसारण लाइनमा समेत सहयोग गर्दै आएको छ। निर्यात गर्दा छुट दिने व्यवस्था गरेमा निर्यात गर्न सहज हुने उद्योगी बताउँछन्।
विभागका अनुसार ६० प्रतिशत क्लिंकर स्वदेशमै उत्पादन भइरहेको छ। ‘आयात भइरहेको ४० प्रतिशत क्लिंकर पनि घटाउने योजनामा छौं’, महानिर्देशक सिंहले भने। विभागका अनुसार दुई वर्षभित्र क्लिंकरमासमेत आत्मनिर्भर हुन सकिने गरी अहिले स्वदेशमै क्लिंकर उत्पादन भइरहेको छ। विभागका अनुसार देशभर एक सय १२ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन्। ती उद्योगमा २ खर्बभन्दा बढी लगानी भएको छ। गत आर्थिक वर्षमा करिब ३० अर्बको क्लिंकर आयात भएको थियो। यो कुल मागको २५ प्रतिशत मात्रै हो।
अध्यक्ष थापाले सिमेन्ट उत्पादन गर्न आवश्यक कच्चापदार्थ (क्लिंकर) मा पनि देश आत्मनिर्भर हुने अवस्थामा रहेको बताए। देशमा प्रशस्त सम्भावना छ तर पूर्णक्षमतामा लिंकर उद्योग स्थापना हुन सकेको छैन। सिमेन्टमा छोटो समयमै विश्वमै दु्रतगतिमा उल्लेख प्रगति गर्न सफल भएको अध्यक्ष थापा दाबी गर्छन्।
सिमेन्ट उत्पादन सुरु गरेको डेढ वर्षमै अर्घाखाँची सिमेन्ट नेपालको अग्रणी सिमेन्ट उद्योगका रूपमा स्थापित भएको छ। अर्घाखाँचीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ। अर्घाखाँची सिमेन्ट एउटै मिलबाट सबैभन्दा धेरै ओपीसी सिमेन्ट उत्पादन गर्ने कम्पनीमा पर्छ। आफ्नै चुनढुंगा खानी भएको नेपालकै सबैभन्दा ठूलो ओपीसी सिमेन्ट अर्घाखाँची सिमेन्ट नै रहेको अर्घाखाँची सिमेन्ट प्रालिका नायब महाप्रबन्धक रमेश थापा दाबी गर्छन्। यसले आफैं क्लिंकर र ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ। माग बढ्दै गए पनि आपूर्ति धान्न सक्ने अवस्थामै रहेको उनी बताउँछन्। अर्घाखाँची सिमेन्टले क्षमता विस्तार गरेर उत्पादन बढाउँदै लगेको छ। अर्घाखाँचीले दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्छ।
यस्तै सर्वोतम सिमेन्टले क्षमता विस्तार गरेको छ। यी २ कम्पनीले थप उत्पादन बजारमा ल्याउन थालेका छन्। अर्घाखाँचीले अरु सिमेन्ट उद्योगलाईसमेत क्लिंकर बिक्री गर्दै आएको छ।
देशमा पूर्वाधार निर्माणले गति लिन थालेको छ। अब देशले निर्माण नगरी बस्न सक्दैन। पछिल्लो समयमा आर्थिक विकासले नयाँ तरिकाले गति लिएसँगै उद्योगको उत्पादन बढ्दै गएको हो। अहिले सिमेन्टमा आत्मनिर्भर देखिए पनि अझै माग बढ्ने सम्भावना देखिन्छ। सिमेन्टको माग बढेसँगै उत्पादन पनि बढ्ने उद्योगी दाबी गर्छन्।
१० वर्षदेखि क्लिंकर उत्पादन गर्दै आएका छौं : गोपाल शारदा
ब्रान्ड म्यानेजर–सर्वोत्तम सिमेन्ट
सर्वोत्तम सिमेन्टको आफ्नै चुनढुंगा छ। हामीले सिमेन्टभन्दा पहिला क्लिंकर उत्पादन गरेका हौं। पाल्पा र चितवनमा क्लिंकर उत्पादन गर्दै आएका छौं। १० वर्षदेखि क्लिंकर उत्पादन गर्दै आएका छौं। विगत साढे ३ वर्षदेखि सिमेन्ट पनि उत्पादन गर्दै आएका छौं। उच्च प्राविधि प्रयोग गरेर हामीले सिमेन्ट उत्पादन गर्र्छांै।
