गुमनाम नेपाली आइफा

गुमनाम नेपाली आइफा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राजधानीको एक कार्यक्रममा कुरा मिले अझै भारतीय फिल्म अवार्ड आइफा इभेन्ट हुन सक्ने अभिव्यक्ति दिएका छन्। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले पनि मिडियाहरूले आइफा नहुने घोषणा आफैं गरेको अभिव्यक्ति दिएका छन्। यसले भारतीय फिल्म अवार्ड आइफा इभेन्टको ज्वरो घटेको देखिएको छैन।

अर्बौं खर्च गरेर महोत्सव गर्न नहुने आवाज उठेपछि आइफा अवार्ड रोक्ने घोषणा आयोजकमध्येको एक नेपाल पर्यटन बोर्डले गरेको थियो। तर सरकार प्रमुखको अभिव्यक्तिपछि यो विषयले पुनः शिर उठाएको छ।

यता नौपटक आयोजना भइसकेको नेपाली आइफा महोत्सव भने गुप्तबासमा छ। आइफा अर्थात् इन्डिजिनियस फिल्म अर्काइभ। यसले सन् २००७ बाट अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव आयोजना गर्न सुरु गरेको थियो। यो समग्रमा आइफा महोत्सवका रूपमा चिनिन्थ्यो। नवौं संस्करणसम्म सफलतापूवर्क सम्पन्न गरेर २०७२ सालदेखि यसको अर्को संस्करण हुन सकेको छैन।

पछिल्ला ६ वटा संस्करणको आइफा महोत्सवका संयोजक रहेका सञ्जोग लाफामगरका अनुसार आदिवासी जनजातिको इस्युमा फिल्म बनाउनेका लागि यो एक प्रकारको कुम्भ मेलाजस्तै थियो। महोत्सवका लागि प्रत्येक वर्ष दुई सयभन्दा बढी फिल्म तथा वृत्तचित्र प्राप्त हुन्थे। तीमध्ये प्रदर्शनका लागि ७० हाराहारीमा छनोट हुन्थे। यसमा विदेशी ४० देखि ५० तथा स्वदेशी १५ देखि २० वटा फिल्म हुन्थे।

विदेशी निर्माताहरूले बनाएको चलचित्र हेरेर यहाँका आदिवासी जनजाति चलचित्रकर्मीहरूले बनाउने शैली सिको गरिरहेका थिए। आइफाले महोत्सवको बेला तथा अघिपछि पनि आयोजना गर्ने प्रशिक्षणबाट धेरैजना लाभान्वित भएका थिए।

आइफा एक संस्थाकै रूपमा दर्ता पनि भएको छ। यसको अध्यक्षमा निर्देशक नवीन सुब्बा छन्। महोत्सव हुन छाडेपछि दुई वर्षदेखि यसको नवीकरणसमेत हुन सकेको छैन। अनामनगरको एककोठे कार्यालयमा ताला लागेको छ। आइफा महोत्सवकै परिवेशमा रहँदै मूलधारको फिल्म निर्देशनमा दीपेन्द्र लामा जमिसकेका छन्। दोस्रो आइफा महोत्सवको संयोजकसमेत रहेका उनी आइफाको उपाध्यक्ष पनि हुन्।

जनआन्दोलन २०६२÷६३ पछि पहिचानको राजनीतिले छोप्दा यसको असर फिल्म क्षेत्रमा पनि पर्नु स्वाभाविक थियो। त्यसैले विभिन्न जाति, भाषीले फिल्म बनाउने क्रम ह्वात्तै बढ्यो। आइफा महोत्सव हुनुभन्दा अगाडि सन्जोग लाफामगरले ‘लिसरा’ र ‘आसे’ गरी मगर जाति केन्द्रित दुइवटा फिल्म बनाएका थिए। तर, आइफा महोत्सवको आयोजक भएपछि उनले फिल्म बनाउनै छाडे। उत्साह बढ्नुपर्नेमा किन निराशा त ? मगर भन्छन्, ‘महोत्सवले मलाई के सिकायो भने सम्बन्धित जातिको भाषा र भेषभूषा प्रयोग गर्दैमा त्यो आदिवासी चलचित्र नहुँदो रहेछ। त्यसको लागि त सम्बन्धित समाजको मौलिक कथा नै खोतल्नुपर्ने रहेछ।’

