‘लतार्ने विवाह’ले सिकायाे समाजसेवा
काठमाडाैं : रुकुम, डोल्पा, मुगुलगायत जिल्लामा एउटा फरक चलन प्रचलित छ । कुनै केटालाई कोही केटी मन पर्याे । उसले आफ्ना साथीसँग सल्लाह गर्छ । एक्लै भएको अवस्थामा केटीलाई अपहरण शैलीमा घरमा लगेर विवाह गरिन्छ । विवाह गर्दिन भन्न पाइँदैन, केटीको कुनै स्वीकृति आवश्यक ठानिँदैन । यो विवाहलाई ‘लतार्ने’ विवाह भनिन्छ । प्रायजसो १० देखि १९ वर्षका अधिकांश किशोरी यो कुचलनको सिकार भइरहन्छन् । सामाजिक चलनको नाममा जबर्जस्ती विवाह गर्न बाध्य छन् बालिका र किशोरीहरू ।
लतारेर लगी विवाह गर्ने रे ? उफ् कस्तो अविश्वसनीय चलन । रुकुममै जन्मेकी प्रशंसा केसीलाई यो सामाजिक चलनले बेलाबेला झस्काइरहन्छ । कलिला बालिकाको हातभरि चुरा र सिउँदोमा सिन्दूर देख्दा उनी विगत सम्झन्छिन् । उनी ६ वर्षकी हुँदा उनीसँगै खेल्ने आफ्नी १४ वर्षीया काकीलाई गाउँकै २३ वर्षको युवकले लतारेर लगे । स्कुल पढ्न गएकी काकीलाई केटाहरूले बाटो छेकी लतारेर लगेका रहेछन् ।
यो घटनाले उनलाई पछिसम्म असर ग¥यो । गाउँमा कही कतै हिँड्दा पनि अपहरणमा परिन्छ कि भन्ने लाग्थ्यो उनलाई । उनी हुर्कने क्रममा गाउँका धेरै साथी ‘रक्छिने’ (लतारेर गरिने) विवाह गर्न बाध्य भएको देखिन् । यसरी बनेका जोडीमा प्रेम हुँदैनथ्यो । जबर्जस्ती जीवन चलिरहको देखिन्थ्यो । कोही को त वर्ष दिनमै मनमुटाव बढ्थ्यो ।
प्रशंसा कक्षा ६ पढ्न आमाबुवासँग काठमाडांै आइन् । काठमाडौं बसे पनि उनको मन भने गाउँतिरै अडिएको थियो । बालिकाको वैवाहिक बलात्कार भएको दृश्य सपनामा देख्थिन् । कलिला बालिका वयस्क पुरुषसँग बिहे गर्नुपर्ने पीडादायक अवस्था सम्झेर सपनामै बर्बराउँथिन् । उनलाई लतार्ने विवाह र बालविवाहविरुद्ध काम गर्न मन थियो ।
युनिग्लोब कलेज कमलादीकी विद्यार्थी हुन् उनी । डकुमेन्ट्री बनाउने, स्पिच दिने, फोटोग्राफीमा पनि रुचि राख्छिन् । समाजका निम्न वर्गको कथा सबैलाई सुनाउन मन छ । स्टोरी टेलिङ उनको सोख हो । सामाजिक काममा खुसी हुने प्रशंसाले कक्षा ११ मा पढ्दा पढ्दै गाउँमा गएर लतार्ने विवाहबारे डकुमेन्ट्री बनाइन् । आफ्नी काकीले भोगेको जीवन यसमा समेटिन् । कलेजमा आएर उक्त भिडियो देखाइन् । साथीसँग सहयोग मागिन् । उनी भन्छिन्, ‘काम गर्न मन भएपछि उपाय त कति कति । मात्रै काम गर्ने चाहना हुनुपर्छ ।’ साथीहरू सबैले सक्ने सहयोग गरे । अन्य कक्षाका विद्यार्थीले पनि धेरै थोरै सहयोग गरे ।
कलेजबाट २५ हजार रुपैयाँ जम्मा भयो । केही पैसा बुवासँग मागिन् । भन्छिन्, ‘मैले घरीघरी घरमा बुवाआमासँग यो विषयमा कुरा गर्थे । उहाँहरू पनि सकारात्मक हुनुहुन्थ्यो । तर पढाइलाई निरन्तरता दिन जोड दिनुहुन्यो ।’ कलेजबाट जम्मा भएको पैसा र बालविवाहविरुद्धमा काम गर्ने इच्छाशक्ति बोकेर उनी बुवासँगै रुकुम पुगिन् । त्यहाँ उनले आमा, स्कुल पढ्ने भाइबहिनी र कलेज उमेरका युवाको छुट्टाछुट्टै समूह बनाइन् । समूहको मिटिङ गरेर बालविवाहविरुद्ध आवाज बुलन्द पारिन् ।
बालविवाह के हो ? यौनहिंसा के हो ? जबरजस्ती विवाह गर्नेविरुद्ध कसरी डिफेन्स गर्ने ? आफ्नो सुरक्षा कसरी गर्ने । स्वास्थ्य स्वयम्सेविका, आमा समूह तथा स्कुल कलेजमा गएर जनचेतना फैलाइन् । जिल्लाका सीडीयो, डीएसपीलगायतका प्रमुखहरूसँग पनि छलफल गरिन् । उनले आफ्ना हजुरआमाहरू सबै, आमा दिदीहरूले ८० प्रतिशतसम्म लतार्ने विवाह गरेको तथ्यांक पत्ता लगाइन् । अहिले रुकुममै हरेक १० विवाहमा तीन वटा जबर्जस्ती लतार्ने विवाह हुने गरेको उनको खोजले देखाउँछ ।
गाउँमा उनले एउटा जनचेतना टोली बनाएकी छन् । घरघरमा गएर आमाबुवालाई सम्झाउँदै गइन् । गाउँमा उनलाई गाली गर्ने, हाम्रो पुरानो चलन हो तँलाई के मतलव भनेर धम्क्याउने मान्छे पनि थिए । धेरै आमा दिदीहरूले सहयोग पनि गरे । जो यस्तो गलत चलनबाट पीडित थिए उनीहरूले प्रशंसालाई सहयोग गरे ।
कुराकानीका क्रममा प्रशंसा घरी आक्रोशित हुन्थिन् त घरी उत्साहित । उनी बालविवाह र अपहरण विवाह उन्मूलन गर्न अहिले पनि सक्रिय छिन् । यही कामका लागि उनले गत वर्षको ग्लोकल टिन हिरोको उपाधि पनि प्राप्त गरेकी थिइन् ।
स्थानीयस्तरमा आफ्नै योजनामा काम गरिरहेकी प्रशंसाले जब ग्लोकल टिन हिरोको उपाधि जितिन्, एकाएक चर्चा पाइन् । विभिन्न संस्थाको सहयोग जुटिरहेको छ । स्थानीय तथा राष्ट्रियस्तरमै सहयोग गर्छौं भन्नेहरू आएका छन् । ‘जति समय लागोस् यो अपहरण विवाह उन्मूलन गरेरै छाड्ने सोच छ’, उनले आत्मविश्वास दर्शाइन् । उनी इन्जिनियरिङ पढ्ने तयारी गरिरहेकी छन् । भन्छिन्, ‘पेसाका लागि इन्जिनियरिङ र रहरका लागि सामाजिक सेवा सँगसँगै अगाडि बढाउँछु ।’