हिमाली भेडा नाउर
उच्च हिमाली क्षेत्र अर्थात् हिमाली जिल्लामा पाइने जनावर नाउर हो । समुद्री सतहबाट करिब तीन हजार मिटरको उचाइदेखि पाँच हजारभन्दा धेरै उचाइसम्म पाइने हिमाली भेडा नाउर हो ।
नाउरलाई अंग्रेजीमा ब्लुसिप भन्ने गरिन्छ । स्तनधारी जनावरको रूपमा चिनिने नाउर नेपालका लगभग सबै हिमाली जिल्लाहरूमा पाइने जनावर हो । अधिकांश परिवारमा अर्थात् बथानमा बस्ने जनावरमा पर्छ नाउर ।
नेपाललगायत तिब्बत र भुटानमा समेत नाउर पाइन्छ । जंगली भेडामा निकै ठूलो मानिन्छ नाउर । यसको करिब एक सय किलोभन्दा बढी तौल हुन्छ । नाउरको सिङको लम्बाइ एक सय ३५ सेन्टिमिटरसम्म हुन्छ ।
जंगली भेडा अर्थात् नाउरको पाँचवटा प्रजातिहरू रहेको पाइन्छ । त्यसमध्येको नेपालमा धेरै मात्रामा पाइने हिमाली भेडा नाउर हो । पेट तथा सपेटामा हल्का खैरो र अन्य भागमा अलि धेरै खैरो देखिन्छ । भाले र पोथीको पुच्छर भने सानो हुन्छ । पोथीको सिङ र शरीर भालेभन्दा केही गुणा सानो हुन्छ ।
नाउर गर्मी समयमा करिब १५ हजार फिटभन्दा माथि नै बस्ने गर्छ । जाडो समयमा अलि तल झर्ने गर्छ । बिहान र साँझपख मात्रै आहाराका लागि निकै सक्रिय हुने गर्छन् उनीहरू ।
बथानमा रहने नाउर भाले लाग्ने समय भने यकिन हुन सकेको छैन । जेठ असार महिनातिर नाउरले बच्चा जन्माउँछन् । भाले र पोथी अधिकांश समय सँगै रहेका हुन्छन् । नाउर करिब १५ वर्षसम्म बाँच्ने जनावर हो ।
नेपालको लाङटाङ, मकालु वरुण राष्ट्रिय निकुञ्ज, ढोरपाटन सिकार आरक्ष मुस्ताङ र डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा यो जनावर पाइने गर्छ । ढोरपाटन सिकार आरक्ष नाउर सिकार गर्न पाइने प्रसिद्ध ठाउँ हो । यहाँ विदेशीहरू समेत नाउरको सिकार खेल्न आउने गरेका छन् ।
शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पनि नाउरको संख्या धेरै छन् । डोल्पाको माथिल्लो क्षेत्रमा पाइने नाउरलाई हिउँचितुवाको आहाराको रूपमा लिने गरिन्छ ।
बाक्लो रौंले छोपिएको शरीर भएको नाउरलाई विशेषगरी मासुकै लागि मार्ने गरिन्छ । एउटै नाउरको मासु एक सय किलोभन्दा बढी र निकै स्वादिलो हुने भएकाले पनि यसको सिकार धेरै हुने गर्छ ।
चोरी सिकारी, हिउँ पहिरो तथा हिउँचितुवाले मार्ने क्रम बढेकाले नाउरको संख्या घट्दै गएको माथिल्लो डोल्पाका स्थानीय बताउँछन् । तर माथिल्लो डोल्पाका मानिस भने नाउरको सिकार गर्दैनन् ।
बुद्ध धर्म मान्ने भएकोले काटमार तथा पापका काम गर्नु हुँदैन भन्ने जनविश्वास रहेको छ । नाउर माथिल्लो डोल्पाका घर छेउमै बसेर चरण गरिरहेको देख्न पाइन्छ । सबैभन्दा धेरै प्राकृतिक विपत्तिले नै नाउर मासिँदै गएको स्थानीय बताउँछन् ।
सुनबुकी, बुकी, कोइला धेरै रुचाउने नाउर निकै सुन्दर र खाइलाग्दो शरीर भएको जनावर हो । घुमाउरो सिङ भएका भालेहरू त्यति धेरै हिँड्न भने सक्दैनन् । बथानलाई पोथी नाउरले नेतृत्व गरिरहेको हुन्छ । खतरा भएको खण्डमा सिठी लगाउने र बथानलाई सचेत गराउने काम पोथी नाउरले गर्छ ।
दिनभर भीर पहराहरूमा बस्ने र साँझ बिहान आहाराका लागि बथानै निस्कने गर्छन् । नाउरका भाले र बच्चाहरू मस्त चरिरहने गर्छन् भने पोथीहरू खतरा छ कि भनेर बथानको गार्डमा बसेर हेरिरहेका हुन्छन् ।
नाउरलाई वर्षायाममा भेडा गोठालाहरूले खोर बनाएर मार्ने गरेको पनि पाइन्छ । यदि त्यसरी मारेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रावधान रहेको छ । हिउँदको समयमा भने हिउँ पहिरोमा परेर पनि यी जनावर धेरै मर्ने गर्छन् ।