बेंसीसहर-चामे सडकमा पहिरै पहिरो (फोटोसहित)
बेसीशहर : हिमाली जिल्ला मनाङ जोड्ने बेंसीसहर-चामे सडकको विभिन्न स्थानमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ।लगातारको वर्षाले ठाउँ ठाउँमा पहिरो गएको स्थानीयले बताएका छन्।
मस्र्याङदी गाउँपालिका-३ अर्खलेबेंसीका जीतबहादुर गुरुङले दिनदिनैजस्तो पहिरो खस्न थालेको बताए। पहिरोका कारण आवातजावतमा समस्या भएको र घर समेत पहिरोको जोखिममा रहेको उनले बताए। 'बर्खा लाग्यो। सडकको हालत यस्तो छ। दिनदिनै बाढीपहिरो आउँछ। सवारी समेत गुड्न सक्दैन। मान्छे कसरी हिँड्ने,' उनले भने, 'पोहोर भदौ २७ गते ठूलो बाढीपहिरो आएको ठाउँमै अहिले पनि पहिरो झर्दैछ। घर नै बगाउने होकी भन्ने डर छ।'
मस्र्याङ्दी गाउँपालिका-४ स्याँगेका नरबहादुर गुरुङले बाढीपहिरो खसेको दिनमा डोजरले बाटो बनाएपनि पुनः भोलिपल्ट पहिरो जाने गरेको र बाटोमा हिँड्न नसकिएको बताए। उक्त क्षेत्रको तातोपानी भीर, अर्खलेबेंसी, शिरचौरलगायतका ठाउँमा दैनिक पहिरो जाने गरेको उनले बताए। घेर्मुका बिर्ख गुरुङले पहिरोले सडकमा धाजा फाट्न थालेको बताए।
मस्र्याङदी-४ का वडाध्यक्ष सुमन गुरुङका अनुसार बेंसीसहर-चामे सडकमा पटक-पटक बाढीपहिरो जाँदा स्थानीयले सास्ती व्यहोर्नु परेकोछ।
बाढीपहिरोका कारण भनेको समयमा स्थानीयले सेवा पाउन नसकेको उनले बताए। बाढीपहिरो चल्ने वित्तिकै डोजरले पन्छाउने गरेपनि पुनः पहिरो खस्दा समस्या भएको उनले बताए।
बेंसीसहर-चामे सडकअन्तर्गत पर्ने बेंसीसहर नगरपालिका-६ बेलौतिविसौना नजिकैको खरखरे भीर, मस्र्याङदी गाउँपालिकाको अर्खलेबेंसी, घोप्टेभीर, काप्रेभीर, रामबजार, स्याँगे, शिरचौर, च्याम्चेलगायतमा ठाउँमा पहिरो चलेपछि उत्तरी क्षेत्रका स्थानीय र मनाङका स्थानीयलाई सकस भएको बताए।
लमजुङ मनाङ सिमाना म्यार्दीखोला उर्लदा गाडी वारपार गर्न सकेका छैनन्। उक्त खोलामा बनाएको बेलिव्रिज दुई साताअघि बगाएको छ। यही सडक भएर दैनिक एक सय बढी सवारी गुड्ने गर्छन्। पहिरोका कारण मनाङ र उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकाका स्थानीय समस्यामा परेका छन्। सदरमुकाम बेसीशहरबाट तीन किलोमिटरको दुरीमा रहेको उतिसघारी खरखरेमा हिउँद बर्खा दुवै समय पहिरो खस्ने गरेको स्थानीय बताउँछन्।
पहिरो पन्छाउने दीर्घकालीन उपाय नअपनाउँदा सधैं सास्ती खेप्नुपरेको लमजुङ उद्योग बाणिज्य संघ खुदी इकाईका सचिव सूर्यप्रकाश कतिलाले बताए। मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पहिरो नियन्त्रणका दीर्घकालीन उपाय खोज्न डिभिजन सडक कार्यालय तथा सम्बन्धित सरकारी निकायलाई बारम्बार घच्चाए पनि सुनुवाई नभएको बताए।