सेल्फी लिँदा लडेका भाइ बचाउन जाँदा दाजुलाई बाढीले लग्यो

सेल्फी लिँदा लडेका भाइ बचाउन जाँदा दाजुलाई बाढीले लग्यो

वीरगन्ज : बाढी र डुबानमा परी पर्सा र बारामा आइतबारसम्म ५ जनाको मृत्यु भएको छ। वीरगन्जको सिर्सिया नदीमा बाढी हेर्न गएका बेला बाढीले बगाएर शनिबार बिहानदेखि बेपता बालक अनुज पटेल आइतबार बिहान मृत अवस्थामा भेटिएका छन्।

वीरगञ्ज महानगरपालिका १८ भवानीपुर घर भई हाल वडा नम्बर १३ तेजारथ टोलमा बस्दै आएका रामनारायण पटेलका १४ वर्षीय छोरा अनुजको शव रामगढवास्थित बजरंग सिनेमा हल नजिकैको खेतमा आइतबार बिहान भेटिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

शनिबार बिहानैदेखि बाढीमा बेपत्ता भएका अनुजको सुरक्षाकर्मी र स्थानीयवासीले नदी आसपासका क्षेत्रमा रातभर खोजी गरेका थिए। आइतबार बिहान खेतको हिलोमा लत्पतिएको अवस्थामा बालकको शव फेला पारेको खोजीमा संलग्न पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले जानकारी दिए।

भाइ र साथीहरूसँग बजरंग हलस्थित सडकमा सेल्फी लिने क्रममा अनुजका भाइ रोहीत चिप्लिएर पानीमा खसेका थिए। भाइलाई बचाउने क्रममा अनुजको टोपी बाढीको भेलमा खसेपछि त्यही टोपी टिप्ने क्रममा बाढीको भेलले अनुजलाई बगाएर बेपत्ता बनाएको प्रत्यक्षदर्शी उपेन्द्र पटेलले बताए।

यसअघि गत शुक्रबार पनि पर्साकै पर्सागढी नगरपालिका वडा १ बागवना नजिकै रहेको सिङ्याही खोलाको बाढीले बगाएर स्थानीय १२ वर्षीय निखल पटेलको मृत्यु भएको थियो।

बारामा पनि अविरल बर्षाका कारण आएको बाढी र डुबानमा परि दुई जना बालक सहित तीन जनाको मृत्यु भएको छ।

शनिवार साँझ बाराको कलैया उपमहानगरपालिका १३ बलिरामपुरका हजारी साह गोंढका १० वर्षीय छोरा अन्जित साह गोंढको मृत्यु भएको हो।

बाख्रा चराउन खेतमा गएका बेला सडक छेउमा खनिएको खाल्डोमा डुबेर बालक अन्जितको मृत्यु भएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक रन्जित सिंह राठौरले जानकारी दिए।

शनिवार नै बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ८ हर्दियामा पनि एक युवकको मृत्यु भएको छ।

शनिवार अविरल पानी परिरहेका बेला धान रोपाइका लागि खेको आली खन्दै गरेका बेला अचानक बेहोश भइ लडेका स्थानीय राजदेव पंडितका छोरा सुदामा पण्डितकव मृत्यु भएको हो।

पानीले भिजेर अनचालक खेतमा ढलेका सुदामालाई स्थानीयले उपचारका लागि गाउँको क्लिनिकमा पुर्‍याएका थिए। थप उपचारका लागि एम्बुलेन्सबाट कलैया ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको हो।

सन्तगज देखि बरियारपुर सम्मको सडक वर्षाले हिलाम्मे भएर बिग्रिएका कारण समयमै अस्पतालमा पुरयाउन नसकिएका कारण सुदामाको बाटोमै मृत्यु भएको उनका अभिभावकले बताए।

यसअघि गत शुक्रबार साँझ बाराकै परवानीपुर गाउँपालिका वडा नम्बर १ रहरीया गाँउका अरविन्दर यादवका साढे चार वर्षीया छोरा विक्की यादवको घर अगाडिकै नालामा डुबेर मृत्यु भएको थियो।

पाँच दिनदेखिको अविरल वर्षा पर्सा र बारामा आइतबार बिहानदेखि रोकिएको छ। वर्षा रोकिएर नदी र खोलाहरूमा पानीको सतह घट्दै गएपछि जनजीवन सामान्य हुँदै गएको छ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीका अनुसार बाढी र डुबानले जिल्लामा ७०० घरपरिवार विस्थापित भएका छन्। उनीहरू नजिकैको विद्यालय, छिमेकीको घर र मस्जिदमा शरण लिएर बसेको सहायक प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.