अमेरिकाबाट फर्केर क्यानभासमा
काठमाडौं : अमेरिकामा जिन्दगी ठिकठाकै चलिरहेको थियो प्रदीप वज्राचार्यको। काम राम्रो थियो, पैसा पनि मनग्गे कमाउँथे। घरपरिवार सबै खुसी थिए। तर कुची र रङमा रमाउने प्रदीपको मन अमेरिकामा अडिन सकेन।
प्रदीप दिनभर काम गर्न जान्थे, सबै सुविधा पर्याप्त थियो। तैपनि कताकता के नपुगेजस्तो लाग्थ्यो उनलाई। मन आफूसँग के नभएजस्तो जस्तो। अमेरिका छिरेदेखि नै हो, उनले रङसँग धीत मरुन्जेल खेल्न नपाएको। प्रकृतिका मनोरम छटाको सुन्दरता हेर्दै घण्टांै रमाउन नपाएको। अमेरिकामै पनि नीलो सागरको किनारामा बसेर क्यानभास सजाउन नपाएको।
प्रदीप पेसाले कलाकार। ललितकला कलेजका पूर्वविद्यार्थी। काठमाडांै वसन्तपुरका रैथाने। नेवारी चालचलन, संस्कार र संस्कृतिका हिमायती। काठमाडांैको जात्रापर्व र देवीदेवता, लाखेनाच, कुमारीका चित्र बनाएरै हुर्किएका हुन् उनी। रहरैरहरमा चित्र बनाउन थालेका प्रदीप एसएलसीपछि भने चित्रकार बन्छु भन्ने सोचले नै फाइन आर्ट विषयमा भर्ना भए।
स्कुल पढ्दा पोस्टकार्ड, पोट्रेट र विभिन्न चित्र बनाउने गर्थे। काष्ठमण्डप मन्दिर, वसन्तपुर डबली, हनुमानढोका परिसरमा गएर घण्टौं चित्र कोरेर बस्थे। डोकोमा तरकारी ल्याएर बेच्ने आमाहरू, फूल बेच्ने बहिनीहरू, परेवालाई चारो हाल्दैे गरेका आमाबुवा, मन्दिर परिसरमा घुम्न आउने युवाजोडी उनका क्यानभासमा कैद हुन्थे। सुरुआती अवस्थामा सामान्य दिनचर्याका दृश्यमा कुची चलाएका प्रदीपले फेस्टिभल सिरिजमा त लगातार दुई वर्षसम्म काम गरे। फेस्टिभल सिरिजमा काठमाडौंका चार्डपर्व र जात्राहरूले ठाउँ पाए। यही सिरिजमा एकल सोसमेत गरे।
प्रदीपलाई लाइभ आर्ट गर्न मन पर्छ। कुनै पनि ठाउँमा निश्चित समयमा देखिने दृश्यले उक्त समयको भाव देखाउने उनको बुझाइ छ। उनको फेस्टिभल मुड्स, हेरिटेज पानोरमा, मुड्स एन्ड मज्जा लगायतका पाँच पटक एकल चित्र प्रदर्शनी भइसकेको छ।
प्रदीप आठ वर्षसम्मको अमेरिका प्रवासपछि हालै नेपाल फर्किएका छन्। फर्किएलगत्तै उनी ओसन सिरिजमा आर्ट प्रदर्शनीको तयारीमा छन्। अमेरिकामै पनि उनका नजिकका साथीहरूले चित्रकार भन्ने थाहा पाएपछि पोट्रेट बनाउन लगाउँथे। पोट्रेट बनाएर भए पनि उनले अमेरिकामा रङसँग खेल्ने रहर पूरा गरेका थिए। त्यहाँको ग्यालरीमा चित्र प्रदर्शन गराउने मन थियो तर विदेशी भूमिमा चित्रकारका रूपमा दरिन सहज भएन। त्यसैले उनलाई अमेरिका बस्न मन लागेन। नेपाल फर्केर धीत मरुन्जेल रङसँग खेल्ने सपना थियो। भन्छन्, ‘त्यसैले आफ्नै गाउँ फर्की आएँ।’
काम गर्ने सिलसिलामा प्रदीपलाई कतिपय दृश्यले छुँदा मोबाइलमा क्याप्चर गरिहाल्थे। फुर्सदमा क्यानभासमा उतार्थे। अमेरिकामै हुँदा ओसन सिरिजमा बनाएका अपूर्ण चित्रहरू छन् उनीसँग। यी चित्र पूरा गरेर पुनर्जीवन दिने प्रयासमा छन् उनी। उनले डल्लुमा सानो आर्ट स्टुडियो स्थापना गरिसकेका छन्। त्यहाँ उनी चित्र बनाउनसमेत सिकाउँछन्।
प्रदीपले पहिलो पटक चित्र बेचेर १५ सय रुपैयाँ कमाएका थिए। अहिले एउटै चित्र तीन लाख रुपैयाँसम्ममा बेचेका छन्। नेपालमा पछिल्लो समय आर्टमा निकै सम्भावना देख्छन् उनी। काठमाडौंमा ग्यालरी खुल्ने क्रम बढेको, प्रायः हरेक आर्टिस्टले आफ्नै घर र डेरामा पनि स्टुडियो स्थापना गरेकोमा खुसी लागेको उनले बताए। अझ व्यापारिक भवन तथा विभिन्न सरकारी कार्यालयमा आर्ट सजाउने चलन बढेको तथा आमनेपालीले पनि चित्र किन्ने परम्परा बसालेको देख्दा दंग छन् उनी। उनलाई लाग्छ— यसले कलाकारको स्तर माथि उठाउन मद्दत गर्छ।
अहिले प्रदीप फुल टाइम आर्टमै सक्रिय छन्। घरमै बसेर काम गर्न रमाइलो लागेको अनुभव सुनाए उनले। उनकी श्रीमती पनि इन्टेरियर डिजाइनर हुन्। प्रदीपको कामलाई सम्मान गर्दै उनी भन्छन्, ‘आफ्नै गाउँघरभन्दा प्यारो केही नहुने रै’छ। आफ्नै देशमा भन्दा बढी खुसी कहीँ नमिल्ने रै’छ।’