एक सातादेखि पोखरा—जोमसोम हवाई सेवा बन्द
मुस्ताङ : प्रतिकूल मौसमका कारण एक सातादेखि पोखरा—जोमसोम हवाई सेवा प्रभावित बनेको छ। कास्की र मुस्ताङ खण्डमा मौसमी अवस्थामा सुधार नभएकाले हवाई उडान नसकेको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ।
लगातार उडान रद्द हुन थालेपछि मुस्ताङ—पोखरा आउजाउ गर्ने पर्यटकले टिकट रद्द गर्न थालेको नागरिक उड्यन कार्यालय जोमसोमका प्रमुख भानुभक्त कोइरालाले जानकारी दिए। उनका अनुसार जोमसोम आउने तारा एयरलाइन्सका दैनिक ५ वटा उडान रद्द हुँदै आएका छन्। सिजनको समयमा पोखरा— जोमसोममा दैनिक १८ वटा सम्म उडान हुने गर्छ।
मौसम सुधार भएमा एक सय बढी पर्यटक मुस्ताङ आउने नागरिक उड्यन प्रमुख कोइरालाको भनाई छ। हवाई उडानको 'अफ सिजन' सुरु भएसँगै पोखरा—जोमसोम नियमित उडान भर्दै आइरहेको समिट एयरलाइन्सले उडान स्थगित गरेको कार्यालयले जनाएको छ।
नेपाल वायुसेवाको जहाजले पनि साताको दुई पटक नियमित भर्ने गरेको छ।
सडकमार्ग पनि अवरुद्ध
लगातारको वर्षासँगै म्याग्दी र मुस्ताङको सिमानामा सडक भासिएपछि बेनी—जोमसोम सिधा यातायात अवरुद्ध बनेको छ। शुक्रबार करिब १५ मिटर सडक भासिएपछि म्याग्दी र मुस्ताङमै सवारी साधन रोकिएका हुन्।
अप्ठ्यारो स्थानमा सडक भासिएकाले करिडोर सडकले एकतर्फी बाटो खुलाउने प्रयास जारी राखेको छ। करिडोरले चट्टान फोर्ने दुई वटा ब्रेकरको सहयोगमा ट्र्याक खोल्ने काम गरेको आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए। अप्ठ्यारो स्थानमा सडक भासिएका दोहोरो आवगमन खुलाउन केही दिन लाग्ने उनले बताए।
हवाई तथा सडक अवरुद्धपछि मुस्ताङ सदरमुकाम सुनसान छ। होटलका कोठा रित्तै छन्। मुक्तिनाथ मन्दिरमा समेत तीर्थालुको रौनक न्यून भएको मुक्तिनाथ विकास समितिका कर्मचारी रवीन सुवेदीले जानकारी दिए। जोमसोमदेखि दैनिक छुट्ने लामो दूरीका सवारी साधन गन्तब्यमा पुग्न सकेका छैनन्।