एक वर्षअघि बनाएको पक्की घर पनि बगायो बाढीले
राजविराज : तीन दिनदेखिको अविरल वर्षाले शनिबार सप्तरीको खडक नगरपालिका–८ बिसनपुर चोकस्थित मुसहर्निया खोलाको बाँध कटान गर्दै एउटा पक्की घर नै बगाएको छ ।
गत वर्ष मात्रै रामानन्द चौधरीले बिसनपुर चोकमा बनाएको घर बिहान एक्कासी खोलामा आएको बाढीले बाँध कटान गरी बगाएको हो । वडाध्यक्ष मो. इसराईल मियाँका अनुसार खडक नदीको बाढीले खडक नगरपालिकाका दर्जनौैँ घरमा क्षति पु¥याएको छ ।
खोलाको बाढीले असार २० गते निर्माण सम्पन्न भएको बिसनपुर–स्वर्णपट्टी सडक पूर्ण क्षति भएको छ । सडक कटानले बाटो अवरुद्ध भएको उनले जनाए ।