नाति र बुहारी गुमाएकी आमाको रोदन- भगवानले मलाई किन लगेनन्?
भोजपुर : बिहानको साढे ७ बज्दै थियो।एकनासले पानी परिरहेको थियो। रामप्रसाद राई गाउँपालिका-५ मानेभञ्याङ तुन्ताङका ४६ वर्षीय कुमार राईकी श्रीमती मनकुमारी राई पालीघरमा भान्सामा मकैको खाजा बनाउँदै थिइन्। जेठो छोरो १७ वर्षीय शिवकुमार र कान्छो छोरो १५ वर्षीय शक्तिकुमार कोठामा पढ्दै थिए। कुमार र उनकी ७७ वर्षीया आमा कालीमाया राई भने मुलघरमा बसेर गफ गर्दै थिए। एकाएक घरमाथिबाट गड्यागुडुङ आवाज आयो।
आवाजसँगै खसेको पहिरोले पालीघर पुर्यो। हतासमा कुमारकी आमा बेहोस् भइन्। आफ्ना आँखा अगाडी मकैको खाजा बनाउँदै गरेकी जीवनसंगिनी र कोठामा पढ्दै गरेका दुई भाइ छोरालाई पहिरोले पुरिदिएपछि कुमारको होसहवास उड्यो। सपनाजस्तै त्यो कहालीलाग्दो दृश्यले कुमार नतमष्तक भए। हेर्दाहेर्दै जीवनसाथी र मुटुका टुक्रा गुमाए।
एकछिन पछि वरपरका छिमेकी भेला भए। कोही बेहोस भएकी बुढीआमालाई संझाउन थाले भने कोही कुमारलाई सम्हाल्दै थिए।कोही प्रहरीलाई खबर गर्दै थिए त कोही पहिरो हटाउने सामाग्री जुटाउनेतर्फ लाग्न थाले।
हेर्दा हेर्दै कुमार र उनकी बुढीआमाको हालत दयनीय अवस्थामा पुग्यो। होसहवास गुमेको शरीर होसमा आउने वित्तिकै एकहोरो बरबराउँथ्यो। 'मेरी मनकुमारी, मेरा बाबु' भावविह्वल मुद्राका कुमारका मुखबाट यही शब्द एकोहोरो निस्किरहेका थिए। उनी बर्बराउँदै 'पहिरोले मेरो संसार सक्यो, पत्नी र छोराहरु निल्यो', भन्दै थिए।आँखै अगाडि आफ्नै संसार उजाडिएको देख्दा कुमारलाई पत्नी र छोराको वियोगमा सम्हालिन मुस्किल भइरहेको थियो।
सामान्य आर्थिक अवस्थाका कुमारका जेठो छोरो शिव कक्षा ११ को परीक्षा सकेर घर बसेका र कान्छो छोरो शक्ति स्थानीय सावित्रा माविमा कक्षा १० मा पढ्दै थिए। आँखैसामु बुहारी र नातीको यो हविगत देखेर ती बुढीआमा होसमा आउने वित्तिक्कै कहालिँदै थिइन्। 'ए मेरी बुहारी, ए मेरो नाती, ए बाबा हो कोही त बोल। भगवानले मलाई किन लान सकेन । मेरा बच्चाको के दोष थियो र ? भन्दै उनी छाति पिटिपिटी रुन थाल्छिन्।
वर्षौदेखि त्यही भिरालो पाखाको काखमा बस्दै आएका कुमारको सानो सुखी परिवारलाई दैवले उजाडी दिएपछि सिंगो तुन्ताङबासी शोकमा डुबेको छ।'मान्छेको लेखान्त कहाँ गएर के हुँदोरहेछ, 'स्थानीय हेमराज राईले भने, 'छोराहरु पनि एकदमै इमान्दार थिए, पढाइमा अब्बल नै थिए।'
उक्त घटनापछि प्रहरी चौकीका सई मचिन्द्र भण्डारी कमाण्डको प्रहरी टोली र स्थानीयबासीले पहिरो हटाएर शव बाहिर निकालेका छन्। घटनास्थलमा जेसिबी पुर्याउन नसकेपछि प्रहरी र स्थानीयबासीले नै पहिरो उत्खनन गरेको वडाध्यक्ष विरेन्द्र राईले बताए।
उनले पहिरोमा पत्नी र छोराहरु गुमाएका पीडित कुमारको परिवारलाई पाल र राहतका लागि गाउँपालिकाले तयारी गरेको उनले बताए। यसबाहेक अन्य जोखिमपूर्ण सार्वजनिक स्थल, विद्यालयमा पूर्व सतर्कता गराइएको वडाध्यक्ष राईले बताए।
भोजपुरमा पहिरोले ५ को ज्यान गयो
अविरल वर्षासँगै आएको पहिरोले भोजपुरमा ५ जनाको मृत्यु भएको छ। गत असार २६ गते रामप्रसाद राई गाउँपालिकाकै बासीखोरामा एकजना र असार २७ गते टेम्केमैयुङ गाउँपालिकाको लेखर्कमा एकजना बालकको पनि मृत्यु भएको थियो।
बासीखोराका ६६ वर्षीय जगतबहादुरको घरको छानोले पुरिएर र लेखर्कका १४ वर्षीय जनक विकको चर्पी बस्ने क्रममा पहिरोले चर्पीसँगै पहिरोले बगाएको थियो।