असार मसान्त सकिन लाग्दा काम छाडेर हिँडे प्रशासकीय अधिकृत
प्यूठान : चालु आर्थिक वर्षको समयावधि सकिन दुई दिन बाँकी हुँदा प्यूठान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरै बिना जानकारी मोबाइल अफ गरेर बिदामा बसेका छन्। बिहीबार साँझ ४ बजे कार्यालय छाडेका उनी अर्कोदिन कार्यालयमा हाजिर भएनन्। काम भने आवासबाटै गरेका थिए।
आइतबार बिहानैदेखि उनी सम्पर्कमा छैनन्। गैरेले प्रयोग गर्ने कार्यालय र व्यक्तिगत दुइवटै मोबाइल अफ छन्। नगरपालिकामा भूक्तानी लिन आउने सेवाग्राहीको भिड छ। कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले हैरानी खेपेका छन्। प्रदेश र संघीय सरकारले पठाएको शसर्त र समपुरक बजेटको भुक्तानी असारभित्रै गर्नुपर्ने कानुनी प्रावधान छ। तर, असार मसान्त सकिन दुईदिनकै बीचमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयलाई हम्मेहम्मे भएको छ।
गैरकानुनी भुक्तानी दिनका लागि जनप्रतिनिधिबाट दबाब आएकाले काम गर्न नसकिएको दुईदिन अघिको टेलिफोन कुराकानीमा गैरेले प्रतिक्रिया दिएका थिए। ‘असारसम्म कार्यालयमा जाँदैन्। कोठाबाटै काम गर्छु’, उनले भनेका थिए,‘जनतालाई दुःख भएको छ। दबाबवाला काम हुँदैनन्।’ भुक्तानी दिने प्रक्रियामा नगरप्रमुख अर्जुनकुमार कक्षपती र गैरेबीच भनाभन भएको थियो।
नगरप्रमुख कक्षपतीले कार्यसम्पादनमा कर्मचारीलाई दबाब नदिइएको प्रतिक्रिया दिए। ‘अहिलेसम्म सवालजवाफ केही भएको छैन्’,उनले भने,‘जनप्रतिनिधिले नीति बनाइदिने हो। कर्मचारीले कार्यान्वयन गर्ने हो। सामान्य छलफल हुनु स्वभाभिक हो।’
निजामती क्षेत्रबाटै अवकाश पाएकाले कर्मचारीको पिरमर्का नजिकबाट बुझ्ने कक्षपतीको भनाइ छ। कार्यालय समयभन्दा बढी काम गर्ने कर्मचारीलाई अतिरिक्त सुविधाको समेत व्यवस्था मिलाइएको उनले बताए। प्रमुख प्रशासकीय अधिकृत गैरेले आफूलाई जानकारी नदिई हिँडेको उनको भनाइ छ।
सांसद् विकास कोष, प्रधानमन्त्री रोजगार कार्यक्रम, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा कार्यरत कर्मचारीको तलबको भुक्तानी असारभित्रै गर्नुपर्ने हुन्छ। अन्य क्षेत्रमा विनियोजित बजेटको भुक्तानी विशेष नगरसभाले निर्णय गरेपछि अर्को आर्थिक वर्षमा ‘अल्या’ गरेर दिन सकिने प्रावधान रहेको लेखा अधिकृत अमंर जिसीले जानकारी गराए।
उपसचिव गौतमलाई आर्थिक अधिकार
नगरपालिकामै कार्यरत शिक्षा शाखा उपसचिव केशवराज गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक अधिकारसहितको पत्र पठाएको छ।
प्रमुख प्रशासकीय अधिकृत गैरे नहुँदा रोकिएको कामकाज आइतबारदेखि सुचारु भएको नगरप्रमुख कक्षपतीले जानकारी दिए। यसअघिका प्रमुख प्रशासकीय अधिकृतको निलम्बन, कर्मचारी समायोजन लगायतले नगरपालिकाको कामले चालु आर्थिक वर्षमा अपेक्षा अनुसार गति लिन सकेको छैन्।
कार्यसम्पादनमा असहज हुँदैमा कार्यालय छाडेर सम्पर्क बिहिन हुनु सेवाग्राहीमैत्री नभएको प्रमुख प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए। ‘दवाव आएको भए भूक्तानी रोकिदिन सकिन्छ। तर छलफल नै नगरी जिल्ला छाड्नु राम्रो भएन।’