मुस्ताङमा ४ सय बढी अपांगता
मुस्ताङ : करिब १३ हजार जनसंख्या रहेको मुस्ताङमा ४ सयभन्दा बढी व्यक्ति अपांग रहेको अपांग समाज मुस्ताङले जनाएको छ। अपांग समाज मुस्ताङले बुधबार आयोजना गरेको 'अपांगता भएका व्यक्तिको पहुँच र अधिकारसम्बन्धि २ दिने अभिमुखिकरण तालिमका अवसरमा समाजका अध्यक्ष आइतलाल थकालीले जानकारी दिएका हुन्।
अध्यक्ष थकालीले अपांगता भएका व्यक्ति राज्यको समान नागरिक भएको उल्लेख गर्दै राज्यले प्रवाह गर्ने सेवा सुविधामा कुनै कन्जुस्याई गर्न नहुने बताए।अझै पनि अपांगता भएका व्यक्तिलाई समाजले विभेदको दृष्टिकोणले हेर्ने गरेकोमा दु:ख व्यक्त गरे। अपाङ व्यक्तिलाई समाजको हौसला र आत्मसम्मानले बाच्न पाउनुपर्ने बातावरणको प्रत्याभुति दिलाउनुपर्ने अध्यक्ष थकालीको भनाई छ।
गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले अपांगता भएका व्यक्ति समाजका अरु नागरिक सरह हैसियत रहेकाले राज्यले दिने सेवासुविधामा विभेद हुन नहुने बताए।अध्यक्ष थकालीले अपांगता भएका व्यक्तिको अधिकार र पहुँच अनि क्षमता विकास गर्न स्थानीय तहले आयआर्जनको व्यवसाय र सीप विकास तालिम संञ्चालन गर्दै आइरहेको जनाए।
अपांग समाज मुस्ताङका सचिव दिनेशकुमार थकाली संघीयतापछि अपांगता परिचयपत्र पाउने अधिकारमा समस्या आएको बताए। उनले परिचयपत्र वितरण गर्ने अख्तियारी स्थानीय तहमा आएकाले यसतर्फ गाउँपालिका सम्वेदशील रहनुपर्ने उल्लेख गरे।
यस्तै समाजकी उपाध्यक्ष रुपना थकालीले अपांगता व्यक्ति पनि सपांग व्यक्तिसरह काम गर्न सक्छन् भन्ने थुप्रै उदाहरण विद्यमान रहेकाले कमजोर मानसिकता लिएर हैन आत्मसम्मानले कर्तव्यपथमा लाग्न आग्रह गरिन्।
अपांग र पहुँच अनि अधिकारसम्बन्धि २ दिने कार्यशालालाई समाजका अध्यक्ष, उपाध्यक्ष र सचिवले सहजीकरण गर्ने जनाइएको छ।कार्यक्रममा घरपझोङ गाउँपालिकाका करिब ७० जना बढी अपांगता भएका व्यक्तिको सहभागीता रहेको छ।