मुस्ताङी पूर्वराजा बिष्टको सम्झनामा खेलकुद
मुस्ताङ : मुस्ताङी पूर्वराजा स्वर्गीय जिग्मे पलवर बिष्टको सम्झना गर्दै यसवर्षदेखि उपल्लो मुस्ताङको लोघेकर १ मराङमा भलिबल र फुटबल प्रतियोगिता सुरु गरिएको छ। लोघेकर दामोदरकुण्ड युथ क्लब मराङको आयोजनामा बुधबार प्रथम लोघेकर जिक्मे मेमोरियल कप २०७६ सुरु भएको हो।
मुस्ताङको हिमालयन जिक्मे फाउन्डेसनले प्रतियोगितालाई आर्थिक र भौतिक सहयोग गरेको छ। समुन्द्री सतहदेखि भन्डै ४ हजार १ सय मिटरको अग्लो उचाईको मराङ खेल मैदानमा प्रतियोगिता भइरहेको छ। एकल पुरुष प्रतियोगितामा भलिबल र फुटबल गरी २ विधामा समावेश छन्।
उपल्लो मुस्ताङको खेलकुद प्रर्वद्धन तथा २ स्थानीय तहका युवाबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष एवं जिक्मे फाउन्डेसनका कोषाध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए। प्रतियोगितामा दुई गाउँपालिकाका ११ टीम सहभागी छन्।
प्रतियोगिताको फुटबल विधातर्फको च्याम्पियनले नगद ७५ हजार शिल्ड ,मेडल र प्रमाणपत्र र दोश्रो हुने टिमलाई नगद ५० हजार शिल्ड ,मेडल र प्रमाणपत्र पाउने छन्। यस्तै , भलिबल विधाको च्याम्पियनले नगद ५० हजार ,शिल्ड ,मेडल र प्रमाणपत्र र दोश्रो हुने टिमले नगद २० हजार , शिल्ड ,मेडल र प्रमाणपत्र पाउने छन्।
प्रतियोगिताको मुस्ताङबाट निर्वाचित संघीय सांसद प्रेमप्रसाद तुलाचन र मुस्ताङी सांस्कृतिक युवराज जिक्मे फञ्चोक पलवर बिष्टले संयुक्तरुपमा प्रतियोगिताको उद्घाटन गरे। सांसद तुलाचनले मौलिक सम्भाव्ययता रहेको उपल्लो मुस्ताङका युवालाई खेलकै माध्यमले जोड्न सकिने बताए।
खेलकुद र संस्कृतिको विकासले मात्रै राष्ट्र संवृद्ध हुने उल्लेख गर्दै सांसद तुलाचनले खेल पर्यटन विकासका लागि सरकार लागि परेको बताए। प्रतियोगिताको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्ट, महेन्द्रबहादुर थकाली, जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ, लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार बिष्ट र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टलगायत २ पालिकाका जनप्रतिनिधि र स्थानीयबासीको उपस्थिति रहेको थियो। प्रतियोगिता अघि स्थानीय युवायुवतीले परम्परागत सांस्कृतिक नृत्य, सांस्कृतिक नाटक र सांस्कृतिक झाकी प्रर्दशन गरेका थिए ।