बाढीपहिरोको क्षतिप्रति मुख्यमन्त्री दुःखी
विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले निरन्तरको वर्षापछि आएको बाढीपहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। अमेरिका भ्रमण सकेर आइतबार फर्किएका मुख्यमन्त्री राईले बाढी र पहिलोले प्रदेश १ मा ठूलो क्षति भएकोप्रति दुःख व्यक्त गरेका हुन्।
विराटनगर विमानस्थलमा संचारकर्मीसँग बोल्दै उनले भने, ‘बाढी र पहिरोका कारण भएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्न चाहन्छु।’
अमेरिकाको प्रविधिलाई नेपाल ल्याउने र यहाँको विकासमा जोड्ने बारेमा पनि त्यहाँ बस्ने नेपालीसँग छलफल भएको उनले बताए। अमेरिकामा रहेको अनलाइन शिक्षा पद्धतिलाई नेपालको प्रदेश १ बाटै लागू गर्न आग्रह गरेको उनको भनाइ छ।
‘नेपालमा आधुनिक एवं समय सापेक्षा राम्रो शिक्षा र प्रविधिको खाँचो रहेको कुरा मैले अवगत गराएँ,’ उनले भने, ‘त्यहाँ बस्ने नेपाली प्रविधि नेपाल ल्याउन सकारात्मक देखिएका छन्।’
कार्यक्रममा कांग्रेस नेता प्रदीप गिरी र नेकपा नेता ठाकुर गैरे पनि सहभागी भएको जानकारी राईले दिए। कार्यक्रमकै दौरानमा नेपालका लागि अमेरिकाका पूर्वराजदूत पिटर वोडेसँग पनि छलफल भएको उनको भनाइ छ।