अरु सिमेन्टभन्दा हाम्रो सिमेन्ट गुणस्तरीय र भरपर्दो छ। हाम्रो दाना हीरा आकारको हुन्छ। अरुको दाना गोलाकारको हुन्छ। आफ्नै पावरप्लान्ट छ। बत्ती गए पनि सिमेन्ट बिक्री गर्न समस्या पर्दैन। गुणस्तरीय सिमेन्ट उत्पादन हुने भएकाले सबैको विश्वास र माया पाइरहेका छौं। अहिले दैनिक ३ हजार टन क्लिंकर उत्पादन हुन्छ। यस्तै सिमेन्ट दैनिक १२ सय टन उत्पादन हँुदै आएको छ। एक वर्षभित्र दैनिक १८ सय टन सिमेन्ट उत्पादन गर्ने योजना छ। यसरी हेर्दा दैनिक ६० हजार सिमेन्ट उत्पादन हुँदै आएको छ। देश सिमेन्टमा आत्मनिर्भर भइसकेको छ। केही प्रतिशत नभएको होला। क्लिंकरमा पनि आत्मनिर्भर बन्न सकिन्छ। हामीले २० देखि २५ वटा उद्योगलाई सिमेन्ट र क्लिंकर बिक्री गर्र्छौ।
पछिल्लो समयमा ठूला लगानीमा सिमेन्ट उद्योग आइरहेको छ। सबैलाई सिमेन्ट बेच्नुपर्ने हुदाँ अस्वस्थ प्रतिष्पर्धासमेत हुन थालेको छ। सिमेन्ट बिक्री भए पनि बजारबाट पैसा उठ्न सकेको छैन। सरकारको आफ्नै परियोजना छैन। ब्याजदर महँगो भएको छ। सरकारले उद्योगपतिलाई ब्याजदरमा सहुलियत दिनुपर्छ। पैसा रुलिङ हुँदा मात्रै बजार चल्न सक्छ।
गुणस्तरीय सिमेन्ट उत्पादन गर्छौं : विकास झा
म्यानेजर– सिद्घार्थ सिमेट
सिद्घार्थ ग्रुपले १५ वर्षदेखि सिद्घार्थ सिमेन्ट उत्पादन गर्र्दै आएको छ। स्थापनाकालदेखि गुणस्तरीय सिमेन्ट उत्पादन दिइरहेका छौं। यस सिमेन्टले बजारमा राम्रो स्थान बनाएका छ। यसमा हामीले निरन्तरता दिनेछौं। गुणस्तरी सिमेन्टका कारण ग्राहकले सिद्घार्थ सिमेन्ट रुचाएका छौैं। हामीले सरकारले निर्धारण गरेको मापदण्डको उत्पादनमा तलमाथि गर्दैनौं। अरुभन्दा पृथक, गुणस्तर सुनिश्चितताका कारण ग्राहकको विश्वास जितेका छौं। दैनिक २५ हजार बोरा उत्पादन हुन्छ। स्रोतसाधन अझ बढाउने योजना छ। भैरहवामा कारखाना छ। हामीले क्लिंकर पहिला भारतबाट ल्याउने गरे पनि अहिले स्वदेशी लिंकर खपत भइरहेको छ।
अर्घाखाँची, सोनापुरलगायतबाट लिंकलर ल्याएर सिमेन्ट उत्पादन गर्दै आएका छौं। सिमेन्ट उत्पादन गरेर मात्र हुँदैन, बजार बढ्नुपर्छ। सिमेन्ट उत्पादक कम्पनी धेरै भयो तर सिमेन्टको माग बढेन। पूर्वाधार निर्माणले व्यापकता पाउन थालेकाले निकट भविष्यमा सिमेन्टको माग बढ्ला। मुख्य समस्या विकास बजेट खर्च नहुनु, बैंकिङ प्रणाली कडा बन्दै जाँदा सिमेन्ट उत्पादक मारमा छन्। यसले समग्र सिमेन्ट उत्पादन प्रभावित भएको छ। सिमेन्टमा अहिले आत्मनिर्भर भएकै छौं। बढीमा ५ प्रतिशत बाहिरबाट आउँछ। ९५ प्रतिशत स्वदेशकै उत्पादनले धानेको छ। विकास असारमा मात्र गरेर नतिजा राम्रो आउँदैन। यसले उद्योग पनि बढ्न सकेको छैन।
सिद्घार्थ सिमेन्ट जुन अवस्थामा चलेका छौं, त्यही अवस्थामै उत्पादनलाई बढाउने योजनामा छौं। तत्कालै क्लिंकर उत्पादन गर्ने सोच छैन। क्लिंकर अनिवार्य उत्पादन गर्ने मापदण्ड बनाएपछि त्यसबारे सोच्ने छौं। क्लिंकर केही मात्रामा बाहिरबाट आउँछ। बाहिरबाट ल्याउँदा इन्डिइन करेन्सी, अरु देशबाट डलरबाट झण्झट छ। क्लिंकर खरिद गर्दा डेढ महिनादेखि ४महिना लाग्छ। आयात गर्दा खर्च हुने भएकाले स्वदेशमै खपत हुने व्यवस्था गर्नुपर्छ।