बर्खासँगै मुस्ताङ यात्रा सकस
मुस्ताङ : बर्खासँगै पर्यटकलाई मुस्ताङ यात्रा सकस बनेको छ। राष्ट्रिय गौरवको आयोजना, कालिगण्डकी करिडोरको बेनी- जोमसोम सडकखण्डमा ठाउँठाउँमा पहिरो र नदीनालामा पानी बढेपछि मुस्ताङ यात्रा कष्ठकर बनेको बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए।
आयोजना सुपरभाइजर शेरचनका अनुसार निर्माणधिन सडकको म्याग्दी खण्डका दर्जनौं स्थानमा एक सातादेखि नियमित पहिरो गइरहेको छ। शाखा नदीमा पानीको बहाव बढ्नु र लगातार पहिरो खस्दा मुस्ताङतर्फ आउँजाउँ गर्ने सवारी साधन तथा यात्रुलाई सास्ती भएको शेरचनले उल्लेख गरे।
मंगलबार दिउँसो करिब १२ बजेदेखि अन्नपूर्ण गाउँपालिका ३ काभ्रेभीरको करिब १ किलोमिटर सडकमा पहिरो जाँदा अवरुद्ध भयो। करिडोर सडकमा प्रयोग गरिएको डोजरले पहिरो पन्छ्याइएपछि सडक सूचारु गराइएको सुपरभाइजर शेरचनले बताए।
काभ्रेभीरमा पहिरो पन्छ्याइए पनि म्याग्दीकै रघुगंगा गाउँपालिका-२ बैसरीमा भने सवारी अवरुद्ध भएको छ।यस्तै, बेनी-जोमसोम सडककै म्याग्दीखण्डको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरनाको जलथलेमा पनि पहिरो गएको थियो। यसरी ठाउँठाउँमा पहिरो र बाढीले सडक अवरुद्ध बनाउँदा मुस्ताङ जाने यात्रु अप्ठ्यारोमा परेका छन्।
म्याग्दी खण्डमा आयोजनाको डोजरले सडक खुलाउने कार्य गरिरहेको आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए । ठाउँ ठाउँमा सडक स्तरवृद्धिमा प्रयोग भएका डोजरले सवारी आवागमन नियमित गर्ने कार्य गरिरहेको उनले उल्लेख गरे।
बर्खासँगै सुनसान मुस्ताङ
बर्खासँगै पर्यटकको अत्यधिक चहल पहल हुने मुस्ताङको पर्यटन सुनसान बनेको छ।जताततै सडक अवरुद्ध हुँदा बर्खायाममा पर्यटकको आवागमनमा कमी हुनेगर्छ। जिल्ला ट्राफिक कार्यालय मुस्ताङका सई दिनानाथ शर्माले मुस्ताङमा सवारी साधनको चाप न्यून हुँदै गएको बताए। उनले दैनिक साना ठूला सवारी गरेर १० देखि १५ वटासम्म भित्रिने गरेको जानकारी दिए। वैशाखदेखि जेठसम्म र भदौदेखि कार्तिकसम्म सयौं सवारी साधन मुस्ताङ आउँजाउँ गर्छन्।
मौसम प्रतिकुल हुँदा पोखरा-जोमसोम हवाई सेवा समेत नियमित हुन नसकेको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख भानुभक्त कोइरालाले जानकारी दिए। उनले विस्तारै हवाई सेवाको उडान समेत न्यून हुँदै गएको बताए। बर्खासँगै आउने विदेशी पर्यटकको संख्या पनि न्यून भएको एक्याप जोमसोम चेकपोष्टले जनाएको छ।