अविरल वर्षाले म्याग्दीमा विद्यालय भवन भत्कियो
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तान औलमा रहेको मण्डली आधारभूत विद्यालयको कक्षा कोठा भवन भत्किएको छ।
केही दिनदेखिको वर्षाले विद्यालयका दुई वटा कोठाको पर्खाल भत्किएको हो। कक्षा १ र २ का विद्यार्थी राखेर पढाउने कक्षा कोठा भवनको बाहिरतर्फको पर्खाल भत्किएको शिक्षक शान्ति गर्बुजाले बताइन्।
कच्ची भवनको भित्रतर्फको पर्खाल समेत चर्किएकाले जोखिम बढेको छ। ‘बर्खे बिदा भएकाले भवन भत्किएपनि क्षति हुन पाएन,’ शिक्षक गर्बुजाले भनिन् ‘बर्खे बिदापछि कक्षा सञ्चालन गर्न समस्या हुने देखिएको छ।’
२०५२ मा निर्माण भवनको कक्षा कोठा भवन जीर्ण अवस्थामा छ। कक्षा ५ सम्मको पठनपाठन हुने विद्यालयमा ३९ जना विद्यार्थी छन्।