काभ्रे भीरमा सडक कटान, बेनी-जोमसोम सडक अवरुद्ध
बेनी/जोमसोम : म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रे भीरमा कालीगण्डकी नदीले सडक कटान गरेपछि म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। शुक्रबार दिउँसो थासाङ गाउँपालिका–४ मा कालीगण्डकीले करिब दश मिटर सडक कटान गरेपछि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक अवरुद्ध भएको हो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रशिङ शेरचनले कालीगण्डकीमा आएको बाढीले सडक कटान गरेर बगाएको जानकारी दिए । सडक अवरुद्ध हुँदा बेनीबाट जोमसोमतर्फ र जोमसोमबाट बेनीतर्फ हिडेका सबै सवारी साधन रोकिएका छन्। यात्रामा रहेका तीर्थयात्री, पर्यटकहरु अलपत्र परेका छन् । ढुवानी समेत प्रभावित भएको छ ।
गलेश्वरस्थित रघुगंगा नदीमाथिको बेलिब्रिज र बस्ती कटानको चपेटामा परेको छ । बेगखोला, घट्टेखोला लगायतका खोल्सामा आउने बाढीले सडक अवरुद्ध गराउन थालेको छ ।
स्तरोन्नतिको क्रममा रहेको सडकको धेरै ठाउँमा हिलो जमेर गाडी फस्ने समस्या छ । बैसरी, चमेरे, तितर, जलथले र काभ्रेभिरमा पहिरोले सताउन थालेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाको काम समेत प्रभावित भएको छ । सामान्य अवस्थामा पाँच घण्टामा पार गर्न सकिने ७६ किलोमिटर दुरीको यो सडक पार गर्न अहिले पुरै दिन लाग्ने गरेको छ ।