सिभिल बैंकका अध्यक्ष तामाङकाे चलाखी : नक्कली डिभोर्स गरेर सेयर बिक्री !
काठमाडौं : सिभिल बैंकका अध्यक्ष ईच्छाराज तामाङले श्रीमती सिर्जना शाक्यसँग कागजी सम्बन्ध विच्छेद गरेर बैंकको संस्थापक सेयर बिक्री गरेका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार सिभिल बैंकमा सिर्जनाको नाममा रहेको १७ करोड ५३ लाख ५९ हजार ४ सय रुपैयाँको संस्थापक सेयर बिक्री भएको हो । उनले आधार मूल्यमै कर्मचारी सञ्चय कोषलाई आफ्नो संस्थापक सेयर बिक्री गरेकी हुन् ।
श्रीमान बैंकको अध्यक्ष भएका बेला श्रीमतीले सेयर बेच्न नपाउने प्रावधान छ । कानुनी अल्झनका कारण ईच्छाराज र सिर्जनाले कागजी सम्बन्ध बिच्छेद गरेको नाटक गरेर बैंकमा रहेको सिर्जनाको संस्थापक सेयर बिक्री भएको हो । व्यावसायिक समस्यामा परेपछि कागजी सम्बन्ध विच्छेद गर्ने प्रचलन छ ।
बैंकले संस्थापक सेयरधनी शाक्यको सेयर बिक्रीका लागि बोलकबोल गरेको थियो । बेलकबोलका आधारमा कर्मचारी सञ्चय कोषले शाक्यको सेयर आधार मूल्यमै पाएको हो । यसअघि नै बोलकबोल प्रक्रिया सम्पन्न भएर बुधबार दोस्रो बजारमा कारोबारका लागि लगिएको थियो ।
शाक्यको उक्त सेयर १० नम्बर ब्रोकरबाट बिक्री गरिएको र ब्रोकर नम्बर ४४ बाट किनिएको छ । बैंकले यसअघि नै उनको नाममा रहेको उक्त कित्ता सेयर लिलामीको सूचना प्रकाशित गरेको थियो ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ मा संवैधानिक पद धारण गरेको व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाको अध्यक्ष तथा सञ्चालक बन्न रोक लगाइएको छ । यसअघि सांसद रहेका तामाङ बाफियाको उक्त व्यवस्था कार्यान्वयनमा आएपछि सिभिल बैंकको अध्यक्ष पद छाडेर श्रीमती सिर्जनालाई सञ्चालक बनाएका थिए । सांसद पद सकिएलगत्तै उनले सिर्जनालाई सञ्चालकबाट हटाएर फेरि बैंकको अध्यक्ष भएका थिए ।
ईच्छाराज तामाङ अध्यक्ष रहेको सिभिल ग्रुप अहिले चरम संकटमा छ । सिभिल होम्सको वित्तीय कारोबारले होम्स लगभग धराशायी भएको देखाउँछ । स्वतन्त्र लेखापरीक्षकले समेत सिभिल होम्सको वित्तीय प्रतिवेदनलाई खराब भनेका छन् । सिभिल होम्सकै कारण सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ पनि समस्यामा रोमलिएको छ । संस्थाको ९० प्रतिशत सिभिल होम्समै लगानी केन्द्रित गरिँदा संस्था धराशायी बन्न पुगेको हो । स्रोतका अनुसार चरम आर्थिक संकट भएकै कारण कागजीरूपमा मात्रै सम्बन्ध विच्छेद गरेर तामाङ दम्पत्तीले सिभिल बैंकको संस्थापक सेयर बिक्री गरेका हुन् ।