चार सन्तानलाई कोशीमा फालेकी आमा : हिरासतमै मुर्छा पर्छिन्, टाउको बजार्छिन्
राजविराज : हनुमाननगर कंकालिनीस्थित भारदह अस्पताल र कञ्चनरुपस्थित धर्मेश्वर अस्पतालमा शारीरिक उपचार पश्चात उनलाई प्रहरीले हिरासतमा राखेको छ। तर उनी मानसिक रुपले विक्षिप्त छन्।
क्षणिक आवेशमा आफ्ना छोराछोरीको हत्याको पश्चातापमा उनी बेला–बेलामा मुर्छा पर्छिन, कराउँछिन् र आफ्नो टाउको भित्तामा बजार्छिन्। प्रहरीका अनुसार मनोरोगी बनेकी उनको सुरक्षाका लागि एक महिला प्रहरीलाई निगरानीमा खटाइएको छ।
आफ्ना छोराछोरीको हत्या आरोपमा २९ वर्षीया रुक्साना खातुनविरुद्ध सप्तरी प्रहरीले कर्तव्य ज्यान मुद्दामा उजुरी दर्ता गरेको छ। केही दिनदेखि विक्षिप्त बनेकी उनको अवस्थामा सुधार आएपछि उजुरी दर्ता गरी उनलाई इलाका प्रहरी कार्यालय, कञ्चनरुपको हिरासतमा राखिएको छ।
रुक्सानाकी सासु ७० वर्षीया जलेश्वर खातुनले दिएको उजुरीका आधारमा आरोपितलाई नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी मकेन्द्रकुमार मिश्राले बताए।
के हो घटना ?
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदीमा असार २० गते राति पालैपालो तीन छोरा र एक छोरीलाई फालेपछि आफू पनि हाम्फालेर रुक्सानाले आत्महत्याको प्रयास गरेकी थिइन्। नदीको पानीले हुत्याएर पाँच वर्षीय छोरा तहसिल संयोगले बाँचे।
नदीले बगाएर तीन किलोमिटर टाढा पुगेकी खातुनलाई झ्याङमा अड्किएको अवस्थामा कोशी नदीमा काम गर्ने मजदुरहरूले असार २१ गते उद्दार गरी बचाए। तर छोराहरू १२ वर्षीय मो. तारिक सिक, ३ वर्षीय आसिलम सिक र छोरी दुई वर्षीया आजमिन खातुनको ज्यान बचेन। पढ्नुस्ः जो चार सन्तानसहित सप्तकोशीमा हाम फालिन्
प्रारम्भिक अनुसन्धानका आधारमा अर्की महिलासँग सम्बन्ध राखी श्रीमान् मो. तैयवले दिनहुँ यातना दिन थालेपछि रुक्सानाले यस्तो कदम उठाएको देखिएको डीएसपी मिश्राले बताए।
कसूर गर्न बाध्य बनाउने उनका पतिलाई पनि कानुनी कारवाहीको दायरामा ल्याउन अधिकारकर्मीले माग गरेका छन्।
अधिवक्ता मीना देवले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ३५ र १८५ अनुसार पतिलाई कारवाही हुनुपर्ने माग गरिन्। धारा ३५ मा कसैले कसैलाई कुनै कसूर गर्न उक्साई दुरुत्साहन दिएमा कसूर भएको भए स्वयंले कसूर गरे सरहको सजाय र कसूर भई नसकेकोमा आधा सजाय हुने व्यवस्था छ।
यसैगरी दफा १८५ मा आत्महत्या गर्न दुरुत्साहन दिने वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था छ।
साढे चार वर्ष अघिको उस्तै घटना
सप्तरीमा यसअघि २०७१ पुस १८ गते पनि यस्तै घटना भएको थियो। रुपनी गाउँपालिका ६ तेरहौताकी २६ वर्षीया सजनदेवी सदाले ६ वर्षीय छोरा सन्तोष, तीन वर्षीया छोरी नन्दनी र ६ महिनाकी छोरी अञ्जलीको हत्या गरी कोसी नदीमा फालेर आत्महत्या प्रयास गरेकी थिइन्।
पति अशोक रोजगारीका लागि ललितपुरको इमाडोलमा बस्ने गरेको तथा गरिबी र ससुरा केसियल सदाको यौन शोषणबाट आजित भई छोराछोरीको हत्या गरेपछि तीनपटक आत्महत्या प्रयास गरेको अञ्जलीले बयान दिएकी थिइन्।
२०७१ माघ ९ गते प्रहरीले उनका ससुरा ४५ वर्षीय केसियल सदालाई पक्राउ गरी केही सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्दा चलाएको थियो। उतिबेला मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा जस्तो अपराध गर्न दुरुत्साहन गर्नेलाई कानुनी सजायको व्यवस्था थिएन।
२०७१ माघ १० गते राजविराज नगरपालिका १० स्थित नहरको डिलमा फालिएकी पाँच दिनकी शिशुलाई उद्धार गरी प्रहरीले उनकी आमालाई पक्राउ गर्यो। यसअघि नै दुई छोरीकी २३ वर्षीया आमाले छोरी पाल्न नसकेर फालेको बयान दिइन्।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा एक साता उपचारपछि जिल्ला प्रहरी कार्यालयले बालिकाको स्वास्थ्य, सुरक्षाको जिम्माको कागज गराई २०७१ माघ १७ गते बालिकालाई आमासँगै घर फर्कायो।
आमाहरू : कोही थुनामा, कोही फरार
हनुमाननगर योगिनीमाई नपा ४ की दुई वर्षीया प्रमीलाकुमारी मण्डलको हत्या आरोपमा उनकी आमा २५ वर्षीया रानीदेवी मण्डल र उनका प्रेमी मलेकपुर गाविस १ का २९ वर्षीया शिवशंकर माली जन्मकैदको सजाय भोगिरहेका छन्।
प्रेमी शिवशंकरसहित २०७३ असोज १२ गते फेला परेकी रानीले श्रीमानले साउदी अरबबाट २०७३ साउन १६ गते घर फर्कने बताएपछि साउन १२ गते नै कान्छी छोरी प्रमिलाको हत्या गरी प्रेमीसँग हिँडेको बताइन्। प्रमिलाको शव भने फेला परेन।
बलान बिहुल गाउँपालिका ४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको २०७५ माघ १४ गते हत्या गरेको आरोपमा उनका बुवा ४५ वर्षीय तुरन्तलाल बडही पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्। मृतककी आमा ४३ वर्षीया पवनदेवी बडही घटनालगत्तै फरार रहेकीले उनलाई सप्तरी जिल्ला अदालतले वारेण्ट जारी गरेको छ।
भारतमा विवाहिता दिदीका देवरसँग प्रेम गरिरहेकी सरीताले घरपरिवारले मञ्जुरी नदिए पनि प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि बुवाआमाले नै सरीतालाई कुटपिट गरी हत्या गरेको आरोप छ।
डाकनेश्वरी नगरपालिका ५ पातोका तीन वर्षीय रामअवतार खंग मण्डलको हत्या आरोपमा उनकी काकी २५ वर्षीया उर्मिलादेवी खंग मण्डल पुर्पक्षका राजविराज कारागारमा थुनामा छिन्। जेठानीसँगको रिसमा २०७३ माघ २३ गते घरमा ठूला मानिस नभएको मौका पारी घाँटी थिचेर हत्या गरेको उनले स्वीकारेकी छन्।