मगरले आफ्नो मौलिक कथालाई फिल्मी पटकथाको रूप दिन नभ्याउँदा फिल्म बनाउन छाडे। तर आइफा महोत्सवको संयोजक भएर अरूलाई फिल्म बनाउन उत्प्रेरित गरिरहे।

किन बन्द भयो आइफा ?

आइफाको प्रमुख स्रोत थियो, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट प्रत्येक वर्ष प्राप्त हुने रकम। आदिवासी जनजाति आयोग, समावेशी आयोग गठन गर्ने प्रक्रियासँगै प्रतिष्ठानको बजेट कटौती गरियो। आयोजकहरू अरूतिर दौडधुप गर्न सकेनन्। त्यसपछि २०७२ वैशाखको भूकम्पपछि आइफा पुनः उठ्न सकेन। के आइफा पुनः बौरिन सक्दैन ? आइफाका अध्यक्ष नवीन सुब्बासँग सम्पर्क गर्न खोज्दा हाल अमेरिका रहेकाले उनीसँग दोहोरो सम्पर्क हुन सकेन।

आदिवासी चलचित्रकर्मी एकजुट

आइफाले आयोजना गर्ने गरेको अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव हाल स्थगित भए पनि यसको वैकल्पिक शक्तिका रूपमा आदिवासी जनजाति चलचित्र महासंघ देखिएको छ। महासंघले यो वर्ष जेठको तेस्रो साता चौथो आदिवासी जनजाति चलचित्र महोत्सव मनाएको छ। पहिलो वर्र्ष उत्सवका रूपमा मनाइएको थियो।

यद्यपि आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गर्ने गरेको महोत्सव भने राष्ट्रियस्तरमा मात्र सीमित छ। महोत्सवमा प्रत्येक वर्ष २०÷२२ वटा चलचित्र प्रदर्शन भइरहेका छन्। आइफाले गर्ने गरेको महोत्सवमा पनि २०/२२ वटा नेपाली चलचित्र नै प्रदर्शन हुन्थ्यो। तर त्यसमा ५० हाराहारीमा अन्तर्राष्ट्रिय चलचित्र पनि आउँथे। महासंघका अध्यक्ष अमृत सुनुवार भन्छन्, ‘हाम्रो प्रयास पनि आदिवासी जनजाति केन्द्रित अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गराउने नै हो। तर अर्थको समस्याले मार्छ।’

चलचित्र विकास बोर्डमा प्रत्येक वर्ष ७० देखि ८० को हाराहारीमा आदिवासी जनजाति केन्द्रित फिल्म दर्ता भइरहेका छन्। दर्ता भएकामध्ये एक चौथाइ अर्थात् २० हाराहारी फिल्मले मात्र सेन्सर बोर्डबाट प्रदर्शनका लागि इजाजत लिन सकेका छन्। तर नेपालीभाषी फिल्मले जसरी हलमा अहिले पनि ५१ दिन मनाइरहेका छन्, आदिवासी जनजाति केन्द्रित फिल्मले हलको बाटो समाउन सकेका छैनन्। महासंघका अध्यक्ष सुनुवारका अनुसार निर्माताहरूले च्यारिटी सोबाटै लगानी उठाउनुपर्ने अवस्था छ।

आइफाका सचिवसमेत रहेका लाफामगर भन्छन्, ‘भारतीय फिल्म अवार्ड आइफा इभेन्ट गर्न एक अर्ब रुपैयाँ जुटाइदिन वाचा गर्ने सरकारले यहाँको आइफाले गर्ने महोत्सवमा एक करोड रुपैयाँ मात्रै व्यवस्था गरिदिने हो भने पनि धेरै राम्रो आउटपुट दिन सक्छौं।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.