कांग्रेसलाई सञ्चारमन्त्रीको प्रश्न : दिनभर बिपी, रातभर विप्लव ?
काठमाडौं : सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको आलोचनाका नाममा गलत बाटो लिएको आरोप लगाएका छन्। बिहीबार नियमित पत्रकार सम्मेलनमा बोल्दै बाँस्कोटाले यस्तो आरोप लगाएका हुन्।
‘कांग्रेसको शान्ति एउटा तारा र लोकतन्त्रको अर्को तारा कता हरायो ? हिंसा र निषेधको राजनीतिलाई सँगै लाने कांग्रेसको कस्तो दृश्य ?’, प्रश्न गर्दै बाँस्कोटाले भने, ‘दिनभर बिपी, रातभर विप्लव नै कांग्रेसको नीति हो ?’
मन्त्री बाँस्कोटाले लगातार संसद अवरुद्ध गरेकोप्रति कांग्रेसमाथि आक्रोश व्यक्त गरे। ‘संसद् अवरुद्ध पहिलो र अन्तिम घटना होइन’, मन्त्री बाँस्कोटाले भने, ‘सबै घटनामा सरकारले समिति बाउन सक्दैन। समिति बनाएर सम्भव पनि हुँदैन।’
मन्त्री बाँस्कोटाले सबैले बाच्न पाउनुपर्ने बताए। ‘मृत्यु व्यापार होइन। सबैले बाच्न पाउनुपर्छ भन्ने सरकारको धारणा छ’, कांग्रेसलाई प्रश्न गर्दै उनले भने, ‘हिंसाप्रति प्रतिपक्षीको दृष्टिकोण के हो ?’
प्रतिपक्षले सरकारले हिंसाविरुद्ध कदम चाल्दा विरोध गरेकोप्रति उनले आपत्ति जनाए।