विराटनगरमा बाढीले बिचल्ली

विराटनगरमा बाढीले बिचल्ली

विराटनगर : डुबानका कारण मोरङको विराटनगर–१२ का अजय ऋषिदेव तीन छोरा र श्रीमतीसहित विस्थापित भएका छन्। उनीहरू नजिकैको बखरी आधारभूत विद्यालयमा आश्रय लिएर बसेका छन्। ‘सुतेको ठाउँबाट पानीले राति नै उठिवास लगायो’, उनले भने, ‘नजिकैको विद्यालयमा आएर पानीबाट ज्यान त जोगायौं तर अब भोकले मरिन्छ जस्तो छ।’

स्थानीय मूर्तिदेवीले घरमा बाढी पस्दा ज्यान जोगाउन स्कुलतिर दगुरेको बताइन्। ‘सुत्न त एउटा बिछ्याउना दिए तर अरू पाँच जना भुइँमै सुत्नुपर्यो’, उनले भनिन्। नेताहरू आएर सबै व्यवस्था हुन्छ भने पनि चर्को नुन भएको खिचडीबाहेक केही नदिएको उनले सुनाइन्।

डुबानका कारण विस्थापित ३ सयभन्दा बढीले शुक्रबारको रात विद्यालयमा कटाए। विराटनगर महानगरपालिकाले शनिबार बिहान विस्थापितलाई खिचडी बाँडेको थियो। नुन चर्को भएकाले खान नसकेको पीडितको भनाइ छ। ६५ वर्षीया पारो ऋषिदेवले बाढीले घरमा भएका सबै सामान बगाएको सुनाइन्। ‘दैनिक मजदुरी गरेर जोहो गरेको सामान बाढीले बगायो’, उनले भनिन्, ‘स्कुलमा बस्न आयौं तर न खाना राम्रो छ न त सुत्ने व्यवस्था नै। स्वास्थ्य परीक्षण गर्न कोही आएका छैनन्।’

वडा नम्बर १२ स्थित विद्यालयमा २ सयभन्दा बढी विस्थापित बसेका छन्। उनीहरूलाई महानगरले खानाबाहेक अरू केही राहत दिएको छैन। अन्य स्थानमा बसेकालाई केही खान नदिएको र आफन्तकहाँ गएर खाने गरेको पीडितको गुनासो छ। स्थानीय सुदामादेवी राजवंशीले बाढी घरमा दुई दिनदेखि पसे पनि कसैले केही राहत नदिएको बताइन्। छोराछोरी आफन्तकहाँ गई खाएर आएपछि घरको रेखदेख गरेर दिन बिताउने गरेको उनले सुनाइन्। ‘आँगनमा अझै दुई फिट पानी छ’, उनले भनिन्, ‘घरमा बस्ने अवस्था छैन। समस्या बुझ्न नआउनेले के राहत दिन्छ ? ’

मेयर भीम पराजुलीले बाढीबाट विस्थापितलाई विभिन्न स्कुलमा खान र बस्न व्यवस्था मिलाइएको बताए। ‘सबै वडाका अध्यक्षहरूलाई व्यवस्थापन गर्न जिम्मेवारी दिएका छौं’, उनले भने, ‘सबैलाई राहत पुर्याउन लागेका छौं। प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी समस्या समाधान गर्छौं।’

उनका अनुसार वडा नम्बर १२, ७, ८ र १ का बाढीपीडितलाई उद्धार गरी विभिन्न स्थानमा राखिएको हो। हाटखोलाबाट दक्षिणतर्फका बाढीपीडित नदी उकास क्षेत्रमा त्रिपाल टाँगेर बसेका छन्। कार्यकारी अधिकृत टेकराज अधिकारीका अनुसार ९ सय स्थानीय विस्थापित भएका छन्। उनीहरूलाई राहत र पुनर्वासको व्यवस्था गर्न लागिएको उनले बताए।

वडा नम्बर ७ का १३, विजयपुर सुकुम्बासी बस्तीका २५, हनुमान मन्दिरछेउ सुकुम्बासी बस्तीका २० र जिल्ला प्रहरी कार्यालय पछाडिको बस्तीका २० परिवार विस्थापित भएका छन्। वडा नम्बर २ को मुसहर बस्तीका २०, बरौलीका सात, पारिजात र सुमहर टोलका ५०, हरियाली टोलका ५० परिवार विस्थापित भएका छन्। धुधुवा, बखरी र ऋषिदेव बस्तीका ३५, विराटनगर– १९ का २० परिवार विस्थापित भएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.