स्थानीय तहले ल्याएनन् विपद् योजना
बैतडी : गतवर्ष सुर्नया–४ का जयदेव साउँदको घरमै पहिरो खस्यो। पहिरोले घर क्षति भएका साउँदले गाउँपालिकाबाट राहत पाउन सकेनन्। जिल्ला विपद् समिति गुहारे। नीति तथा कार्यक्रम बनाउँदा गाउँपालिकाले विपद् व्यवस्थापनमा रकम नै विनियोजन नगरेपछि स्थानीय तहबाट राहत पाउन नसकेका हुन्।
गत जेठ २४ गते हावाहरीले पाटन नगरपालिका वडा नम्बर ९ स्थित सिद्धेश्जर माविको तीन कोठे भवनको छानो उडायो। छानो उडाएपछि विद्यालय व्यवस्थापन समितिले सहयोगका लागि नगरपालिकासँग सहयोग माग्यो। नगरपालिकामा आवश्यक बजेट नहुँदा सो समस्या पनि जिल्ला विपद् व्यवस्थापन समितिमा पुग्यो। स्थानीय सरकारबाट छानो मर्मतका लागि सहयोग हुने छाँट नदेखिएपछि विद्यालयको समस्या प्रदेश सरकारसम्म पुर्याइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले बताए।
हावाहुरीले नै छानो उडाएका जिल्लाका अन्य चार विद्यालयको पनि छानो मर्मत हुन सकेको छैन्। सबैको निवेदन जिल्ला विपद् व्यवस्थापन समितिमा पुगे पनि रकम नहुँदा सहयोग गर्न नकिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। उनले भने, ‘स्थानीय तहसँग विपद् प्रतिकार्य योजना नहुँदा समस्या भएको छ।’ जिल्लाका १० वटा स्थानीय तहमध्ये ६ वटाले विपद् व्यवस्थापन योजना बनाएका छैनन्।
उनीहरुसँग विपद् प्रतिकार्य योजना नहुँदा जिल्लामा हुनसक्ने सम्भावित विपद्को क्षति न्यूनीकरणका कार्यक्रम सञ्चाल नगर्नसमेत समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए। उनले भने ‘हामीले जिल्ला विपद् व्यवस्थापन समितिकोतर्फबाट योजना बनाएर काम गर्न अनुरोध गरेका छौं।’ योजना नबने पनि विपद् प्रतिकार्यका लागि आगामी आर्थिक वर्षमा १० लाख रकम विनियोजन गरेको सिगास गाउँपालिकाका प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए।
उनले भने, ‘हाम्रो गाउँपालिकामा विपद् व्यवस्थापनमा काम गर्ने संस्था छैनन्, त्यसैले योजना बनाउन ढिलाइ भएको हो। योजना नबने पनि तत्काल राहत उपलब्ध गराउन रकम विनियोजन गरेका हौं।’ योजना नहुँदा पञ्चेश्वर गाउँपालिकाले पनि कार्यविधिकै आधारमा अहिलेसम्म सहयोग गर्दै आएको निमित्त प्रशासकीय अधिकृत कमलापती भट्टले जानकारी दिए। आगामी वर्ष विपद् न्यूनिकरणको योजना बनाउने दाबी गरे।
स्थानीय तहसँग विपद् व्यवस्थापनको योजना नहुँदा विपत्को समयमा राहत उद्धारमा अलमल हुने गरेको नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताए। जोखिम न्यूनिकरणका लागि योजना आवश्यक भएको उनको भनाइ छ। दशरथचन्द नगरपालिका, शिवनाथ, डिलाशैनी र दोगडाकेदार गाउँपालिकाले भने विपद् व्यवस्थापनको योजना बनाएका छन्। अन्य स्थानीय तहले भने आगामी वर्ष योजना निर्माण गर्ने बताएका छन्।